२०२५ मा अमेरिकाको आप्रवासन नीति कडा, एच-१बी भिसादेखि नागरिकता परीक्षासम्म व्यापक परिवर्तन
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / सन् २०२५ मा अमेरिकाले आप्रवासन नीतिमा ठूला परिवर्तनहरू लागू गरेको छ ।
अमेरिकाभर लागू भएका आप्रवासन सम्बन्धी परिवर्तनहरूले विदेशी नागरिक, विद्यार्थी, कामदार र पर्यटकहरूलाई प्रत्यक्ष असर पार्नेछन् । नयाँ नीतिअनुसार सीमामा सुरक्षा कडा बनाइएको छ ।
भिसा आवेदन प्रक्रियामा डिजिटल प्रणाली विस्तार तथा शरणार्थी नीतिमा कडाइ ल्याइएको छ । केही कार्य–आधारित भिसामा कोटा परिवर्तन गरिएको छ ।
त्यस्तै अवैध आप्रवासन नियन्त्रणका लागि नयाँ नियम लागू भएका छन् । साथै, अमेरिकी नागरिकता प्राप्त गर्ने प्रक्रियामा समयसीमा र जाँच प्रणालीमा सुधार गरिएको छ । यी परिवर्तनहरूले यात्रा योजना, रोजगारीका अवसर र बसोबासका निर्णयमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
एच-१बी भिसा प्रणालीमा ठूलो परिवर्तन
ट्रम्प प्रशासनले सेप्टेम्बरमा एच१बी भिसा वितरण प्रक्रियामा परिवर्तन प्रस्ताव गरेको छ ।
यो भिसा कार्यक्रम अमेरिकी प्रविधि उद्योगका लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ, जसले सफ्टवेयर इन्जिनियर र डाटा वैज्ञानिकजस्ता उच्च दक्ष कामदारहरू विदेशबाट भित्र्याउन अनुमति दिन्छ ।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)ले जारी गरेको नयाँ नियम अनुसार रोजगारदाताहरूलाई उच्च तलब प्रस्ताव गर्न वा अत्यन्तै दक्षता आवश्यक पर्ने पदका लागि मात्र एच१बी भिसा प्रयोग गर्न प्रोत्साहित गरिने छ ।
यससँगै, राष्ट्रपति डोनाल्ड ट्रम्पले एच१बी भिसा आवेदनमा १ लाख अमेरिकी डलर शुल्क लाग्ने घोषणा गरेका थिए । (डिएचएस)का अनुसार यी परिवर्तनहरू आगामी फेब्रुअरीदेखि लागू हुनेछन् । साथै यो कार्यक्रम अमेरिकी कामदारहरूको तलब तथा रोजगारी जोगाउने उद्देश्यले ल्याइएका हुन् ।
गैर–अमेरिकी नागरिकका लागि अनुहार पहिचान अनिवार्य
सन् २०२५ को डिसेम्बर २६ मा (डिएचएस)ले नयाँ नियम लागू गर्दै अमेरिकामा प्रवेश र प्रस्थान गर्ने सबै गैर–अमेरिकी नागरिकबाट अनुहार बायोमेट्रिक विवरण सङ्कलन गर्ने व्यवस्था गरेको छ ।
यो नियम ग्रीन कार्डप्राप्त र कानुनी रूपमा बसोबास गरिरहेका अन्य गैर–अमेरिकी नागरिकहरूमा पनि लागू हुनेछ । अमेरिकी नागरिकहरू भने स्वैच्छिक रूपमा मात्र सहभागी हुन सक्ने (डिएचएस)ले जनाएको छ ।
३. विदेशी यात्रुहरूको सामाजिक सञ्जाल चेकजाँच
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)ले विदेशी यात्रुहरूको पछिल्लो ५ वर्षको सामाजिक सञ्जाल इतिहास जाँच गर्ने प्रक्रिया अघि बढाएको छ ।
डिसेम्बरमा फेडेरल रजिस्टरमा प्रकाशित सूचनाअनुसार, भिसा वेभर कार्यक्रम अन्तर्गत अमेरिका यात्रा गर्न चाहनेहरूले इलेक्ट्रिक सिस्टम फर ट्राभल अथोराइजेसन (एसटा) आवेदन गर्दा आफ्नो सामाजिक सञ्जाल विवरण अनिवार्य रूपमा उपलब्ध गराउनु पर्नेछ ।
‘ट्रम्प गोल्ड कार्ड’ कार्यक्रमको सुरुवात
राष्ट्रपति डोनाल्ड ट्रम्पले डिसेम्बरमा ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ आप्रवासन कार्यक्रम सार्वजनिक गरेका थिए ।
यस कार्यक्रमअन्तर्गत १ लाख अमेरिकी डलर लगानी गर्ने विदेशी नागरिकलाई स्थायी बसोबास र भविष्यमा अमेरिकी नागरिकता प्राप्त गर्ने अवसर दिइने छ ।
यो कार्डमा राष्ट्रपति ट्रम्पको तस्वीर, स्वतन्त्रताको मूर्ति र अमेरिकी झण्डा समावेश गरिएको छ । आवेदन ट्रम्प गोल्ड कार्ड डट गफ वेबसाइटमार्फत गर्न सकिने छ ।
स्वीकृत आवेदकलाई इबि १ वा इबि–२ भिसा श्रेणी अन्तर्गत स्थायी आवासीय दर्जा प्रदान गरिने छ ।
अमेरिकी नागरिकता परीक्षामा कडाइ
सन् २०२५ बाट लागू भएको नयाँ अमेरिकी नागरिकता परीक्षामा अब २० प्रश्न सोधिने छ । यसभन्दा पहिले १० प्रश्न मात्र सोधिने प्रावधान रहेको थियो ।
१२ प्रश्न सही उत्तर दिएमा मात्र परीक्षा उत्तीर्ण मानिने छ । नयाँ परीक्षामा भौगोलिक प्रश्न हटाइएका छन् । अब परीक्षार्थीले अमेरिकी सरकारका तीन वटै शाखा (कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका) को नाम भन्नु पर्नेछ ।
(यएससिआइएस )का अनुसार यी परिवर्तनहरूले अमेरिकी मूल्य, सिद्धान्त र नागरिक जिम्मेवारीलाई गहिरो रूपमा बुझ्ने व्यक्तिलाई मात्र नागरिकता दिने उद्देश्य राखेका छन् ।















