औषधि मूल्य घटाउन ट्रम्प प्रशासन र विश्वका १४ ठुला औषधि कम्पनीबिच सम्झौता
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका ठुला औषधि उत्पादक कम्पनीहरूसँग औषधिको मूल्य घटाउने उद्देश्यले नयाँ सम्झौता भएको घोषणा गरेका छन् ।
वासिङ्टन डिसीस्थित ह्वाइट हाउसमा शुक्रवार सम्बोधन गर्दै ट्रम्पले अमेरिकी नागरिकका लागि विश्वका ठुला औषधि उत्पादक कम्पनीहरूसँग नयाँ सम्झौता भएको घोषणा गरेका हुन् । उनले नौ वटा औषधि उत्पादक कम्पनीहरू प्रशासनको “मोस्ट–फेवर्ड–नेसन” मूल्य निर्धारण पहल कार्यक्रममा सहभागी भएको बताएका थिए ।
यससँगै विश्वका १७ ठुला औषधि कम्पनीमध्ये १४ वटा कम्पनी यस सम्झौतामा आबद्ध भएका थिए ।
यी नौ कम्पनीहरूसँग भएको सम्झौतामा स्वदेशमै औषधि उत्पादन, अनुसन्धान तथा विकासका लागि कुल १५० बिलियन डलर बराबरको नयाँ लगानी प्रतिबद्धता समावेश छ । “अमेरिकी जनता र बिरामीहरूका लागि यो अमेरिकी स्वास्थ्य सेवाको इतिहासमै सबैभन्दा ठुलो जित हो, यसको फाइदा हरेक अमेरिकी नागरिकले प्राप्त गर्नेछन् ।” उनले भने ।
गत सेप्टेम्बरमा राजधानी वासिङ्टन डीसीमा राष्ट्रपति ट्रम्पले फाइजरसँग मेडिकेड अन्तर्गत औषधिको मूल्य घटाउने सम्झौताको घोषणा गरेका थिए ।
शुक्रवारको घोषणासँगै एम्जेन, बोहरिंगर इन्गेलहेम, ब्रिस्टल मायर स्किवब, जेनेटेक, गिलियड, जिएसके, मर्क तथा नोभार्टिस सानोफीसँग सम्झौता सम्पन्न भएको हो ।
राष्ट्रपति ट्रम्पले गत जुलाई महिनामा विश्वका १७ ठुला औषधि कम्पनीका प्रमुखहरूलाई पत्र लेख्दै सरकारी मेडिकेड कार्यक्रममा आबद्ध नागरिकका लागि औषधिको मूल्य अन्य उच्च आय भएका मुलुकहरूभन्दा कम राख्न सम्झौता गर्न आग्रह गरेका थिए ।
सम्झौतामा हस्ताक्षर गर्ने केही कम्पनीहरूले अमेरिकाको “स्ट्राटेजिक एक्टिभ फार्मास्युटिकल इन्ग्रेडिएन्ट्स रिजर्भ”का लागि आवश्यक कच्चा औषधि सामग्री निःशुल्क उपलब्ध गराउने सहमति पनि जनाएका छन् ।
ट्रम्पले भने, “यो धेरै हदसम्म राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हो, अन्य देशहरूभन्दा १३–१४ गुणा बढी मूल्य तिरेर सुरक्षा सुनिश्चित हुन्छ भन्ने सोच्न सकिँदैन।”
ट्रम्पले औषधिको उच्च मूल्य घटाउने विषयलाई आफ्नो प्रशासनको प्रमुख एजेन्डा बनाउँदै आएका छन् । विश्लेषकहरूका अनुसार अमेरिकाको कुल औषधि खर्चको करिब १० प्रतिशत हिस्सा मेडिकेड कार्यक्रममार्फत खर्च हुन्छ, जसमा पहिले नै उल्लेखनीय छुट उपलब्ध छ ।
राष्ट्रपति ट्रम्पले औषधिको मूल्य घटाउने उद्देश्यले नयाँ वेबसाइट चाडै सञ्चालनमा ल्याउने समेत बताएका छन् ।















