अवैध आप्रवासीलाई अमेरिका छोड्न २६ सय डलर प्रोत्साहन, निःशुल्क टिकट र जरिवाना माफी
वाशिङ्टन / राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको एक वर्ष पूरा भएको अवसरमा अमेरिकी गृह सुरक्षा विभाग (डीएचएस ) ले अवैध रूपमा अमेरिकामा रहेका आप्रवासीलाई स्वेच्छिक रूपमा देश छोड्न थप आर्थिक प्रोत्साहनको घोषणा गरेको छ।
डीएचएसका अनुसार अब सीबीपी होम्स एप प्रयोग गरी आफै डिपोर्ट रोज्ने अवैध आप्रवासीलाई २६ सय अमेरिकी डलर नगद प्रोत्साहन दिइनेछ। यसका साथै उनीहरूको घर फर्किने सम्पूर्ण हवाई यात्रा खर्च पनि अमेरिकी सरकारले नै व्यहोर्नेछ।
यसअघि सञ्चालन गरिएको “बिदाको लागि घर” अभियान सफल भएपछि प्रोत्साहन रकम बढाइएको डीएचएसले जनाएको छ। विभागका अनुसार जनवरी २०२५ यता २२ लाखभन्दा बढी अवैध आप्रवासीले स्वेच्छिक रूपमा अमेरिका छोडिसकेका छन्, जसमध्ये दशौँ हजारले सीबीपी होम कार्यक्रम प्रयोग गरेका छन्।
गृह सुरक्षा सचिव क्रिस्टी नोएमले यो अवसर गुमाउनेलाई खोजेर पक्राउ गरिने बताइन्।
“राष्ट्रपति ट्रम्पको प्रशासनको एक वर्ष पूरा भएको अवसरमा अमेरिकी करदाताको तर्फबाट अवैध रूपमा बसिरहेका व्यक्तिलाई स्वेच्छिक रूपमा देश छोड्न २६ सय डलरको ‘एक्जिट बोनस’ दिइँदैछ। अहिले नै अवसर नलिए हामी उनीहरूलाई खोजेर पक्राउ गर्नेछौं, र उनीहरू फेरि अमेरिका फर्कन पाउने छैनन्।”
आत्म–डिपोर्ट सस्तो, करदातालाई ठूलो बचत
डीएचएसका अनुसार एक जना व्यक्तिलाई जबरजस्ती डिपोर्ट गर्दा औसत १८,२४५ डलर खर्च हुन्छ। तर सीबीपी होम एपमार्फत आत्म–डिपोर्ट गर्दा कुल खर्च ५,१०० डलर मात्र पर्छ। यसले प्रति व्यक्ति १३,००० डलरभन्दा बढी अमेरिकी करदाताको पैसा बचत हुने विभागको दाबी छ। हालसम्म करिब १ लाख प्रयोगकर्ताले सीबीपी होम एप प्रयोग गरिसकेका छन्।
जरिवाना र नागरिक दण्ड पनि माफी
सीबीपी होम एप प्रयोग गरी स्वेच्छिक रूपमा देश छोड्ने अवैध आप्रवासीले देश नछोडेको कारण लाग्ने नागरिक जरिवाना र दण्ड पनि माफी पाउनेछन्।
डीएचएसले यो प्रक्रियालाई छिटो, सजिलो र पूर्ण रूपमा निःशुल्क भएको जनाएको छ। एप डाउनलोड गरी आवश्यक विवरण भरेपछि यात्रासम्बन्धी सम्पूर्ण व्यवस्था सरकार आफैंले गर्नेछ।
चेतावनी पनि स्पष्ट
राष्ट्रपति ट्रम्पको पहिलो वर्षमै ६ लाख ७५ हजारभन्दा बढी अवैध आप्रवासी डिपोर्ट भइसकेको उल्लेख गर्दै डीएचएसले अझै अवैध रूपमा बसिरहेका व्यक्तिलाई कडा चेतावनी दिएको छ।
डीएचएसका अनुसार यो विशेष प्रस्ताव नलिनेहरूका लागि विकल्प एक मात्र हुनेछ । पक्राउ, डिपोर्टेसन र अमेरिकामा पुनः प्रवेशमा स्थायी प्रतिबन्ध ।
एआइ फोटो

















