शान्ता थोकर ‘डब्लुकेएफ जज’
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिका कराते स्कूल शुरु गर्ने पहिलो नेपाली सिहान शान्त थोकरको परिचयमा अव अर्को इट्टा थपिएको छ। थोकरले विश्व कराते महासंघ डब्लुकेएफबाट ‘वर्ल्ड काता जज बी’ प्रमाणपत्र पाएका छन्। यसले सिहान थोकरको विश्व करातेमा अब नयाँ पहिचान बनेको छ।
दुबईको फुजैराहमा आयोजित ‘डब्ल्यूकेएफ रेफ्री कोर्स काता २०२६’ अन्तर्गत सम्पन्न लिखित र प्रयोगात्मक परीक्षामा सफल हुँदै उनले बुधवार यो महत्वपूर्ण उपलब्धि हात पारेका हुन्।
फेब्रुअरी ११, २०२६ मा जारी गरिएको डिप्लोमाले उनलाई अब विश्व कराते महासंघका आधिकारिक प्रतियोगिताहरूमा काता तर्फ निर्णायक (जज) को भूमिका निभ्याउने बाटो खोलिदिएको छ।
विश्व कराते महासंघ कराते खेलको सर्वोच्च अन्तर्राष्ट्रिय निकाय हो, जसमा विश्वका अधिकांश राष्ट्रिय महासंघ आबद्ध छन्। यस संस्थाबाट मान्यता प्राप्त गर्नु भनेको करातेको अन्तर्राष्ट्रिय मापदण्ड, नियम र मूल्य प्रणालीलाई आत्मसात् गर्दै उच्च स्तरको दक्षता प्रमाणित गर्नु हो।
थोकरले आफुले प्राप्त गरेको ‘काता जज बी’ प्रमाणपत्रले लामो साधना, निरन्तरता र व्यावसायिक प्रतिबद्धतालाई विश्वमञ्चमा प्रमाणित गरेको बताए।
यो उपलब्धि उनका लागि मात्र होइन, नेपाली कराते समुदायका लागि पनि गौरवको विषय बनेको छ।
यसअघि उनले पान अमेरिकन कराते महासंघबाट कुमुतेमा ‘रेफ्री ए’ र कातामा ‘जज ए’ लाइसेन्स प्राप्त गरी डबल ए स्तरको मान्यता हासिल गरिसकेका छन्। पान अमेरिकनबाट रेफ्रीमा डबल ए लाइसेन्स पाउने उनी पहिलो नेपाली हुन्। अब विश्व कराते महासंघबाट काता जज बी प्राप्त गरेसँगै उनको अन्तर्राष्ट्रिय हैसियत अझ मजबुत बनेको छ।
गाउँको ‘डन’ बन्ने चाहनाबाट अन्तर्राष्ट्रिय ‘डान’सम्म
सिहान शान्त थोकरको कराते यात्रा कुनै पूर्व नियोजित अन्तर्राष्ट्रिय लक्ष्यबाट सुरु भएको थिएन। दोलखाको भेडपुका गाउँमा हुर्केका किशोर शान्तको मनमा पहिला लागेको चाहना थियो—आफू बलियो बन्ने। चालिसको दशकअघिको नेपाली ग्रामीण समाजमा मेलापर्व, हाटबजार र गाउँबीचका प्रतिस्पर्धात्मक झैँझगडा सामान्य थिए। त्यतिबेला बलियो युवकलाई ‘डन’ भनेर चिनिन्थ्यो। शान्त थोकरको मनमा पनि त्यस्तै हुटहुटी पलायो—कसरी बलियो बन्ने?
गाउँमा छुट्टीमा आउने प्रहरी र आर्मीका जवानहरूले ‘हा…हु…’ गर्दै कसरत गरेको देख्दा उनी प्रभावित भए। पछि थाहा भयो, उनीहरूले कराते अभ्यास गरिरहेका रहेछन्। काका धनबहादुर र भीम लामाले बेल्टसहित करातेका किक र प्रविधि देखाउँदा शान्तको रुचि झन् बढ्यो। सुरुमा आत्मरक्षाको उद्देश्यले सिक्न थालेको कराते विस्तारै उनको जीवनको अभिन्न अंश बन्यो।
तर समयसँगै उनले बुझे—कराते केवल ‘हा…हु…’ गर्ने कला होइन, अनुशासन, संयम र आत्मनियन्त्रणको मार्ग हो। आफू बलियो बन्ने चाहनाबाट सुरु भएको यात्रा आत्मअनुशासन र आत्मविकासको दर्शनमा रूपान्तरित भयो।
वनकालीबाट राष्ट्रिय स्वर्णसम्म
२०४२ सालमा एसएलसी उत्तीर्ण गरेपछि शान्त थोकर उच्च शिक्षाका लागि काठमाडौँ पुगे। प्रहरी तालिम केन्द्रमा कराते प्रशिक्षक रहेका भीम लामाको सिफारिसमा उनी पशुपति वनकालीस्थित डोजोमा पुगे, जहाँ मानबहादुर तामाङले वादोरियो कराते प्रशिक्षण दिन्थे।
त्यतिबेला राष्ट्रिय खेलकुद परिषद्मा सितोरियो र क्योकिसिन मात्र दर्ता थिए, तर वनकालीमा वादोरियो सिकाइन्थ्यो। शान्तले फुल कन्ट्याक्ट शैली मन पराएका कारण वादोरियो रोजे। करिब ६ वर्षको कठोर अभ्यासपछि उनले ब्ल्याक बेल्ट प्राप्त गरे।
