एनआरएनए अमेरिकाका पूर्व महासचिव पाण्डेको निधन
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकामा पूर्व महासचिव पशुपति पाण्डेको निधन भएको छ।
पाण्डेका मित्र तथा उनका छिमेकी टिपी खनालका अनुसार शुक्रवार बिहान उनी आफ्नै ओछ्यानमा मृत भेटिएका हुन्।
‘बाहिर विभिन्न आशङ्काहरू आएका छन् मलाइ पनि फोनहरू आएका छन् भवितव्यकी कर्तव्य भनेर त्यो प्रस्ट पारिदिनु होला ।’ समाज टाइम्स सँगको टेलिफोन कुराकानीमा खनालले भने।
‘उहाँ सामान्य जीवन यापन गर्ने मान्छे हो । योगा गर्ने गर्नु हुन्थ्यो । बिरामी होइन। औषधी खानु पर्ने पनि होइन। बेलुका राम्रै सँग सुतेको मान्छे । बिहान अफिस जानु पर्ने सात बजे सम्म नउठे पछि श्रीमतीले उठाउन जाँदा हलचल भएन भन्ने छ।’ खनालले भने।
खनालका अनुसार सो समय पाण्डेका श्रीमती र छोरा छोरी घरेमै थिए।
‘छोरा आफै चिकित्सक हुन्, तत्काल नै ९११ मा कल भयो, घरमा आएका चिकित्सकले तीन चार घण्टा अगाडी नै निधन भएको हुन सक्ने भनेका थिए ।’ खनालले भने।
खनालका अनुसार अहिले पाण्डेको शरीरलाई पोस्टमार्टमका लागि अस्पताल लगिएको छ।
‘अहिले हामी घरमा छौ । भवितव्य हो की कर्तव्य हो भनेर प्रश्न गरेका छन्। सँगै सुतेको श्रीमतीलाई पनि थाहा भएन। अफिस जान किन नउठेको भनेर जाँदा यस्तो भएको हो। त्यो कुरा प्रष्ट पारिदिनु है।’ खनालले भने।
पाण्डेको नेपालमा कपिलवस्तु पिपराका हुन । उनी आइटी क्षेत्रमा काम गर्थे। उनी अमेरिकाको सियाटलमा परिवार सँगै बस्दै आएका थिए।
यसै बीच पाण्डेको निधनमा अमेरिका स्थित नेपाली समुदायका अगुवाहरुले दुख व्यक्त गरेका छन् ।
‘गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका का पूर्व महासचिव तथा पूर्व संरक्षक स्व. पशुपति पाण्डे ज्युको असामयिक र दुःखद निधनको खबरले हामी सम्पूर्ण एनआरएनए यूएसए परिवार अत्यन्त मर्माहित र स्तब्ध भएका छौँ।’ एनआरएनए अमेरिकामा एउटा समूहको नेतृत्व गरिरहेका अध्यक्ष सतेन्द्र साहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस दुःखद घडीमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै, शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ।’















