अमेरिकी नागरिकता प्राप्त गर्न झुटो बोलेकोमा एक महिला दोषी ठहर
ब्रिजपोर्ट, कनेक्टिकट— बोस्निया र हर्जेगोभिना मुलकी अमेरिकी नागरिकता प्राप्त गरेकी नाडा राडोभान टोमानिचले युद्धकालीन अपराध लुकाएर अमेरिकी नागरिकता हासिल गरेको आरोपमा दोष स्वीकार गरेकी छन्।
युएस सिटिजन एण्ड इमिग्रेशन सर्भिस (यूएससीआइएस) को सहयोगमा गरिएको अनुसन्धानपछि यो मुद्दा अघि बढेको अमेरिकी अभियोजन कार्यालयले जनाएको छ।
यूएससीआइएसद्वारा सोमबार जारी विज्ञप्ती अनुसार अदालतका कागजातअनुसार ५३ वर्षीया टोमानिच १९९० को दशकमा भएको बोस्नियाली सशस्त्र द्वन्द्वका क्रममा बोस्निया र हर्जेगोभिनाको सेनाअन्तर्गत ‘जुल्फिकार विशेष एकाइ’मा आबद्ध थिइन्।
अभियोजनका अनुसार सो एकाइका अन्य सैनिकसँग मिलेर उनले बोस्नियाली सर्ब नागरिक बन्दीहरूमाथि शारीरिक तथा मानसिक दुर्व्यवहारमा सहभागिता जनाएकी थिइन्।
सन् २०१२ मा अमेरिकी नागरिकताका लागि आवेदन दिँदा टोमानिचले आफू कहिल्यै थुनुवा राख्ने केन्द्रमा सेवा नगरेको र अरूलाई थुनामा राख्ने कुनै कार्यमा संलग्न नभएको भनी झुटो विवरण दिएकी थिइन्। साथै, आफू पक्राउ नपरेको कुनै अपराध नगरेको दाबी पनि गरिन्, जबकि युगोस्लाभिया समाजवादी गणतन्त्रको फौजदारी कानुनअनुसार गम्भीर शारीरिक क्षति पुर्याउने अपराधमा उनको संलग्नता रहेको अभियोजनको दाबी छ।
लिखित आवेदन मात्र होइन, आप्रवासन अधिकारीसँगको अन्तर्वार्ताका क्रममा शपथ लिएर सत्य बोल्नुपर्ने कानुनी दायित्व हुँदाहुँदै पनि उनले थुनुवा केन्द्रमा सेवा गरेको र विगतका आपराधिक गतिविधिबारे पुनः झुट बोलेकी अभियोजनले जनाएको छ।
टोमानिचले कानुनविपरीत नागरिकता प्राप्त गरेको एक अभियोगमा दोष स्वीकार गरेकी हुन्। उनको सजाय तोक्ने मिति सन् २०२६ फेब्रुअरी ३ का लागि तय गरिएको छ। उक्त अभियोगमा अधिकतम १० वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ।
यो घटनाको अनुसन्धान संघीय जाँच निकायले गरेको हो। मानवअधिकार उल्लङ्घन तथा युद्ध अपराधसम्बन्धी विशेष निकाय र आप्रवासन सेवाका अनुसन्धान विभागले समन्वय गरेका थिए। बोस्निया र हर्जेगोभिनाका न्याय तथा सुरक्षा निकाय, सर्बियाली अधिकारीहरू तथा संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय न्याय संयन्त्रले अनुसन्धानमा सहयोग पुर्याएको जनाइएको छ।
अमेरिकामा रहेका मानवअधिकार उल्लङ्घनकर्ताबारे जानकारी भएमा सम्बन्धित निकायमा जानकारी दिन आम नागरिकलाई आग्रह गरिएको छ। आप्रवासन प्रक्रियाको सत्यनिष्ठा जोगाउनु अमेरिकी आप्रवासन सेवाको प्राथमिकता रहेको अधिकारीहरूले बताएका छन्।