२०४९ सालमा आयोजित पहिलो वादोरियो राष्ट्रिय प्रतियोगितामा खुला तौल समूहमा प्रतिस्पर्धा गर्दै उनले स्वर्ण पदक जिते। त्यो उनको जीवनको पहिलो ठूलो राष्ट्रिय उपलब्धि थियो।
पछि उनले सोतोकान कराते रोजे। पेम्बा तामाङको प्रशिक्षणमा शून्यबाट पुनः सुरु गर्दै एक वर्षमै ब्राउन बेल्ट प्राप्त गरे। २०५१ सालको राष्ट्रिय प्रतियोगितामा पनि खुला तौलमा स्वर्ण जित्दै उनले आफ्नो क्षमता प्रमाणित गरे।
अन्तर्राष्ट्रिय पदक र अमेरिका यात्रा
सन् २००० मा काठमाडौँमा भएको अन्तर्राष्ट्रिय सोतोकान च्याम्पियनसिपमा उनले एकल र टिम दुवै स्पर्धामा स्वर्ण जिते। सन् २००५ मा अमेरिकाको लसभेगासमा आयोजित विश्व च्याम्पियनसिपमा ३५ वर्षमाथि समूहमा काता र कुमुते दुवैमा कास्य पदक जिते।
त्यसपछि सन् २००७ देखि अमेरिका बसोबास सुरु गरे। न्युयोर्कमा कराते स्कुल सञ्चालन गर्ने पहिलो नेपालीको इतिहास रचे। सुरुमा खोलेको स्कुल पछि आफ्नै शिष्यलाई हस्तान्तरण गर्दै ‘आईएमए निहोन कराते डो’ स्थापना गरे, जसको शाखा फरेस्टहिलसम्म विस्तार भइसकेको छ।
डानको सिँढी र ‘सिहान’ उपाधि
शान्त थोकरले पहिलोदेखि तेस्रो डान जापानबाट प्राप्त गरे। त्यसपछि अमेरिकाको कोलोराडोस्थित इन्टरनेशनल मार्शल आर्ट एसोसिएसन (आइएमए) बाट ग्रेडिङ गर्दै सन् २०१६ मा छैटौँ डान हासिल गरे। छैटौँ डानसँगै उनलाई ‘सिहान’ उपाधि प्रदान गरियो, जसको अर्थ गुरुहरूको गुरु भन्ने सम्मानित स्थान हो।
डानको सिँढी चढ्नु सजिलो थिएन। प्रत्येक स्तरमा वर्षौँको अभ्यास, परीक्षा र मूल्याङ्कन पार गर्नुपर्थ्यो। उनले तीन दशकभन्दा बढी समय कराते साधनामा समर्पित गरेका छन्।
रेफ्री र जजको अन्तर्राष्ट्रिय मान्यता
खेलाडीबाट प्रशिक्षक र त्यसपछि रेफ्री तथा जजको भूमिकामा उक्लिनु अर्को चुनौती थियो। कुनै पनि स्तरको लाइसेन्स पाउन लिखित र प्रयोगात्मक दुवै परीक्षा उत्तीर्ण गर्नुपर्छ।
सन् २०१३ मा उनले अमेरिकी कराते महासंघबाट काता र कुमुते दुवै तर्फ राष्ट्रिय रेफ्रीमा डबल ए लाइसेन्स प्राप्त गरे। सन् २०२३ मा पान अमेरिकन कराते महासंघबाट कुमुतेमा रेफ्री ए लाइसेन्स पाए। २०२६ मा कातामा जज ए प्राप्त गरेपछि उनी पान अमेरिकनबाट डबल ए स्तरको रेफ्री बने।
अब विश्व कराते महासंघबाट ‘काता जज बी’ प्रमाणपत्र प्राप्त गरेसँगै उनी विश्वस्तरीय प्रतियोगितामा निर्णायकको रूपमा उभिन सक्ने आधिकारिक हैसियतमा पुगेका छन्।
नेपाली करातेका लागि प्रेरणा
सिहान शान्त थोकरको यात्रा केवल व्यक्तिगत उपलब्धिको कथा होइन। यो अनुशासन, निरन्तरता र लक्ष्यप्रतिको अटल विश्वासको उदाहरण हो। गाउँमा डन बन्ने चाहनाबाट सुरु भएको यात्रा आज विश्व कराते महासंघको प्रमाणपत्रसम्म पुगेको छ।
उनको सफलताले नेपाली कराते खेलाडी, प्रशिक्षक र रेफ्रीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने प्रेरणा दिएको छ।
“स्कुल र प्रशिक्षणको व्यस्तताले केही ढिला भयो, तर निरन्तरता छोडिनँ। आजको सफलता करातेप्रतिको समर्पणको फल हो,” उनले प्रतिक्रिया दिएका छन्।
विश्व कराते महासंघको ‘वर्ल्ड काता जज बी’ प्रमाणपत्रले अब उनलाई विश्व च्याम्पियनसिप जस्ता उच्चस्तरीय प्रतियोगितामा निर्णायकको भूमिकामा देखिने अवसर दिएको छ।
सिहान शान्त थोकरको यो उपलब्धि नेपाली कराते इतिहासमा सुनौलो अक्षरले लेखिने अर्को अध्याय बनेको छ।

















