डूम्स डे क्लक २०२६ : मानव सभ्यता विनाशको सबैभन्दा नजिक, ८५ सेकेन्डमा पुग्यो ‘प्रलय घडी’
कार्लाल, पेन्सिलभेनिया / परमाणु युगको सुरुवातसँगै वैज्ञानिकहरूले मानव सभ्यता आत्म–विनाशको कति नजिक छ भन्ने संकेत गर्न ‘डूम्स डे क्लक’ (प्रलय घडी) निर्माण गरेका छन् ।
करिब आठ दशकपछि मङ्गलवार वैज्ञानिकहरूले उक्त घडीलाई मध्यरात हुन अब केवल ८५ सेकेन्ड बाँकी रहेको अवस्थामा सारेका छन् ।
सन् १९४७ मा घडी स्थापना गरेयता यो मध्यरातसँगको सबैभन्दा नजिकको समय हो, ‘बुलेटिन अफ द एटोमिक साइन्स्टिस्ट्स’ ले जनाएको छ ।
डूम्स डे क्लकमा ‘मध्यरात’ भन्नाले मानव गतिविधिका कारण पृथ्वी बस्न अयोग्य बन्ने क्षणलाई जनाउँछ । गत वर्ष घडी ८९ सेकेन्ड बाँकी अवस्थामा राखिएको थियो । जुन त्यति बेला सम्मकै सबैभन्दा नजिकको समय मानिन्थ्यो ।
सन् २०२३ र २०२४ मा घडी ९० सेकेन्डमा स्थिर राखिएको थियो । त्यस्तै सन् २०२५ मा परमाणु जोखिम, जलवायु सङ्कट, जैविक खतरा तथा कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता “विघटनकारी प्रविधि” नियन्त्रण गर्न पर्याप्त प्रगति नभएको भन्दै समय फेरि अगाडि सारिएको हो ।
वैज्ञानिकहरूले गलत सूचना, भ्रामक प्रचार र षड्यन्त्र सिद्धान्तहरूको फैलावटलाई पनि मानव अस्तित्वका लागि गम्भीर खतरा भएको बताएका छन् ।
बुलेटिनकी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत एलेक्जान्ड्रा बेलले भनिन्, “मानव सभ्यतामाथि खतराका रूपमा देखिएका अस्तित्वगत जोखिमहरू कम गर्न हामीले पर्याप्त प्रगति गर्न सकेका छैनौँ । डूम्स डे क्लक मानवले आफैं सिर्जना गरेका प्रविधिबाट संसार नष्ट हुन कति नजिक पुगेको छ भन्ने सन्देश दिन प्रयोग हुने उपकरण हो । परमाणु हतियार, जलवायु परिवर्तन र विघटनकारी प्रविधिबाट उत्पन्न जोखिमहरू अझ बढ्दै गएका छन् । हरेक सेकेन्ड महत्वपूर्ण छ, र हाम्रो समय सकिँदैछ ।”
गत वर्ष वैज्ञानिकहरूले देशहरूलाई अन्तर्राष्ट्रिय सहकार्य र साझा कदम चाल्न चेतावनी दिएका थिए । बुलेटिनको विज्ञान तथा सुरक्षा बोर्डका अध्यक्ष डा. ड्यानियल होल्जका अनुसार त्यसको ठिक उल्टो अवस्था देखिएको थियो ।
“मुख्य शक्तिशाली राष्ट्रहरू झनै आक्रामक, विरोधी र राष्ट्रवादी बने,” होल्जले मङ्गलवारको पत्रकार सम्मेलनमा बताए ।
उनले भने, “सन् २०२५ मा परमाणु हतियार भएका राष्ट्रहरू संलग्न सैन्य कारबाहीहरू बढे । अमेरिका र रुसबिच परमाणु हतियार भण्डारण नियन्त्रण गर्ने अन्तिम सन्धि फेब्रुअरी ४ मा सकिँदै छ । आधा शताब्दीपछि पहिलो पटक परमाणु हतियार दौड रोक्ने कुनै कानुनी संयन्त्र बाँकी रहने छैन ।”
होल्जले जीवन विज्ञान क्षेत्रमा पनि गम्भीर खतरा कायम रहेको बताए । विशेषगरी ‘सिन्थेटिक मिरर लाइफ’ जस्ता नयाँ जैविक प्रविधिमा पर्याप्त तयारी नहुँदा सम्भावित जैविक सङ्कटको जोखिम बढिरहेको उनले चेतावनी दिए । साथै, एआई प्रविधिको तीव्र विकास र नियमनको अभावले गलत सूचना झनै तीव्र बनाउँदै अन्य सबै सङ्कटलाई थप जटिल बनाइरहेको उल्लेख गरेका छन् ।
डूम्स डे क्लक भनेको के हो ?
