पेनसिल्भेनिया ल्यानक्यास्टरमा दादुरा पुष्टि, सतर्कता अपनाउन अपिल
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / पेनसिल्भेनिया ल्यानक्यास्टरमा दादुरा (Measles) का घटना पुष्टि भएपछि राज्य स्वास्थ्य विभागले यस क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
स्वास्थ्य विभागका अनुसार ल्यानक्यास्टर काउन्टीमा पाँच वटा दादुरा संक्रमण पुष्टि भएका छन्। संक्रमितहरू अधिकांश खोप नलगाएका वा पूर्ण खोप नलिएका व्यक्तिहरू रहेको जनाइएको छ। हालसम्म डाउफिन काउन्टी (ह्यारिसबर्ग क्षेत्र) मा संक्रमण पुष्टि नभए पनि खुला आवतजावत र सामुदायिक सम्पर्कका कारण जोखिम कायम रहेको विभागले जनाएको छ।
दादुरा अत्यन्तै संक्रामक भाइरल रोग हो। संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्युँ गर्दा हावामा फैलिने स-साना कणमार्फत यो रोग सर्छ। स्वास्थ्य अधिकारीहरूका अनुसार भाइरस हावामा करिब दुई घण्टासम्म सक्रिय रहन सक्छ। खोप नलिएका व्यक्तिहरूमा संक्रमण दर ९० प्रतिशतसम्म पुग्न सक्ने बताइएको छ।
रोगका प्रारम्भिक लक्षणमा उच्च ज्वरो, खोकी, नाक बग्नु, आँखा रातो हुनु र कमजोरी देखिन्छ। त्यसपछि शरीरभरि रातो दाना देखापर्छ।
बालबालिका, गर्भवती महिला तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरूमा निमोनिया र मस्तिष्क सुन्निने जस्ता गम्भीर जटिलता देखिन सक्ने भएकाले यसलाई सामान्य रूपमा लिन नहुने चिकित्सकहरूले चेतावनी दिएका छन्।
स्वास्थ्य विभागको कडा अपिल
पेनसिल्भेनिया स्वास्थ्य विभागले सबै अभिभावक तथा समुदायका सदस्यहरूलाई तत्काल आफ्ना बालबालिका र परिवारको एमएमआर खोप स्थिति जाँच गर्न अपिल गरेको छ। विभागले दुई मात्रा एमएमआर खोपले करिब ९७ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने जनाएको छ।
“खोप नै दादुराबाट बच्ने सबैभन्दा सुरक्षित र प्रभावकारी उपाय हो,” विभागले जारी गरेको सूचनामा उल्लेख छ।
स्वास्थ्य विभागले दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएमा सिधै अस्पताल वा क्लिनिक नजान, बरु पहिले फोनमार्फत स्वास्थ्य सेवा प्रदायकलाई सम्पर्क गर्न र आफूलाई अन्य व्यक्तिबाट अलग राख्न अनुरोध गरेको छ। यसले सम्भावित थप संक्रमण रोक्न सहयोग पुग्ने विभागको भनाइ छ।
ल्यानक्यास्टर र ह्यारिसबर्ग क्षेत्रका बासिन्दालाई भीडभाडमा सावधानी अपनाउन, हात सरसफाइमा ध्यान दिन र खोप अभिलेख अद्यावधिक राख्न पनि आग्रह गरिएको छ।
स्वास्थ्य अधिकारीहरूका अनुसार अहिले अवस्था नियन्त्रण बाहिर पुगेको छैन, तर समयमै सतर्कता नअपनाए संक्रमण फैलिन सक्ने जोखिम रहेको छ। “समुदायको सुरक्षा सामूहिक जिम्मेवारी हो,” विभागले भनेको छ, “समयमै खोप र सचेत व्यवहारले दादुरालाई नियन्त्रणमा राख्न सकिन्छ।”
यसै बीच मिलर्सभिल युनिर्भसिटीले विद्यार्थीका अभिभावकलाई इमेल पठाउदै आफ्ना विद्यार्थी र कर्मचारीहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिन प्रतिबद्ध रहेको जनाएको छ।
‘हालसम्म विश्वविद्यालय परिसरमा कुनै पक्का खसरा मामला रिपोर्ट गरिएको छैन, तर हामी सबै अभिभावक तथा विद्यार्थीहरूलाई सचेत रहन आग्रह गर्दछौँ।’ इमेलमा भनिएको छ।
कभर फोटो एआईबाट तयार गरिएको हो ।

















