टी–२० विश्वकप क्रिकेट खेल्ने पाकिस्तानको घोषणा, भारतसँगको खेल बहिष्कार गर्ने
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / पाकिस्तान सरकारले यहि फेब्रुअरी ७ तारिखदेखि आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटमा सहभागिता जनाउने पुष्टि गरेको छ ।
पाकिस्तानले फेब्रुअरी १५ तारिखमा हुने भारतविरुद्धको समूह चरणको खेलमा भने सहभागी नहुने स्पष्ट पारेको छ ।
सरकारको सामाजिक सञ्जाल एक्समार्फत जारी विज्ञप्तिमा भारतसँगको खेल बहिष्कार गर्नुको कारण भने खुलाइएको छैन । समूह ‘ए’ अन्तर्गत पाकिस्तानले श्रीलङ्कामा हुने अन्य सबै खेलहरू खेल्नेछ । त्यस्तै भारतसँगको खेल नखेलेका कारण अङ्क गुमाउनुका साथै रन रेटमा पनि प्रत्यक्ष असर पर्नेछ ।
आईसीसीको चेतावनीः चयनात्मक सहभागिताले क्रिकेटको विश्वसनीयता कमजोर बनाउँछ
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई सबै पक्षको हित सुरक्षित हुने गरी समाधान खोज्न आग्रह गरेको छ ।
आईसीसीले चेतावनी दिँदै भन्यो, “चयनात्मक सहभागिताले विश्व स्तरीय प्रतियोगिताको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउँछ।”
आईसीसीका अनुसार सबै योग्य टिमले समान आधारमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । यस्तो निर्णय प्रशंसक तथा विश्व क्रिकेटको हितमा नभएको आईसीसीले स्पष्ट सङ्केत दिएको छ । हालसम्म पीसीबीबाट औपचारिक पत्राचार भने प्राप्त नभएको आईसीसीले जनाएको छ ।
तटस्थ स्थलको व्यवस्था पनि असफल
भारत र श्रीलङ्काको संयुक्त आयोजनामा हुने २०२६ टी–२० विश्वकपमा पाकिस्तानका सबै खेलहरू श्रीलङ्कामा राखिने तटस्थ स्थल व्यवस्था गरिएको थियो ।
यो व्यवस्था राजनीतिक संवेदनशीलता समाधान गर्न आईसीसीले गरेको थियो । जुन मोडल सन् २०२५ च्याम्पियन्स ट्रफीमा पनि अपनाइएको थियो, जहाँ भारत र पाकिस्तानले आ–आफ्ना खेल फरक–फरक देशमा खेलेका थिए ।
यस्तो तटस्थ व्यवस्थाको बाबजुद पनि पाकिस्तान सरकारले भारतसँगको खेल नै नखेल्ने निर्देशन दिएपछि बहु प्रतीक्षित भारत–पाकिस्तान भिडन्त रद्द भएको छ ।
बङ्गलादेशको बहिस्कार र क्षेत्रीय तनावको पृष्ठभूमि
पाकिस्तानको निर्णय बङ्गलादेशको विश्वकपबाट बहिस्कार पछि आएको हो ।
भारतमा खेल्न अस्वीकार गर्दै वैकल्पिक स्थलको माग गरेपछि बङ्गलादेशलाई प्रतियोगिताबाट हटाइएको थियो । बङ्गलादेशको स्थानमा स्कटल्यान्डलाई समावेश गरिएको थियो ।
पाकिस्तानले यस निर्णयलाई लिएर आईसीसीमाथि भारत पक्षधर “दोहोरो मापदण्ड” अपनाएको आरोप लगाएको छ ।
१४ वर्षदेखि भारत र पाकिस्तानबीच द्विपक्षीय क्रिकेट सम्बन्ध बन्द रहेको छ । आईसीसी प्रतियोगिताहरू मात्र दुई देशबिचको प्रतिस्पर्धाको एक मात्र मञ्च बनेका छन् ।
टी–२० विश्वकप यहि फेब्रुअरी ७ तारिखदेखि सुरु हुदैछ । त्यस्तै ८ तारिखमा नेपालले इंग्ल्याण्डविरुद्ध खेल खेल्ने तालिका रहेको छ ।















