फिफा विश्वकप फुटबलको उत्साह, ट्रफी अमेरिकाको ह्युस्टन सहरमा प्रदर्शन गरिने
कार्लाल, पेन्सिलभेनिया / फिफा विश्वकप २०२६ फुटबलको ट्रफी अमेरिकाको ह्युस्टन सहरमा ल्याउने भएको छ ।
फिफा विश्वकपको तयारी स्वरूप आयोजना गरिएको विश्वव्यापी ट्रफी टुर अन्तर्गत ट्रफी ह्युस्टन सहरमा ल्याउन लागिएको जनाइएको छ ।
ट्रफी आगामी मे २ र ३ तारिखमा ह्युस्टनको मेडिकल सेन्टर क्षेत्रमा रहेको हेलिक्स पार्कमा प्रदर्शन गरिने छ ।
ह्युस्टन आउनुअघि विश्वकप फुटबलको ट्रफीले डालास, अस्टिन र सान एन्टोनियो सहरको भ्रमण गर्नेछ । विश्वव्यापी ट्रफी टुरको सुरुवात जनवरी ३ मा साउदी अरेबियाबाट गरिएको थियो ।
ट्रफी अवलोकन गर्न चाहने दर्शकहरूले अनलाइन दर्ता गरेर अधिकतम चारवटा निःशुल्क टिकट प्राप्त गर्न सक्नेछन् ।
अमेरिकामा यो टुरले विश्वकप आयोजना हुने सबै सहरहरू तथा केही अन्य प्रमुख सहरहरूमा ट्रफी लैजाने छ । टेक्सास राज्य बाहेक अन्य कुनै राज्यमा दुईभन्दा बढी स्थानमा ट्रफी प्रदर्शन नगर्ने बताइएको छ ।
फिफाको वेबसाइटमा प्रकाशित ग्राफिकअनुसार ह्युस्टनमा मे १ देखि ३ तारिखसम्म फिफा वल्डकप फ्यान मार्ट पनि आयोजना हुनेछ । यद्यपि “फ्यान मार्ट” के हो भन्ने विषयमा स्पष्ट जानकारी दिइएको छैन ।
ह्युस्टन सहरको एनआरजी स्टेडियममा जुन १४ देखि जुलाई ४ तारिखसम्म सात वटा विश्वकप खेलहरू आयोजना गर्नेछ । साथै, एडा् क्षेत्रमा फिफा फ्यान फेस्ट आयोजना हुनेछ । जुन ११ मा मेक्सिको सिटीमा हुने उद्घाटन खेलदेखि जुलाई १९ मा न्यू जर्सीमा हुने फाइनल खेलसम्म प्रत्येक खेलको दिन सञ्चालन हुनेछ ।
फिफा विश्वकप ट्रफी पहिलो पटक सन् १९७४ मा प्रदान गरिएको थियो । त्यसअघि पहिलो ४० वर्षसम्म जुल्स रिमे ट्रफी विजेता राष्ट्रलाई प्रदान गरिन्थ्यो । ब्राजिलले सन् १९७० मा तेस्रो पटक विश्वकप जितेपछि उक्त ट्रफीमा स्थायी अधिकार पाएको थियो ।
हालको फिफा विश्वकप ट्रफी १८ क्यारेट सुनबाट बनेको छ । यसको उचाइ करिब १४ दशमलव ५ इन्च रहेको छ ।















