(डिएचएस) द्वारा ग्रीन कार्ड र भिसा प्रक्रिया सशक्त, सीमा निगरानी आधुनिक बनाइयो
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिल्भेनिया / डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस) को नियमअनुसार अमेरिकी प्रवेश र निर्गमन बिन्दुहरूमा बायोमेट्रिक जाँच विस्तार गरेको छ ।
अमेरिकी सीमा व्यवस्थापनलाई आधुनिक बनाउने र राष्ट्रिय सुरक्षा मजबुत पार्ने उद्देश्यले नयाँ आप्रवासन कार्यान्वयन प्रोटोकल र भिसा यात्रा प्रतिबन्धहरू गत शुक्रवारदेखि लागू भइसकेको छ ।
(डिएचएस) को नियमअनुसार अब अमेरिकी प्रवेश र निर्गमन बिन्दुहरूमा बायोमेट्रिक जाँच विस्तार गर्नुका साथै उच्च सुरक्षा जोखिम भएका १९ देशका नागरिकहरुलाई जारी गरिएका ग्रीन कार्डहरूको थप कडा समीक्षा गरिनेछ ।
(डिएचएस) ले परिवर्तन भएको नियमअनुसार सीमा नियन्त्रणको दीर्घकालीन आधुनिकीकरणतर्फको महत्त्वपूर्ण कदम भएको जनाएको छ ।
उक्त प्रविधिको प्रयोगमार्फत जालसाजी रोक्ने, भिसा अवधि नाघेर बस्नेहरूलाई नियन्त्रण गर्ने र आपराधिक सञ्जाल तथा सम्भावित आतङ्ककारीहरूले प्रयोग गर्ने कमजोरीहरू बन्द गर्ने लक्ष्य राखेको छ ।
अद्यावधिक प्रक्रियाअनुसार युएस कस्टम एन्ड बोर्डर प्रोटेक्शन (सिबिपी)ले सबै गैर–अमेरिकी नागरिकहरू प्रत्येक पटक अमेरिका प्रवेश वा निर्गमन गर्दा फोटो खिच्ने बताइएको छ । साथै, पहिले १४ वर्षमुनिका बालबालिका र ७९ वर्षभन्दा माथिका वृद्ध वृद्धाहरूलाई दिइएको छुट हटाइएको छ ।
(सिबिपी)ले फिङगर प्रिन्ट र (आइरिस) स्क्यान संकलन गर्ते तथा ट्राभलर भेरिफिकेशन सर्भिसमार्फत यात्रा कागजातसँग मिलाउने जनाइएको छ ।
(सिबिपी) का अनुसार बायोमेट्रिक प्रणालीले कागजात जालसाजी घटाउने, भिसा अवधि नाघ्ने व्यक्तिहरू पहिचान गर्ने र झूटा पहिचान प्रयोग गरी प्रवेश गर्न खोज्नेहरूलाई रोक्ने माध्यमबाट सुरक्षा बलियो बनाउने जनाएको छ ।
(डिएचएस)ले परिवर्तन गरिएको नियमअनुसार १९ देशका नागरिकहरूका लागि ग्रीन कार्डसम्बन्धी प्रक्रिया कडा बनाइएको जनाएको छ ।
ती देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कङ्गो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला रहेका छन् ।
(डिएचएस)का अनुसार यो कडाइ पहिलेका भेरिफिकेसन मापदण्ड र अघिल्ला स्वीकृतिहरूको विश्वसनीयतासम्बन्धी चिन्ताका कारण गरिएको हो। ती देशहरूबाट आएका वैध स्थायी बासिन्दाहरू ग्रीन कार्डका लागि प्रवेश बन्दरगाहहरूमा थप सोधपुछ, कागजात जाँच तथा प्रक्रिया ढिलाइ हुन सक्ने बताइएको छ ।
यो कदम कानुनी आप्रवासन प्रणालीमा निरन्तर उच्च माग र प्रक्रियागत अवरोधहरू कायम रहेको अवस्थामा आएको हो ।
परराष्ट्र मन्त्रालयद्वारा सार्वजनिक गरिएको जनवरी २०२६ को भिसा बुलेटिनले पनि पारिवारिक तथा रोजगारी–आधारित धेरै श्रेणीहरूमा अत्यधिक माग रहेको देखाएको छ । विशेष गरी चीन, भारत, मेक्सिको र फिलिपिन्सका आवेदकहरूका लागि भिसा प्रतीक्षा अवधि लामो रहेको जनाइएको छ।
(डिएचएस) अधिकारीहरूका अनुसार बायोमेट्रिक प्रणालीको विस्तार आगामी ३ देखि ५ वर्षभित्र चरणबद्ध रूपमा गरिनेछ। यसको सुरुआत प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलहरूबाट गरिने र क्रमशः स्थल तथा समुद्री प्रवेश बिन्दुहरूमा विस्तार गरिने बताइएको छ ।















