बालेनलाई प्रेरणाका स्रोत मान्दै बाँकी जीवन सत्कर्ममा बिताउँछु : राजु पाण्डे
काठमाडौं । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् ।
शुक्रबार राजीनामा दिएसँगै महानगर प्रहरी प्रमुख पाण्डेलाई महानगरमा कार्यक्रमको आयोजना गरी बिदाइ गरिएको हो । बिदाइ कार्यक्रममा बोल्दै उनले अब बाँकी जीवन आफूले आफैँलाई कमान्ड गर्ने सत्कर्ममा बिताउने बताए ।
राजनीतिमा प्रवेशबारे संकेत गर्दै उनले समाजले आवश्यक ठानेको भूमिकामा लाग्ने धारणा राखे ।
उनले भने,‘अब स्वयम आफूले आफैँलाई कमाण्ड गर्ने हो । सत्कर्मतिर कमान्ड गर्ने हो । सत्कर्मतिर आफूले आफूलाई कमान्ड गर्न म लाग्छु, अध्ययन गर्छु र समाजलाई कुनै किसिमको भूमिका आवश्यक ठानेको अवस्थामा त्यतातिर लाग्छु । जनतालाई निराश बनाउने कुनै काम गर्दिन ।’
त्यस्तै उनले मेयर बालेन साहलाई आफ्नो प्रेरणाको स्रोत मान्दै उनीबाट सबैभन्दा ठूलो शत्रु लोभ भएकाले छाड्नुपर्ने कुरा सिकेको बताए ।
‘संसारमा सबैभन्दा ठूलो कुरा भनेको लोभ छाड्नुपर्छ । लोभ सबैभन्दा ठूलो शत्रु हुन्छ र त्यो कुरा मैँले मेयर सायब बाट सिकेँ । निरन्तर रुपमा काम गर्ने हो । त्यो कामको मूल्याङ्कन गर्ने जनता नै हुन् । मेरो प्रेरणाको स्रोत हुनुहुन्छ उहाँ’ उनले भने ।
उनलाई काठमाडौं ४ बाट फागुन २१ को प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीमा छन् ।
उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको बताउँदै चुनाव लड्नेबारे घोषणा पनि त्यसपछि जानकारी गराउने प्रतिक्रिया दिए ।


















