नवनियुक्त परराष्ट्रमन्त्री शर्माद्वारा पदभार ग्रहण
काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पदभार ग्रहण गरेका छन् ।
शुक्रबार राष्ट्रपति कार्यालयमा सपथग्रहण गरे लगत्तै मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणपछि मन्त्री शर्माले मुलुक र मन्त्रालयको उद्धारका साथै प्रगतिका लागि आफूले मन्त्रालय सम्हालेको बताए ।
उनले भने,‘मुलुक हाम्रो हो । जति हामी खाली राख्छौँ उति समस्या खडा हुनसक्छ । त्यस कारण रुटिन प्रक्रियाहरूमा बाधा नपरोस् र मन्त्रालयको उद्धार अथवा प्रगति हुन्छ भनेदेखि हामीले रोक्नु हुँदैन भन्ने लागेर म आएको हुँ ।’
यस्तै,उनले दुई छिमेकी नवोदित राष्ट्रहरूको अनुभव ज्ञान लिएर सहकार्य गर्दै अगाडि जान सकिन्छ भन्नेमा आफू विश्वस्त रहेको धारणा राखे ।
त्यस्तै उनले नेपालको इमेज संसार भरि कसरी राम्रो गर्ने भन्ने विषयमा आफूले पहिलो निर्णय गरेको जानकारी दिए ।














