ट्रम्प प्रशासनलाई ऐतिहासिक सफलता, २५ लाख अवैध आप्रवासीले अमेरिका छाडे
गोविन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / अमेरिकी होमल्याण्ड सेक्युरिटी सचिव क्रिस्टी नोयमले इतिहासकै सबैभन्दा प्रभावशाली निर्णायक कारबाही र सुधारको महत्वपूर्ण कालखण्ड सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेकी छिन् ।
सचिव नोयमले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी “डिएचएस” को वर्ष अन्त्यको उपलब्धिहरू सार्वजनिक गर्दै अमेरिकी इतिहासमा सबैभन्दा प्रभावशाली सफलता प्राप्त गरेको जानकारी दिएकी हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सचिव नोयमको नेतृत्वमा “डिएचएस”ले कानुनको शासन पुनःस्थापित गरेको समेत जनाएको छ ।
साथै, अहिलेसम्मकै सबैभन्दा सुरक्षित सीमा सुनिश्चित गरेको, खतरनाक आपराधिक अवैध आप्रवासीलाई हटाएको, समुदायलाई सुरक्षित बनाएको, साइबर सुरक्षालाई बलियो बनाएको, विपद् प्रतिक्रिया प्रणाली सुधार गरेको, अमेरिकी यात्रा र राष्ट्रिय सुरक्षालाई पुनः आकार दिने पहल सुरु गरेको र भावी पुस्तासम्म अमेरिकालाई सुरक्षित बनाउने काम गरेको समेत बताइएको छ ।
सचिव नोयमले भनिन्, “एक वर्ष नपुग्दै राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको इतिहासमै सबैभन्दा ऐतिहासिक र निर्णायक उपलब्धिहरू दिलाएको छ । यो प्रशासन सुरु मात्रै भएको हो, अझै धेरै काम गर्न बाकी नै छ ।”
“राष्ट्रपति ट्रम्पको नेतृत्वमा हामी फेरि अमेरिकालाई सुरक्षित बनाइरहेका छौ । अमेरिकी जनतालाई पहिलो प्राथमिकतामा राखेका छौ । हामीले समयमा नै हाम्रो सीमा सुरक्षित गरिसकेका छौ । हामीले कार्टेलहरूसँग लडाइ ग¥यौ र हजारौँ आपराधिक अवैध आप्रवासीलाई पक्राउ गर्न सफल भइसकेका छौ । २०२५ ऐतिहासिक भए पनि काम पूरा नहुँदासम्म हामी विश्राम गर्नेछैनौ।” उनले वक्तव्य जारी गर्दै भनिन् ।
सचिव नोयमका अनुसार राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालको पदभार सम्हालेको पहिलो वर्षमा करिब २५ लाख अवैध आप्रवासीले अमेरिका छाडेको बताइएको छ । जसमध्ये १९ लाखले आफै अमेरिका छाडेको तथा ६ लाख २२ हजारलाई डिपोर्ट गरेको समेत जनाइएको छ ।
नोयमले भनिन्, “ ट्रम्प प्रशासन सुरु भएसँगै दक्षिणी सीमामा फेन्टानिल तस्करी २०२४ को सोही अवधिको तुलनामा आधाले घटेको छ । युएस कोस्ट गार्डले मात्र १७ करोड ७० लाखभन्दा बढी अमेरिकीलाई मृत्युवरण गर्न सक्ने परिमाणको कोकेन जफत गरेको छ ।”
ट्रम्प प्रशासनले “डिएचएस” मा १३ दशमलव २ अर्ब डलरभन्दा बढी अमेरिकी करदाताको पैसा बचत गरेको जनाएको छ । साथै, फेडेरल इमेरजेन्सी म्यानेजमेन्ट, साइबर सेक्युरिटी एण्ड इन्फास्टर्कचर सेक्युरिटी तथा युनाइटेड स्टेट सिक्रेट सर्भिस जस्ता प्रमुख निकायलाई पुनः आफ्ना मूल दायित्वमा फर्काएको छ ।
