ट्रम्प प्रशासनले ‘टीपीएस’ खारेज गरेपछि हजारौँ आप्रवासी देश निकालाको सामना गर्दै, यमनीहरुलाई स्वैच्छिक रूपमा अमेरिका छाड्न आदेश
नेपालसहित होन्डुरस र निकारागुवाको ‘टीपीएस’ अन्त्य गर्न (डिएचएस) लाई अनुमति
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / ट्रम्प प्रशासनले करिब ३ हजार यमनी आप्रवासीलाई अमेरिकाबाट स्वैच्छिक रूपमा देश छोड्न आदेश दिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यमनका लागि दिइँदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) अन्त्य गर्ने निर्णय गरेपछि स्वैच्छिक रूपमा देश छोड्न आदेश दिएको हो ।
‘युएस’ सिटिजनसिप एन्ड इमिग्रेशन सर्भिस (युएससीआइएस)ले शुक्रवार गरिएको घोषणामा यमनी नागरिकका लागि (टीपीएस) ६० दिनभित्र समाप्त हुने जनाएको छ । गृह सुरक्षा सचिव किस्ट्री नोयमले देशको अवस्थामा पर्याप्त सुधार भएको भन्दै आप्रवासीहरू स्वदेश फर्किन सक्ने बताएकी थिइन् ।
यसैको आधारमा ट्रम्प प्रशासनले पछिल्लो एक वर्षमा हाइटी, भेनेजुएला र अफगानिस्तान लगायत कम्तीमा दुई दर्जन देशको (टीपीएस) सुविधा अन्त्य गर्ने जनाइएको थियो ।
‘युएस’ डिपार्टमेन्ट अफ स्टेटले हाल यमनलाई ‘लेभल ४-यात्रा नगर्नुहोस्’ सूचीमा राखेको छ । यमनमा हिंसात्मक अपराध, नागरिक अशान्ति र आतङ्कवादको जोखिम जारी रहेको उल्लेख गरिएको छ ।
त्यस्तै अवस्थाको सूचीमा परेका अन्य देशहरूको (टीपीएस) अन्त्य गर्ने प्रयासहरूविरुद्ध कानुनी चुनौती समेत परेको छ । केही आप्रवासीहरूले हालका लागि अमेरिकामै बस्न पाएका छन् । केही अदालतहरूले (टीपीएस) अस्थायी कार्यक्रम भएको सरकारको तर्कलाई समर्थन गरेका छन् ।
यमनलाई सन् २०१५ मा जारी सशस्त्र द्वन्द्वका कारण पहिलो पटक (टीपीएस) प्रदान गरिएको थियो । स्वदेश फर्किँदा ज्यानको जोखिम हुन सक्ने भन्दै यमनी नागरिकहरूले यो सुविधा पाएका थिए । यमनका लागि (टीपीएस) सन् २०१७ देखि २०२४ सम्म छ पटक विस्तार गरिएको थियो ।
अहिले पनि यमनमा अशान्ति जारी छ । युनाइटेड नेसन्स रिफिउजी एजेन्सीका अनुसार पछिल्लो दशकमा ४ दशमलव ५ मिलियनभन्दा बढी यमनीहरू आन्तरिक रूपमा विस्थापित भएका छन् । साथै १८ दशमलव २ मिलियन मानिसहरू मानवीय सहयोगको खाँचोमा छन् ।
सचिव नोयमले शुक्रवार दिएको वक्तव्यमा यमनको अवस्था सुधार भएको भन्दै (टीपीएस) अन्त्य गर्ने निर्णय गरिएको बताइन् । साथै अमेरिकामा बस्न अन्य कानुनी आधार नभएका यमनीहरूलाई स्वैच्छिक रूपमा देश छोड्न आग्रह गरिएको जानकारी दिइन् ।
गृह सुरक्षा सचिव नोयमले विज्ञप्तिमा भनिन्, “(टीपीएस) यमनको आप्रवासीहरूलाई अस्थायी रूपमा अमेरिकामा बस्न अनुमति दिनु हाम्रो राष्ट्रिय हितविपरीत छ । (टीपीएस) अस्थायी उद्देश्यका लागि बनाइएको कार्यक्रम हो । यो ट्रम्प प्रशासनले त्यसलाई पुनः अस्थायी स्वरूपमै फर्काइरहेको छ । हामी राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिँदै ‘अमेरिका फर्स्ट’ नीति अपनाइरहेका छौँ।”
के हैटी, होन्डुरस र इथियोपियाका लागि (टीपीएस) छ?
ट्रम्प प्रशासनले पछिल्लो वर्षमा विभिन्न देशहरूको (टीपीएस) अन्त्य गर्ने कदम चालेको छ । जसले धेरैजसो अवस्थामा कानुनी विवाद निम्त्याएको छ ।
करिब ३ लाख ५० हजार हैटीका नागरिकहरूको (टीपीएस) स्थिति हालका लागि कायम छ । यस महिनाको सुरुवातमा अदालतले दिएको आदेशपछि उनीहरूलाई अस्थायी रूपमा बस्न अनुमति दिइएको हो । जसलाई डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस) ले चुनौती दिने जनाएको छ ।
फेब्रुअरी ९ मा सङ्घीय पुनरावेदन अदालतले नेपालसहित होन्डुरस र निकारागुवाका लागि (टीपीएस) अन्त्य गर्न (डिएचएस) लाई अनुमति दिएको थियो । जसले अघिल्लो प्रतिबन्ध उल्टाएको हो । साथै, प्रशासनले इथोपियाको पनि (टीपीएस) अन्त्य गर्ने निर्णय गरेको छ ।

















