डीएचएसद्वारा केही देशका पारिवारिक पुनर्मिलन परोल कार्यक्रम अन्त्य
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ यूएस होमल्याण्ड सेक्युरिटी (डिएचएस) ले कोलम्बिया, क्युबा, इक्वेडर, एल साल्भाडोर, ग्वाटेमाला, हैटी र होन्डुरसका नागरिक तथा उनीहरूका नजिकका परिवारजनलाई लक्षित गरी सञ्चालन हुँदै आएका सबै श्रेणीगत पारिवारिक पुनर्मिलन परोल (तारिखमा छुट्ने) कार्यक्रमहरू अन्त्य गर्ने निर्णय गरेको छ।
गृह सुरक्षा विभागका अनुसार मानवीय आधारमा दिइने परोल प्रक्रियाको दुरुपयोग बढ्दै गएपछि यो कदम चालिएको हो।
कमजोर छानबिनका कारण परम्परागत आप्रवासन प्रक्रिया छल्न प्रयोग गरिएको भन्दै अब कांग्रेसले परिकल्पना गरेअनुसार प्रत्येक केसलाई व्यक्तिगत आधारमै मूल्यांकन गरिने जनाइएको छ।
परिवार पुनर्मिलनको चाहनाले राष्ट्रिय सुरक्षा, सार्वजनिक सुरक्षा तथा ठगी रोक्ने सरकारी दायित्वलाई ओझेलमा पार्न नहुने विभागको भनाइ छ। यी कार्यक्रमहरूमा पर्याप्त सुरक्षा जाँच नहुँदा आपराधिक वा ठगी गर्ने तत्वहरूले अमेरिका प्रवेश गर्न सक्ने जोखिम बढेको निष्कर्ष निकालिएको छ।
संघीय रजिस्टरमा प्रकाशित सूचनाअनुसार पारिवारिक पुनर्मिलन परोलअन्तर्गत अमेरिका प्रवेश गरेका व्यक्तिको परोल जनवरी १४, २०२६ सम्म मान्य भए पनि सो मितिमा स्वतः अन्त्य हुनेछ।
तर डिसेम्बर १५, २०२५ भित्र स्थायी बसोबास दर्ता वा स्थिति समायोजनका लागि निवेदन दर्ता भई जनवरी १४, २०२६ सम्म विचाराधीन अवस्थामा रहेको खण्डमा अन्तिम निर्णय नआएसम्म परोल मान्य रहनेछ।
यदि स्थायी बसोबाससम्बन्धी निवेदन अस्वीकृत भएमा सम्बन्धित व्यक्तिको परोल तत्काल अन्त्य हुनेछ र उनीहरूलाई अमेरिका छोड्न निर्देशन दिइनेछ। परोल अन्त्य भएसँगै सो आधारमा प्राप्त गरिएको रोजगार अनुमति पनि रद्द गरिने विभागले जनाएको छ।
वैधानिक हैसियत नरहेका व्यक्तिले तोकिएको मितिभन्दा अघि अमेरिका छोड्नुपर्नेछ। स्वेच्छाले फर्कन चाहनेहरूका लागि सीबीपी होम एपमार्फत जानकारी दिन सकिने व्यवस्था गरिएको छ। साथै योग्य व्यक्तिहरूका लागि प्रस्थान प्रोत्साहन, आर्थिक तथा यात्रा कागजात सहयोग र नागरिक जरिवाना माफीजस्ता सुविधा पनि उपलब्ध गराइने जनाइएको छ।















