साहित्यको साइनो
गण्डकीपुत्र
प्रायः साहित्यिक मानिस भावुक, कमलो मनको र आत्मीय हुन्छ । उदार मनका भएका हुनाले यी अरूको पीडामा आफ्नो पीडा देख्छ । उसले एक अर्कालाई भावनात्मक आत्मीयता व्यक्त गर्छ । साहित्यकारले अर्को साहित्यकार भेट्यो भने नजिकिन प्रयास गर्छ । कविहरूमा लैङ्गिक विभेद हुन्न ।
बरु आत्मीय दिल्लगी काव्यका माध्यमबाट आदान प्रदान हुन्छ । साहित्यकारहरूमा ईर्ष्या रहित प्रतिस्पर्धा हुन्छ । उसले भन्दा उत्कृष्ट प्रस्तुत गर्ने चाहना सधैँ रहिरहन्छ । लेखन पनि एक प्रकारको नशा हो । कवि साहित्यकारहरू भरसक साहित्यिक कार्यक्रम छोड्न चाहदैनन । कवितामा कुन जादुमय शक्ति हुन्छ कि काव्यमा डुबेको मानिस त्यही संसारको विचरणमा निमग्न हुन्छ ।
म सम्झन्छु झोराहाटमा सञ्चालन भएको गाउँमा कविता कार्यक्रम । यो कार्यक्रमले सानो गाउँ झोराहाटलाई देश, विदेशसम्म परिचित गरायो । धेरै कविहरूले त्यो मञ्चबाट कविता सुनाए । गाउँमा कविता कार्यक्रमको सुरुवात गर्ने चार कविहरू कविता र आख्यानमा अहिले पनि सक्रिय छन् । ज्योति जङ्गल, शुभ लक्ष्मी लम्साल, सीमा आभाष र खगेन्द्रा खुसी । ज्योति जङ्गल, सीमा आभाष र खगेन्द्रा खुसीका प्रकाशित कथा र उपन्यास म सम्म आइपुगेका छन् ।
शुभ लक्ष्मी लम्साल अर्को सङ्ग्रह प्रकाशनको अन्तिम चरणमा छ । मात्र कविता सुन्न त्यो कार्यक्रममा पाँचथर, इलाम, धनकुटा, सुनसरी, झापा र मोरङका विभिन्न ठाउँबाट कविहरू, साहित्यका अनुरागीहरू जम्मा हुन्थे । दिनभरिको समय त्यही चार कविका १६ कविता सुन्ने चाहनामा व्यतीत हुन्थ्यो । हामी पनि साहित्यिक कार्यक्रममा निम्तो पाएपछि राजधानी काठमाडौँ, पोखरा र बुटवल सम्मको यात्रा गर्थ्यौ । कार्यक्रममा विभिन्न क्षेत्रका कविहरूसँग भेट हुन्थ्यो र त्यो आत्मीय र सौहार्दपूर्ण हुन्थ्यो । त्यसैले पनि एक पटक भेट भएको कवि साहित्यकार सधैँको मित्र हुन्थ्यो ।
हामीले काठमाडौँमा भावक अभियान चलायौँ । नेपालमा पहिलो गजल वाचन प्रतियोगिता गर्यौँ । भक्तपुरको कटुन्जेमा भएको त्यही कार्यक्रममा भेटिए चर्चित गीतकार सुवासचन्द्र ढुङ्गेल जो सङ्गको मित्रता आज पर्यन्त जीवन्त छ । भक्तराज आचार्यले गाएको उनको गीत जति चोट दिन्छ्यौ देऊ मायालु सदाबहार अमर गीत बन्यो । त्यसै मेसोमा भेटिएका हुन पत्रकार बिष्णुहरि घिमिरे । जो अमेरिकामा बसेर समाज टाइम्स अनलाइन पत्रिका चलाइरहेका छन् र त्यो पत्रिकाका पाठक निकै सङ्ख्यामा रहेका छन् । चलचित्र निर्देशक, कवि, कार्यक्रम प्रस्तोता प्रकाश सायमीले परिकल्पना गरेको भावक अभियानबाट चिनिएका अनेकन मित्रहरू अहिले पनि सम्पर्कमा छन् ।
अर्को एउटा गजलको काम विराटनगरमा हामीले गर्यौँ । कार्यक्रमको संयोजनको जिम्मा मेरो थियो । करिब २५० कवि गजलकार भेला भएर गरिएको थियो । त्यस बेला नेपालका चिरपरिचित र नवोदित गजलकारहरू एकै ठाउँमा भेला भएर गजल संरचनाका विषयमा बहसका साथ, गजल वाचनको कार्यक्रम गरिएको थियो । २ दिन चलेको उक्त गजल महोत्सवमा नेपालका र शरणार्थीका रुपमा शिविरमा रहेका नेपाली भाषी भुटानी गजलकारहरू उपस्थित थिए । त्यही कार्यक्रममा भेट भएका कवि, गजलकार खेम रिजाल अहिले साहित्य परिषद् भुटान नामको साहित्यिक संस्थाको सचिव भएर काम गर्दैछन । उनले दर्जनौँ गीत रेकर्ड गर्नुका साथै आफैले गाएका छन् भने कतिपय गीतका भिडियोमा कलाकारको भूमिका निभाएका छन् ।
