भ्यालेन्टाइन डेका दिन ल्यानक्यास्टरमा प्रेमीका साथ रामकृष्ण ढकाललाई प्रत्यक्ष सुन्ने मौका, प्रवेस निःशुल्क
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ तपाई सेन्टर पेन्सिल्भेनियाको बासिन्दा हो ? तपाईँलाई आधुनिक गीत संगित मन पर्छ र त्यो दिन तपाई आफ्ना प्रियजन सँग रोमाञ्चित हुने मुडमा हुनु हुन्छ ?
त्यसो हो भने पेन्सिल्भेनिया ल्यानक्यास्टरमा फेब्रुअरी १४ तारिख शनिवार साँझ आयोजना हुने कार्यक्रम तपाईका लागि उपयुक्त हुन सक्छ।
किनकि त्यो साँझ नेपाली आधुनिक सङ्गीतका मूर्धन्य गायक रामकृष्ण ढकाल त्यहाँ हुनेछन्।
प्रेम दिवस आउँदा शब्दभन्दा अघि गीत बोल्छन्, र गीतभन्दा अघि भावना। यही भावना बोकेर ल्यानक्यास्टरमा नेपाली आधुनिक गीत–सङ्गीतका शाश्वत प्रेमिल स्वर रामकृष्ण ढकाल गुन्जिने छन्।
ड्रिम सपोर्ट फाउन्डेशन अफ यूएसएको आयोजनामा ल्यानक्यास्टर स्थित ताज महल रेष्ट्रुरेन्टको आडैमा रहेको हलमा कार्यक्रम हुने छ।
‘प्रेयसीको हात समातेर प्रेम गीत सुन्न चाहनेहरूका लागि यो साँझ केवल कार्यक्रम होइन, स्मृतिमा बस्ने प्रेमको अनुभूति बन्नेछ।’ फाउन्डेशनका अध्यक्ष प्रेम बराल भन्छन्।
‘संगित र समुदायबिचको सेतुका रूपमा कार्यक्रम गर्न लागिएको हो।’ बराल भन्छन्, ‘प्रेम दिवसलाई केवल रोमान्टिक उत्सवमा सीमित नराखी समुदायलाई जोड्ने अवसरका रूपमा यो कार्यक्रम आयोजना गरिएको हो।’
‘रामकृष्ण ढकालको स्वर आफैँमा प्रेमको भाषा हो। प्रेम दिवसमा उहाँका गीतहरू लाइभ सुन्न पाउनु भनेको प्रेमलाई संगीतमा महसुस गर्नुजस्तै हो,” अध्यक्ष बरालको तर्क छ।
नेपाली आधुनिक गीत–संगीतमा प्रेमका भावनालाई सबैभन्दा गहिरो ढङ्गले प्रस्तुत गर्ने गायकका रूपमा चिनिएका रामकृष्ण ढकालका गीतहरू—बिछोड, प्रतीक्षा, सम्झना र समर्पण—प्रेम दिवससँग स्वाभाविक रूपमा गाँसिएका छन्।
यही कारण प्रेम दिवसको साँझ उनका स्वरहरू झन् अर्थपूर्ण हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा ढकालले आफ्ना चर्चित प्रेमिल गीतहरू लाइभ ब्यान्डसहित प्रस्तुत गर्नेछन्। ओहायो निवासी सुशील विश्वकर्माको नेतृत्वमा सात सदस्यीय वाद्यवादन टोलीले ढकालको स्वरलाई संगीतको पूर्णता दिनेछ।
अध्यक्ष बरालका अनुसार कार्यक्रममा २१ वर्ष भन्दा माथि उमेर समूहले मात्र प्रवेस पाउने छन् र यो निःशुल्क हुने छ। कार्यक्रम दिउँसो ३ बजेदेखि सुरु हुनेछ। शुरुमा स्थानीय गायक गायिकाहरूले प्रस्तुति दिने छन्।

















