जनवरी देखि युइससीआइएसले आप्रवासन शुल्क बढाउने,शरणार्थी, टीपीएस र पारोलमा रहेका बढी प्रभावित
वाशिङ्टन/ युएस सिटिजन एण्ड इमिग्रेशन सर्भिस (यूएससीआइएस) ले आर्थिक वर्ष २०२६ का लागि केही आप्रवासनसम्बन्धी शुल्कहरूमा वृद्धि गर्ने घोषणा गरेको छ।
फेडरल रजिस्टरमा प्रकाशित सूचनाअनुसार यी शुल्क वृद्धि जुलाई २०२४ देखि जुलाई २०२५ सम्मको मुद्रास्फीतिलाई आधार मानी गरिएको हो।
नयाँ शुल्कहरू जनवरी १, २०२६ देखि लागू हुनेछन्। सो मितिपछि दर्ता हुने सबै सम्बन्धित निवेदनमा नयाँ दरअनुसारको शुल्क अनिवार्य रूपमा बुझाउनुपर्ने युएससीआइएसले जनाएको छ।
किन बढाइयो शुल्क ?
युएससीआइएसका अनुसार कंग्रेसले पारित गरेको एच .आर. १ कानुनअनुसार केही आप्रवासन शुल्कहरूलाई हरेक आर्थिक वर्ष मुद्रास्फीतिअनुसार समायोजन गर्नुपर्ने व्यवस्था छ।
यही कानुनी प्रावधानअनुसार सन् २०२६ देखि केही शुल्क बढाइएको हो। विभागले आगामी वर्षहरूमा पनि यस्ता शुल्कहरू क्रमशः समायोजन हुँदै जाने स्पष्ट पारेको छ।
कुन–कुन शुल्क बढ्दै छन् ?
नयाँ निर्णयअनुसार शरण, टीपीएस र पारोलसँग सम्बन्धित काम अनुमति पत्र (इएडी ) का शुल्कमा वृद्धि गरिएको छ।
- शरण आवेदनसँग सम्बन्धित वार्षिक शुल्क १०० डलरबाट १०२ डलर पुर्याइएको छ (यद्यपि अदालतको आदेशका कारण यो शुल्क हाल स्थगित अवस्थामा छ)।
- शरण, पारोल र टीपीएसका लागि प्रथम पटक लिइने इएडी शुल्क ५५० डलरबाट ५६० डलर पुगेको छ।
- यिनै इएडीहरूको नवीकरण वा विस्तार शुल्क २७५ डलरबाट २८० डलर बनाइएको छ।
- टीपीएस आवेदन शुल्क ५०० डलरबाट ५१० डलर पुर्याइएको छ।
कुन शुल्क भने यथावत् ?
युएससीआइएसले केही महत्त्वपूर्ण फारमहरूको शुल्कमा कुनै वृद्धि नगरेको जनाएको छ।
- शरण आवेदन फारम आइ-५८९ को प्रारम्भिक शुल्क १०० डलरमै कायम छ।
- शरणार्थी इएडी नवीकरण शुल्क २७५ डलरमै यथावत् राखिएको छ।
- विशेष आप्रवासी किशोर (एसआइजे ) का लागि फारम आइ-३६० को शुल्क पनि बढाइएको छैन।
कसलाई बढी असर पर्छ ?
यस शुल्क वृद्धिले विशेषगरी शरणार्थी प्रक्रिया भित्र रहेका, टीपीएसमा बसिरहेका र पारोलमा अमेरिका प्रवेश गरेका आप्रवासीहरूलाई प्रत्यक्ष असर पार्ने देखिन्छ।
यी समूहका धेरै आप्रवासीहरू आर्थिक रूपमा कमजोर अवस्थामा हुने भएकाले सानो शुल्क वृद्धिले पनि उनीहरूको मासिक खर्चमा थप दबाब पर्ने आप्रवासन अधिकारकर्मीहरू बताउँछन्।
नेपाली समुदायको सन्दर्भमा, पछिल्ला वर्षहरूमा शरण, टीपीएस र पारोलमार्फत अमेरिका आएका नेपालीहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ। त्यसैले इएडी नवीकरण गर्नुपर्ने नेपाली आप्रवासीहरूलाई हरेक पटक थप खर्च बेहोर्नुपर्ने अवस्था सिर्जना हुने देखिन्छ।
आवेदन दिनेहरूलाई के गर्न सुझाव ?
यूएससीआइएसले जनवरी १, २०२६ अघि नै निवेदन पठाउन सक्नेहरूलाई हालको शुल्कमै आवेदन दिन सुझाव दिएको छ। जनवरी १ पछि पोस्टमार्क भएका निवेदनमा पुरानो शुल्क राखिएमा आवेदन अस्वीकार हुन सक्ने चेतावनी पनि दिइएको छ।
यूएससीआइएसले भविष्यमा आप्रवासन पारोलसँग सम्बन्धित अन्य शुल्कहरूमा पनि मुद्रास्फीतिअनुसार समायोजन गरिने र त्यसबारे छुट्टै फेडरल रजिस्टर सूचना प्रकाशित गरिने जनाएको छ।













