अमेरिका र भारतबीच ऐतिहासिक व्यापार सम्झौताः ट्रम्पद्वारा भन्सार महशुल घटाउने घोषणा
वासिङ्गटन डीसी/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार भारतसँग नयाँ व्यापार सम्झौता भएको घोषणा गरेका छन्।
यस सम्झौताअनुसार संयुक्त राज्य अमेरिकाले भारतमाथि लगाउँदै आएको २५ प्रतिशतको तथाकथित ‘पारस्परिक भन्सार महशुल’ लाई घटाएर १८ प्रतिशतमा झार्ने भएको छ ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री नरेन्द्र मोदीसँगको मित्रता र सम्मानका कारण यो निर्णय लिएको बताए ।
सम्झौताको बदलामा भारतले पनि अमेरिकाविरुद्धका भन्सार र गैर–भन्सार अवरोधहरूलाई शून्यमा पुर्याउने सहमति जनाएको छ ।
यसका साथै, प्रधानमन्त्री मोदीले ऊर्जा, प्रविधि, कृषि र कोइला लगायतका क्षेत्रमा ५०० अर्ब डलरभन्दा बढीका अमेरिकी उत्पादनहरू खरिद गर्ने बाई अमेरिकन नीतिप्रति प्रतिवद्धता जनाएका छन्।
ट्रम्पकाअनुसार भारतले रुसी तेल खरिद गर्न बन्द गर्ने र त्यसको सट्टा अमेरिका र सम्भावित रूपमा भेनेजुएलाबाट तेल खरिद गर्ने सहमति गरेको छ ।
यसअघि रुसी तेल खरिद गरेको भन्दै अमेरिकाले भारतमाथि अतिरिक्त २५ प्रतिशत भन्सार शुल्क लगाएको थियो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

