दोस्रो विश्वयुद्धका क्रममा परमाणु बम निर्माण गर्ने ‘म्यानह्याटन प्रोजेक्ट’ मा काम गरेका वैज्ञानिकहरूले सन् १९४५ मा ‘बुलेटिन अफ द एटोमिक साइन्स्टिस्ट्स’ स्थापना गरेका थिए । सुरुमा परमाणु जोखिम मापन गर्ने उद्देश्य भए पनि सन् २००७ देखि जलवायु सङ्कटलाई पनि गणनामा समावेश गरिएको हो ।
पछिल्ला ७९ वर्षदेखि हरेक वर्ष वैज्ञानिकहरूले मानव जाति सम्पूर्ण विनाशको कति नजिक छ भन्ने अनुमानका आधारमा घडीको समय परिवर्तन गर्दै आएका छन् । समय निर्धारण बुलेटिनको विज्ञान तथा सुरक्षा बोर्डले गर्छ, जसमा नोबेल पुरस्कार विजेता वैज्ञानिकहरू पनि समावेश छन् ।
डूम्स डे क्लक साँच्चिकै वैज्ञानिक मापन हो ?
बुलेटिनका अनुसार यो घडी निश्चित मापन उपकरण नभई विश्वले सामना गरिरहेका गम्भीर वैज्ञानिक सङ्कटबारे छलफल सुरु गराउने प्रतीकात्मक माध्यम हो । केही विज्ञहरूले यसको उपयोगितामाथि प्रश्न उठाएका छन् ।
यद्यपि, पेन्सिलभेनिया विश्वविद्यालयका प्राध्यापक डा. माइकल म्यानले भने, “यो अपूर्ण रूपक भए पनि मानव अस्तित्व कति नाजुक अवस्थामा छ भन्ने कुरा सम्झाइरहने प्रभावशाली माध्यम हो ।”
घडी मध्यरात पुगे भने के हुन्छ ?
डूम्स डे क्लक कहिल्यै मध्यरातमा पुगेको छैन । पूर्व अध्यक्ष रेचल ब्रोनसनले आशा व्यक्त गर्दै भनिन्,“मध्यरात भनेको परमाणु युद्ध वा विनाशकारी जलवायु परिवर्तनले मानव सभ्यता समाप्त भएको अवस्था हो। हामी त्यहाँ कहिल्यै पुग्न नपरोस् भन्ने चाहन्छौँ।”
समय पछाडि सार्न के गर्न सकिन्छ ?
ठूला र साहसी कदम चालिएमा घडीलाई फेरि मध्यरातबाट टाढा सार्न सकिने वैज्ञानिकहरूको भनाइ छ ।
सन् १९९१ मा अमेरिका र सोभियत संघबीच परमाणु हतियार कटौती सन्धि हुँदा घडी १७ मिनेट टाढा सारिएको थियो ।
व्यक्तिगत रूपमा पनि मानिसहरूले सचेत छलफल तथ्यमा आधारित संवाद, जलवायुमैत्री जीवनशैली अपनाउने जस्ता साना तर महत्वपूर्ण कदम चाल्न सक्ने बुलेटिनले जनाएको छ ।
















