राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी परिवारको कल्याण सहायता दर सार्वजनिक, भुटान शीर्ष स्थानमा
कार्लाल, पेन्सिलभेनिया / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशबाट आएका १ सय २० देशका आप्रवासी परिवारहरूको ‘वेलफेयर एन्ड पब्लिक एसिसटेन्स’ प्राप्त गर्ने दरसम्बन्धी तथ्याङ्क सार्वजनिक गरेका छन् ।
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा ‘वेलफेयर एन्ड पब्लिक एसिसटेन्स’ अर्थात सरकारी कल्याणकारी सहायता प्राप्त गर्ने दरसम्बन्धी तथ्याङ्क सार्वजनिक गरेका हुन् ।
उनले ‘ट्रुथ सोसल’मा पोस्ट गरेको उक्त चार्टको शीर्षक “देशअनुसार आप्रवासी कल्याण सुविधा प्राप्त गर्ने दर” रहेको छ । चार्टमा प्रत्येक देशमा जन्मिएका आप्रवासी परिवारमध्ये कति प्रतिशतले कुनै न कुनै प्रकारको सरकारी कल्याणकारी सहायता पाउँछन् भन्ने देखाइएको छ ।
चार्टमा चिन सहित दक्षिण एसियाली राष्ट्रहरू भुटान, नेपाल, पाकिस्तान र बङ्गलादेश रहेका छन् ।
भारत भने चार्टमा समावेश गरिएको छैन । राष्ट्रपति ट्रम्पले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भुटान शीर्ष स्थानमा रहेको छ ।
भुटानका आप्रवासी परिवारमध्ये ८१ दशमलव ४ प्रतिशतले सहायता लिएको जनाएका छन् । त्यस्तै बङ्गलादेशले ५४ दशमलव ८ प्रतिशत, पाकिस्तानले ४० दशमलव २ प्रतिशत र नेपालले ३४ दशमलव ८ प्रतिशत परिवार सरकारी कल्याणकारी सहायता लिएका छन् ।
उक्त चार्टमा किन केही देशहरू समावेश नगरिएका हुन् भन्ने स्पष्ट गरिएको छैन । साथै, कुन–कुन प्रकारका सहायता यसमा समेटिएका हुन् भन्नेबारे पनि विवरण दिइएको छैन ।
यसैबिच पेन्सिलभेनियाका गर्भनर जोश सापिरोले भने राष्ट्रपति ट्रम्पले सार्वजनिक गरेको तथ्याङ्कबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
