इतिहासकै सबैभन्दा सुरक्षित अमेरिकी सीमा
ट्रम्प प्रशासनले यो वर्ष अमेरिकी इतिहासमा सबैभन्दा सुरक्षित सीमा सुनिश्चित गर्न सफल भएको छ ।
कस्टम एण्ड बोर्डर प्रोटेक्सन “सि बिपी”ले इतिहासमा नै सुरक्षित सीमा सुनिश्चित गरेको तथा सीमा सुरक्षाको काम निरन्तर कायम रहेको बताएको छ ।
ट्रम्प प्रशासनले सीमा पार गर्ने घटनाको तुलनामा ९३ % ले कमी आएको, दक्षिण–पश्चिमी सीमामा दैनिक औसत २४५ अवैध आप्रवासीहरू पक्राउ गरेको, मे महिना देखि नोभेम्बरसम्म लगातार ७ महिना शून्य रिहाइ गरेको, ५ लाख ३९ हजार ९८४ पाउन्ड लागु औषध जफत (२०२४ भन्दा करिब १०% बढी) गरेको, १ हजार ९० दशमलव ७ अर्ब डलर ट्यारिफ र २ सय ६६ दशमलव ७ अर्ब डलर कस्टम राजस्व सङ्कलन गरेको, सबैभन्दा खतरनाक आपराधिक अवैध आप्रवासीमाथि कारबाही गरेको तथा सबैभन्दा खतरनाक आपराधिक अवैध आप्रवासीमाथि कारबाही गरेको जनाइएको छ ।
आप्रवासन प्रणालीमा सुधार
अमेरिकी होमल्याण्ड सेक्युरिटी अन्तर्गत “युएससिआइएस” ले आप्रवासन प्रणालीलाई थप कडा, पारदर्शी र कानुनअनुसार बनाउन व्यापक सुधार अघि बढाएको जनाएको छ ।
सोही क्रममा “युएससिआइएस”ले अहिलेसम्मकै सबैभन्दा ठुलो कारबाही मानिएको “अपरेसन ट्विन सिल्ड” सञ्चालन गरेको हो ।
यस अभियानअन्तर्गत १ हजार भन्दा बढी आप्रवासनसम्बन्धी केसहरूको समीक्षा गरिएको छ । साथै, २ हजार भन्दा बढी घर र कार्यस्थलमा साइट भ्रमण गरिएको छ । १५ सय भन्दा बढी व्यक्तिसँग प्रत्यक्ष अन्तर्वार्ता लिइएको “युएससिआइएस”ले जानकारी दिएको छ । जाँचका क्रममा ५ सय भन्दा बढी केसमा ठगी, कानुन उल्लङ्घन वा राष्ट्रिय सुरक्षासँग सम्बन्धित जोखिम फेला परेको छ ।
“युएससिआइएस”का अनुसार यी मुद्दामध्ये १४ हजार ४०० भन्दा बढी व्यक्तिलाई इमिग्रेसन एण्ड कस्टम इफोर्समेन्ट “आइस” मा सिफारिस गरिएको छ ।
सिफारिस गरिएका मध्ये २४ सय भन्दा बढी व्यक्ति पक्राउ परेका छन् । त्यस्तै, अवैध रूपमा बसोबास गरिरहेका व्यक्तिहरूलाई अदालतमा उपस्थित गराउन १ लाख ९६ हजार ६०० वटा सुचना जारी गरिएको छ । त्यस्तै २९ हजार भन्दा बढी ठगीसम्बन्धी उजुरी दर्ता गरिएको छ ।
सरकारले आप्रवासन नीतिमा कडाइ गर्दै टेम्पोरेरी प्रोटेक्टेट स्टाटस “टिपीएस” नेपालसहित अफगानिस्तानसहित ११ देशका नागरिकका लागि अन्त्य गर्ने निर्णय गरेको थियो ।
यससँगै अमेरिकी नागरिकता परीक्षा अझ कडा बनाइएको थियो । गत साता मात्रै अमेरिकाले ७५ जना नेपालीलाई डिपोर्ट गरेको थियो । त्यस्तै नोभेम्बरमा ८० तथा अक्टोबरमा ३८ जना नेपाली डिपोर्ट भएका थिए ।
ट्रम्प प्रशासन तथा सचिव नोयमको नेतृत्वमा “डिएचएस”ले हासिल गरेको प्रमुख उपलब्धिले आगामी दिनमा अमेरिकालाई राष्ट्रिय शक्ति र सबै नागरिकका लागि उज्ज्वल भविष्यतर्फ डो¥याउने देखिएको छ ।















