न्यू योर्क निवासी पर्खी राई बने ‘डब्लुकेएफ जज’
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ नेपालमा सोलुखुम्बु र हाल अमेरिकाको न्यू योर्क निवासी पर्खी राई विश्व कराते महासंघ (डब्लुकेएफ) जज बनेका छन्।
दुबईको फुजैराह सिटीमा जारी ‘कराते वान युथ लिग’ प्रतियोगिताको अवसरमा बुधवार आयोजित डब्लुकेएफको रेफ्री कोर्स तथा परीक्षामा सफल हुँदै राईले कुमिते विधामा डब्लुकेएफ ‘जज बी’ लाइसेन्स प्राप्त गरेका हुन्।
अब उनी विश्वभर हुने आधिकारिक प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न योग्य भएका छन्।
राईका अनुसार विश्व कराते महासंघमा रेफ्री तथा जजको स्तर क्रमशः बी र ए हुन्छ। उनले बी स्तरबाट अन्तर्राष्ट्रिय यात्रा सुरु गरेका हुन्। “यो मेरो लागि ठूलो उपलब्धि हो,” राई भन्छन्, “विश्व कराते महासंघभन्दा माथि अर्को तह हुँदैन। त्यसैले यो करिअरको महत्वपूर्ण खुड्किलो हो।”
यसअघि उनले पान अमेरिकन कराते महासंघबाट रेफ्री बी र काता जज बी लाइसेन्स प्राप्त गरिसकेका थिए। पान अमेरिकन तहमा आवश्यक मापदण्ड पूरा गरेपछि मात्रै डब्लुकेएफको परीक्षामा सहभागी हुन पाइने व्यवस्था छ। लिखित र व्यावहारिक दुबै परीक्षा उत्तीर्ण गरेपछि मात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुन्छ।
संघर्ष, समर्पण र निरन्तर मेहनतले मानिसलाई कहाँबाट कहाँ पुर्याउँछ भन्ने ज्वलन्त उदाहरण राई बनेका छन्। सोलुखुम्बुमा भेडाबाख्रा चराउँदै बाल्यकाल बिताएका राई आज विश्व कराते महासंघ (डब्लुकेएफ) का जज बनेका छन्।
राईको खेलकुद यात्रा परम्परागत खेलाडीको जस्तो छैन। उनी ३२ वर्षको उमेरमा, सन् २००८ मा, छोराहरूलाई कराते सिकाउन न्यूयोर्कको ज्याक्सन हाइट्सस्थित इन्टरनेश्नल मार्शल आर्ट एसोसीएसन । त्यहीँबाट उनी स्वयं करातेमा आकर्षित भए। २०१२ बाट अफिसियल करिअर सुरु गरेका उनले २०१५ मा अमेरिकाको राष्ट्रिय रेफ्री कोर्स पूरा गरे। त्यसपछि २०१९ देखि पान अमेरिकन स्तरमा सक्रिय भए।
आज उनी चौथो डान ब्ल्याक बेल्टधारी प्रशिक्षक मात्र होइनन्, आफूले कराते सिकेको स्कूलको मालिकसमेत हुन्।
सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–राप्छामा जन्मिएका राईको बाल्यकाल भने अत्यन्त कष्टकर थियो। डेढ वर्षको उमेरमै बुबाको निधन भयो। त्यसपछि घर पहिरोले बगायो। परिवार आर्थिक संकटमा पर्यो। साथीहरू स्कूल जाँदा राई भने भेडाबाख्रा चराउन बाध्य भए।
तर पढ्ने चाहना कहिल्यै मरेन। भेडा चराउँदै जंगलमै ढुंगालाई टेबुल र रुखको फेदलाई स्कूल मानेर उनी आफैं लेखपढ गर्थे। शिक्षकहरूको सहयोगले उनले नियमित स्कूल नगए पनि परीक्षा दिन पाए र राम्रो नतिजा ल्याए।
पाँच कक्षा पास गरेपछि पढाइ निरन्तरता दिन अर्को गाउँ जानुपर्ने भयो। अन्ततः उनले आफूले पालेका भेडा बेचेर सात कक्षामा भर्ना भए। हिमालयन माविबाट एसएलसी उत्तीर्ण गरेपछि काठमाडौं झरे। त्यहाँ शिक्षकका रूपमा काम गरे।
सन् २००२ मा अमेरिका आएका राईले सुरुमा ट्याक्सी चलाए। तर सपना त्यत्तिमै सीमित रहेन। मेहनत, अनुशासन र खेलप्रतिको लगावले उनलाई आज डब्लुकेएफ जज, अन्तर्राष्ट्रिय रेफ्रि, प्रशिक्षक र सफल कराते स्कूल सञ्चालक बनाएको छ।
नेपालमा खेलकुदसँग कुनै सम्बन्ध नभएका राईले अमेरिका आएपछि आफैंलाई खेलकर्मीका रूपमा स्थापित गर्नु असाधारण उपलब्धि हो। विश्व कराते महासंघको अन्तर्राष्ट्रिय लाइसेन्स प्राप्त गर्ने उनी अमेरिकामा रहेका नेपाली समुदायका केही भाग्यमानीमध्ये पर्छन्।

















