पेन्सिल्भेनियाको ह्यारिसबर्ग र ल्यानक्यास्टरका हलमा नेपाली चलचित्र ‘आँ बाट आमा’ हाउस फुल
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ नेपाली चलचित्र ‘आँ बाट आमा’ पेन्सिल्भेनियाको ह्यारिसबर्ग र ल्यानक्यास्टरमा शुक्रवार देखि प्रदर्शनीमा आएको छ।
नेपाली समाजको भावनात्मक कथावस्तु बोकेको चलचित्र ‘आँ बाट आमा’ रिगल सिनेमा हलमा प्रदर्शनी भइरहेको हो।
‘फेब्रुअरी ६ तारिख शुक्रवार देखि रिगल मुभिज चेनमार्फत चलचित्र प्रदर्शनीमा आएको हो। पहिलो दिन एक शो लागेको थियो आज ६ शो हाउस फूल छन्।’ चलचित्रको अमेरिका वितरण माया डिजिटलका सिइयो सुरेश दर्पण पोखरेलले समाज टाइम्स सँग भने।
पोखरेलका अनुसार शनिवार र आइतबार ह्यारिसबर्गमा ६ शो लाग्ने छ। सोमबार देखि दैनिक तीन शो लाग्ने छन्।
‘अन्य चलचित्र झैँ दैनिक रूपमा निर्धारित शो टाइमअनुसार प्रदर्शन भइरहेको छ।’ पोखरेले भने, शो टाइम तथा टिकट विवरण सम्बन्धित रिगल मुभीजको वेबसाइट तथा हलको काउन्टरमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।’
आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा बनेको चलचित्र ‘आँ बाट आमा’ आमाको अपेक्षा, त्याग र सन्तानसँगको भावनात्मक सम्बन्धमा केन्द्रित छ।
चलचित्रले नेपाली समाजमा आमाको भूमिकालाई संवेदनशील र यथार्थपरक ढङ्गले प्रस्तुत गरेको दर्शक प्रतिक्रिया रहेको छ।
अमेरिकामा रहेका नेपाली दर्शकका लागि मातृभूमिको कथा र भावनासँग जोडिने माध्यम बनेको यो चलचित्र अमेरिका भरी सफलतापूर्वक चलिरहेको पोखरेलको भनाइ छ।
‘पेन्सिल्भेनियामा प्रदर्शन सुरु भएसँगै स्थानीय समुदायको उल्लेखनीय उपस्थिति देखिएको छ।’ उनले भने।

















