तीन दशकपछि न्यूयोर्क सिटीमा मेट्रोकार्डको अन्त्य हुने, “अम्नी” प्रणाली अनिवार्य
कार्लाल, पेन्सिल्भेनिया / न्यूयोर्क सिटीले म्याग्नेटिक स्वाइप मेट्रो कार्ड प्रणालीलाई अन्त्य गर्ने भएको छ ।
न्यूयोर्क सिटीले टोकनबाट म्याग्नेटिक स्वाइप मेट्रो कार्ड प्रणालीमा रूपान्तरण गरेको ३० वर्षभन्दा बढी समयपछि मेट्रो कार्डलाई अन्त्य गर्न लागेको जनाएको हो ।
न्यूयोर्क सिटी मेट्रोपोलिटन ट्रान्जिट अथोरिटी (एमटिए) ले आगामी ६ महिनाभित्र पूर्ण रूपमा “अम्नी” नामक ट्याप–एन्ड–पे प्रणाली लागू गर्ने तयारी गरिरहेको बताइएको छ । आगामी जनवरी १ तारिखदेखि न्यूयोर्कमा बसोबास गर्ने नेपाली लगायत अन्य बासीहरुले सबवे र बसको भाडा तिर्न मेट्रो कार्ड किन्न वा रिचार्ज गर्न सक्ने छैनन् ।
नयाँ वर्ष २०२६ बाट न्यूयोर्कमा यात्रा गर्ने स्थानीय बासिन्दा र पर्यटकहरू दुवैले स्टेसन वा बस प्रवेश गर्दा मोबाइल फोन, क्रेडिट कार्ड वा अन्य सम्पर्करहित उपकरण ट्याप गरेर भाडा तिर्नुपर्ने जनाएको छ ।
सन् २०१९ मा सुरु गरिएको यो “अम्नी” नामक ट्याप–एन्ड–पे प्रणाली हालसम्म न्यूयोर्क सिटीका ९४ प्रतिशत सबवे र बस यात्रामा प्रयोग भइसकेको बताइएको छ ।
(एमटिए) का प्रमुख ग्राहक अधिकृत शनिफा रिएराले प्रेस विज्ञप्ति जारी गर्दै भनिन्’, “न्यूयोर्कवासीहरूले ट्याप–एन्ड–राइड प्रणालीलाई आत्मसात् गरेका छन्, शहरमा मानिसहरू पुनः फर्किंदै जाँदा उनीहरूले सामूहिक यातायात रोजेको देखेर हामी गर्व महसुस गर्छौँ ।”
उनले भनिन् “मेट्रो कार्ड बिक्रीको अन्त्य नजिकिँदै गर्दा बाँकी ६ प्रतिशत यात्रुहरूलाई पनि यो प्रणालीमा ल्याउन र ट्याप–एन्ड–राइड प्रविधिको सुविधा र फाइदा उपयोग गराउन हामी केन्द्रित छौँ।”
(एमटिए)का अनुसार मेट्रो कार्ड किन्न वा रिचार्ज गर्न सकिने अन्तिम दिन डिसेम्बर ३१ रहेको बताइएको छ ।
(एमटिए) ले मेट्रो कार्ड हटाएर एउटै भाडा सङ्कलन प्रणाली लागू गर्दा कम्तीमा २ करोड डलर बचत हुने र ग्राहकका लागि प्रोमोशन तथा भाडा छुट जस्ता सुविधा सजिलै उपलब्ध गराउन सकिने बताएको छ ।
सन् १९५३ देखि १९९४ सम्म न्यूयोर्क सिटी सबवेमा “वाई” आकारको प्वाल भएको सानो डाइम आकारको टोकन प्रयोग गरिन्थ्यो । त्यस्तै, सन् १९८३ मा अन्य ठूला शहरहरूले म्याग्नेटिक स्वाइप प्रविधि अपनाउन थालेपछि (एमटिए)ले पनि रिचार्ज गर्न मिल्ने कार्ड कार्यान्वयनमा ल्याएको थियो ।















