राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा मतदाता परिचयपत्र अनिवार्य गर्ने योजना सार्वजनिक
कार्लाल, पेन्सिलभेनिया / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनका लागि मतदाता परिचयपत्र अनिवार्य बनाउने पहल गर्ने बताएका छन् ।
राष्ट्रपति ट्रम्पले यस विषयमा अमेरिकी कङ्ग्रेसले स्वीकृति नदिए पनि आफू अघि बढ्ने दाबी गरेका हुन् । उनले यस सम्बन्धमा कार्यकारी आदेश जारी गर्ने योजना रहेको बताए पनि विस्तृत विवरण भने दिएनन् ।
रिपब्लिकन राष्ट्रपति ट्रम्प प्रतिनिधिसभाबाट पारित विधेयकको समर्थनमा छन् । जसअनुसार अमेरिकी निर्वाचनमा मतदान गर्न नागरिकता प्रमाण आवश्यक हुने प्रावधान राखिएको छ । उक्त विधेयक अमेरिकी सिनेटमा अगाडि बढ्ने सम्भावना कम रहेको बताइएको छ ।
यो विधेयक सन् २०२४ को राष्ट्रपति चुनाव अभियानका क्रममा पहिलो पटक अघि सारिएको निर्वाचनसम्बन्धी कानुनको पछिल्लो संस्करण हो । उक्त प्रस्ताव राष्ट्रपति ट्रम्पले सन् २०२० को चुनावमा मतदातामा धाँधली भएको भनेपछि अघि बढाइएको थियो । यस्तै प्रकृतिको विधेयक गत अप्रिल र सन् २०२४ मा पनि प्रतिनिधिसभाबाट पारित भए पनि सिनेटमा पुगेर रोकिएको थियो ।
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै भने, “मैले यस विषयमा अहिलेसम्म प्रस्तुत नगरिएका कानुनी तर्कहरूको गहिरो अध्ययन गरेको छु र छिट्टै नै अस्वीकार्य नहुने तर्क सार्वजनिक गर्नेछु।”
अमेरिकाको संविधानअनुसार निर्वाचन व्यवस्थापनको जिम्मा सङ्घीय सरकारभन्दा राज्य सरकारहरूलाई दिइएको छ । अधिकांश निर्वाचन काउन्टी तथा स्थानीय तहका अधिकारीहरूले सञ्चालन गर्ने नियम रहेको छ ।
















