पेन्सिल्भेनियामा “स्न्याप” ठगी काण्ड : स्टोर मालिकसहित सात जनामाथि आरोप
कार्लाल, पेन्सिलभेनिया
पेन्सिल्भेनियामा सात जनामाथि “स्न्याप” अर्थात् फुड स्ट्याम्पमा लाखौ अमेरिकी डलर ठगी गरेको आरोप लागेको छ ।
राज्य र स्थानीय अभियोजनकर्ताहरूले सात जनामाथि सप्लिमेन्टल न्युट्रिसन असिस्टेन्ट प्रोग्राम “स्न्याप” अर्थात् फुड स्ट्याम्पमा ७ लाख ७५ हजार ६७७ डलर बराबरको रकम ठगी गरेको आरोप लगाएका हुन् । स्टल्टनस्थित एक कन्भिनियन्स स्टोरमा उक्त रकम ठगी गरेको बताइएको छ ।
पेन्सिल्भेनिया स्टेट निरीक्षक जनरल कार्यालय र डाउफिन काउन्टी जिल्ला अभियोजन कार्यालयको अनुसन्धानबाट उक्त ठगी घटना सार्वजनिक गरेको हो । अनुसन्धानकर्ताहरूले स्टल्टनको ३०० लिंकन स्ट्रिटस्थित क्विक स्टप कन्भिनियन्स स्टोरमा सञ्चालन भइरहेको गतिविधिहरूको छानबिन गरेको थियो ।
अनुसन्धानकर्ताहरूका अनुसार स्टोरका मालिकले स्थायी रूपमा कार्यक्रमबाट प्रतिबन्धित भएपनि “स्न्याप” लाभ स्वीकार गर्न जारी राखेको बताएका छन् । आरोप लागेकाहरूमा सोलानी रामोस, राफाएल जर्मेन पावल, विल्सन जाभियर गार्सिया म्याटियो र बीएट्रिज रोसारियो अकॉस्टा रहेका छन् । त्यस्तै, अन्य व्यक्तिहरुमा शॉन भ्यान–जेफ्री म्याक्कोय, डोरोथी ए विल्सन र शारियाह डेनीज किजर रहेका छन् ।
अधिकारीहरूका अनुसार फुड स्ट्याम्पबाट खाद्यवस्तु नभई प्रतिबन्धित नगद र अन्य वस्तुहरूमा रूपान्तरण गर्ने काम समावेश भएको बताइएको छ । साथै, उक्त स्टोरबाट “स्न्याप”मा बाट २ सय डलर लिएर १ सय डलर ग्राहकहरूलाई दिएको पाइएको बताएका छन् ।
पेन्सिलभेनिया राज्य निरीक्षक जनरल मिशेल ए हेनरीले पेन्सिल्भेनियामा बसोबास गर्ने न्यून आयस्रोत भएका कमजोर वर्गका लागि लक्षित कार्यक्रमहरूलाई संरक्षण गर्ने व्यापक प्रयासलाई प्रतिबिम्बित गरेको बताइन् । “यस्तो गतिविधिले करदाताहरू र आवश्यकतामा रहेका व्यक्तिहरू दुबैलाई शोषण गरेको छ ।”, उनले भनिन् ।
डाउफिन काउन्टी स्टेट वकिल फ्रान चार्डोले “स्न्याप” ठगी योजनाहरूले सम्पूर्ण समुदायलाई क्षति पु¥याउने तथा परिवारहरूको पोषण सुनिश्चित गर्ने कार्यक्रमहरूमा विश्वास कमजोर पार्ने बताएका छन् ।
उक्त अनुसन्धानमा राज्य निरीक्षक जनरल कार्यालय, डाउफिन काउन्टी डिस्ट्रिक्ट अभियोजन कार्यालय, पेन्सिल्भेनिया स्टेट प्रहरी तथा पेन्सिल्भेनिया मानव सेवा विभागबिच समन्वय भएको थियो । आरोपी सातै जनालाई पक्राउ पुजी जारी गर्दै अनुसन्धान जारी राखेको बताइएको छ ।















