नयाँ वर्षको स्वागत गर्दै भर्जिनियामा‘स्वार’को लाइभ कन्सर्ट
स्टर्लिङ, भर्जिनिया/ नयाँ वर्ष २०२६ को स्वागत गर्दै अमेरिकाको भर्जिनिया राज्यको स्टर्लिङस्थित स्पोर्ट्सप्लेक्स डुलेसमा नेपाली सांगितिक व्याण्ड ‘स्वार’ को लाइभ कन्सर्ट हुने भएको छ।
नेपाली आधुनिक संगीत क्षेत्रमा पछिल्ला वर्षहरूमा स्वार नामक साङ्गीतिक ब्यान्डले उल्लेखनीय पहिचान बनाएको छ। इन्डी, पप–रक र वैकल्पिक संगीतको संयोजनमार्फत आफ्ना सिर्जनाहरू प्रस्तुत गर्दै आएको यो ब्यान्ड छोटो समयमै युवा पुस्तामाझ लोकप्रिय बन्न सफल भएको छ।
यस ब्यान्डको गठन स्वप्निल शर्मा, रोहित शाक्य र गौतम तण्डुकारको संयुक्त पहलमा भएको हो। ब्यान्डले भावनात्मक शब्द, सरल तर प्रभावशाली संगीत संरचना र आधुनिक प्रस्तुति शैलीलाई आफ्नो मुख्य विशेषता बनाउँदै आएको छ।
ब्यान्डका प्रमुख गायक स्वप्निल शर्माको स्वर, रोहित शाक्यको संगीत संयोजन तथा गिटार र गौतम तण्डुकारको ड्रमिङले स्वारको संगीतलाई फरक स्वाद दिएको छ।
उनीहरूलाई लाइभ प्रस्तुति तथा स्टुडियो रेकर्डिङमा अन्य सहयोगी सङ्गीतकर्मीहरूले साथ दिँदै आएका छन्।
स्वारका ‘अपरिभाषित’, ‘बादल सरी’, ‘संसार’, ‘उडिरहेछन्’ र ‘बिस्तारै’ जस्ता गीतहरूले डिजिटल प्लेटफर्ममा उल्लेखनीय लोकप्रियता हासिल गरेका छन्। यी गीतहरूमा प्रेम, बिछोड, जीवनका उतारचढाव र मानवीय संवेदनालाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ।
ब्यान्डले नेपालका विभिन्न सहरहरूमा मात्र नभई विदेशमा समेत लाइभ कन्सर्टमार्फत आफ्नो संगीत प्रस्तुत गर्दै आएको छ। उनीहरूको प्रस्तुति युवा दर्शकमाझ ऊर्जावान र भावनात्मक दुवै रूपमा रुचाइएको देखिन्छ।
नेपाली संगीतमा नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने ब्यान्डका रूपमा स्वारले मौलिक सिर्जना र निरन्तर सक्रियतामार्फत आफ्नो उपस्थितिलाई बलियो बनाउँदै लगेको सङ्गीतकर्मीहरूको बुझाइ छ।
संगीत, संस्कृति र समुदायलाई एकै ठाउँमा जोड्ने उद्देश्यसहित डिसेम्बर ३१ मा भर्जिनियामा आयोजना हुन लागेको यस कार्यक्रमले उत्तरी भर्जिनियामा साङ्गीतिक तथा सांस्कृतिक उत्सवको माहौल सिर्जना गर्ने आयोजकले अपेक्षा गरेको छ।
कार्यक्रममा चर्चित कलाकार स्वारको प्रत्यक्ष प्रस्तुति रहनेछ भने त्यसपछि डीजे नेपस्टाइल्ज र डीजे बिशोले नयाँ वर्षको स्वागतका लागि मनोरञ्जनात्मक संगीत प्रस्तुत गर्नेछन्।
एकता, सिर्जनशीलता र सांस्कृतिक गर्वका साथ नयाँ वर्षलाई स्वागत गर्ने लक्ष्यसहित यो कार्यक्रम आयोजना गरिएको हो।
यस कार्यक्रमको आयोजना ग्लोबल फ्यामिली फाउन्डेसनले गरेको हो।
फाउन्डेसनले युवालाई संस्कृति, सिर्जनशीलता, शिक्षा र समुदायमा आधारित गतिविधिमार्फत सशक्त बनाउने उद्देश्यसहित क्रियाशील रहेको जनाएको छ। यो गैरनाफामूलक संस्थाले युवाहरूलाई आफ्ना मौलिक संस्कृतिसँग जोड्दै आत्मविश्वास, नेतृत्व क्षमता र अपनत्वको भावना विकास गराउने प्रयास गर्दै आएको बताएको छ।
कार्यक्रमको व्यवस्थापन तथा उत्पादन आवरएक्स इन्टरटेनमेन्टले गर्नेछ। कार्यक्रम सञ्चालन, मञ्च व्यवस्थापन, ध्वनि तथा प्रकाश व्यवस्थासहित समग्र अतिथि अनुभवलाई व्यावसायिक र स्मरणीय बनाउने जिम्मेवारी उक्त संस्थाले लिएको छ।
ग्लोबल फ्यामिली फाउन्डेसनका नेतृत्वले संगीत र संस्कृति युवालाई प्रेरित गर्ने तथा समुदायलाई एकताबद्ध बनाउने सशक्त माध्यम भएको उल्लेख गर्दै नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजना हुने यो कार्यक्रम केवल कन्सर्ट मात्र नभई आपसी सम्बन्ध, सिर्जनशीलता र सकारात्मक ऊर्जाको साझा मञ्च भएको बताएका छन्।
डिसेम्बर ३१ बुधबार साँझ ७ बजेबाट ढोका खुल्ने कार्यक्रम साँझ ८ बजेबाट सुरु हुनेछ। कार्यक्रम भर्जिनियाको स्टर्लिङस्थित स्पोर्ट्सप्लेक्स डुलेस, २१६१० एटलान्टिक बुलेभार्डमा आयोजना हुनेछ।
भीआईपी तथा टेबल बुकिङ्गका लागि दिजेश श्रेष्ठ (४०५–६९७–९७३६) र अरुण शर्मा (३०१–५३८–८०४६) सँग सम्पर्क गर्न सकिने आयोजकले जानकारी दिएका छन्।















