टी २० विश्व कप : इटालीविरुद्ध नेपाल १२३ रनमै रोकियो
मुम्बई, भारत / आइसीसीट टी २० विश्व कपमा समूहको आफ्नो दोस्रो खेलमा नेपाल इटली सँग एक सय एक सय २३ रनमा समेटिएको छ।
मुम्बईको वानखेडे रंगशालामा पहिलो खेलमा शक्तिशाली इङ्ग्ल्यान्डलाई अन्तिम ओभरसम्म दबाबमा राख्दै प्रशंसा कमाएको नेपाल, यसपटक तुलनात्मक रूपमा कमजोर मानिएको इटालीविरुद्ध भने अपेक्षाअनुसार देखिन सकेन। टस जितेर पहिले फिल्डिङ रोजेको इटालीले योजनाबद्ध बलिङ गर्दै नेपाललाई १९.३ ओभरमा अलआउट गर्यो।
नेपालको सुरुवातमै धक्का लाग्यो। दोस्रो ओभरमा कुशल भुर्तेल ५ रनमै क्याच आउट भए। अगाडि बढेर खेल्ने प्रयासमा उनी जस्टिन मोस्काको हातमा समातिँदा नेपाल ८ रनमै पहिलो विकेट गुमाउन पुग्यो। त्यसपछि आसिफ शेख र रोहित पौडेलले पारी सम्हाल्ने प्रयास गरे। रोहितले केही आकर्षक शट खेल्दै १४ बलमा २३ रन बनाए, जसमा दुई छक्का समावेश थिए। तर सातौं ओभरमा क्रिशन कालुगामागेको बलमा क्याच आउट भएपछि नेपाल ४९/२ को अवस्थामा पुग्यो।
त्यसको केही बलपछि आसिफ शेख पनि स्टम्प आउट भए। २० रन जोडेर लयमा देखिएका आसिफ अगाडि निस्केर प्रहार गर्न खोज्दा विकेटकिपर जियान–पिएरो मिडले चनाखो स्टम्पिङ गरे। नेपाल ७.२ ओभरमै ४९/३ मा झर्यो।
दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले मध्यक्रम सम्हाल्ने प्रयास गरे। दिपेन्द्रले १७ रन बनाउँदै टिकाउ खेल देखाए, तर १३.५ ओभरमा फेरि कालुगामागेको शिकार बने। त्यसबेला नेपाल ९३/४ मा थियो र ठोस आधार बनाउने अवसर थियो। तर त्यसपछि खेल एकाएक इटालीतर्फ मोडियो।
लोकेश बम ३ रनमा आउट भए भने गुलशन झा पनि ३ रनमै क्याच आउट भए। १५ देखि १६ ओभरको बीचमा लगातार विकेट झर्दा नेपाल १०२/७ को अवस्थामा पुग्यो। नन्दन यादव रनआउट हुँदा दबाब झन् बढ्यो। सन्दीप लामिछाने ५ रनमा क्याच आउट भए भने अन्तिममा ललित राजवंशी पनि रनआउट हुँदा नेपाल १९.३ ओभरमा १२३ रनमै समेटियो।
अन्त्यतिर करण केसीले ११ बलमा अविजित १८ रन जोड्दै केही सम्मानजनक स्कोरमा पुर्याउने प्रयास गरे। तर समग्रमा नेपालको ब्याटिङ निरन्तर साझेदारी बनाउन असफल देखियो। कुनै पनि जोडीले लामो सहकार्य गर्न नसक्दा रनगति पनि ६.३१ मा सीमित रह्यो।
इटालीका क्रिशन कालुगामागे ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिएर खेलका मुख्य पात्र बने। बेन्जामिन मानेन्टीले ४ ओभरमा मात्र ९ रन दिएर २ विकेट लिए र नेपाललाई खुल्नै दिएनन्।
वानखेडे जस्तो मैदानमा १२४ रनको लक्ष्य सामान्य मानिए पनि नेपालका बलरहरूले सुरुआती झड्का दिन सके मात्र खेलमा फर्किने सम्भावना रहनेछ। अब नेपालको आशा बलिङ प्रदर्शनमै अडिएको छ।

