कवि साहित्यकारमा उमेरको भेद हुन्थ्यो । सम्बोधन गर्दा दाइ, भाइ या अरू साइनो लगाए पनि कविताको, साहित्यको कसिमा उ उत्तिकै महत्त्व र आत्मीयताको हकदार ठहरिन्थ्यो । कवितामा नवीन शिल्पको खोजी हुन्थ्यो । कतिको कलात्मक लेखन छ ध्यान सबैको त्यसैमा केन्द्रित हुन्थ्यो ।
बि सं. २०५४ सालमा मैले अग्रज साहित्यकार परशु प्रधान, कृष्णभुषण बल, विधान आचार्यको साथ लागेर बुटवलमा कवि गीता पन्थहरूले आयोजना गरेको साहित्यिक कार्यक्रममा सहभागी हुने अवसर पाएँ । गीता पन्थ अहिले अमेरिकाको न्यु योर्क तिर बस्छिन् । त्यस बेला म काठमाडौँ बस्थेँ । त्यो कार्यक्रममा विराटनगरबाट विवश पोख्रेलहरू आएका थिए । कार्यक्रम भव्य भएको थियो । मेरो पहिलो भेट त्यही समय गजलकार बुँद राना, घनश्याम न्यौपाने परिश्रमी, कवि रुद्र ज्ञवालीहरूसँग भयो । त्यो परिचय र चिनजान आज पर्यन्त जीवन्त छ । एक पटक मित्र कविराज भट्टहरूले महाकाली किनारको शहर महेन्द्र नगरमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेको थिएँ । त्यो प्रेमभाव र मित्रताले तानेर उनलाई झोराहाट सम्म ल्यायो।
फेसबुकबाट चिनजान भएकी आस्था केसीले दाङ आउनुस् भनिन । मैले कवि मिश्र बैजयन्तीको एकल कविता वाचनको प्रस्ताव गरेँ । उनले हुन्छ भनेपछि म मिश्र बैजयन्ती, प्रा.डा. भीम खतिवडा र कृष्ण उदासी दाङ पुग्यौँ । उर्लाबारीका कृष्ण उदासीको कविता सङ्ग्रह भर्खरै विमोचन भयो । आस्था केसी र उषा खरेलले कार्यक्रमको समन्वय गरेका थिए । दाङका परिचित अपरिचित थुप्रै कविहरूसँग भेट्ने अवसर मिल्यो । त्यही भेटिए दुई युवाहरू बिष्णु संन्यास र घनश्याम अस्तित्व । त्यस बेला भर्खर कवितामा बामे सर्दै गरेका यी दुवै कवि अहिले बेजोड कविता लेख्छन् । केही समय अगाडि घनश्याम अस्तित्वको कविता सङ्ग्रह मैले नै अमेरिका मगाएर यताका कविहरूमाझ पुर्याएको थिएँ ।
पाँचथरको साहित्यिक यात्राको कथा रोचक छ । पाँचथरमा भव्य साहित्यिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा जान त कुनै अवरोध भएन । कार्यक्रममा विभिन्न विषयमा छलफल थियो । म लगायत अरू तीन जनाको समूह थियो । छलफलको विषय थियो , कविताको शक्ति । हाम्रो बहसको समय थियो २ घण्टा । अन्य विविध विषयमा बहस भयो । कविता वाचनको कार्यक्रम पनि थियो ।
साँझमा भानुभक्त नेपाली सिनेमा देखाउने कार्यक्रम आयोजकले राखेका थिए । भोलिपल्ट घर फर्कन तयारी गर्दै थियौँ । लिम्बुवानको पूर्वाञ्चल बन्द कार्यक्रम रहेछ । तिनका कार्यकर्ताले गाडी चल्न नदिने भने ।हामी त कवि साहित्यकार हामीलाई किन रोक्नु हुन्छ भनेको, अरू कविहरूलाई हामी रोक्दैनौ तर कुलपति सरकारी मानिस हुन उनलाई जान दिन्नौ भने । अरूले अनेक प्रयास गरे तर काम लागेन । कुलपतिलाई छोडेर हामी विराटनगर फर्कियौँ । हामीलाई बाटामा आन्दोलनकारीले कतै पनि रोकेनन् । यस्तो अवस्थामा पनि कवि लेखकहरू यात्रा गरेर कार्यक्रममा पुग्दथे । त्यहाँको व्यवस्थापन प्रेम ओझाहरूले गरेका थिए । पछि भेट हुँदा त्यो घटनाको चर्चा हुने गर्थ्यो ।
अमेरिका आयपछि थुप्रै कविहरू सङ्ग सङ्गत गर्ने अवसर मिल्यो । बोस्टनमा मेरा पुराना परिचित कवि मित्र गोवर्धन पूजा, महेश्वर पन्त, लाल गोपाल सुबेदीहरू । भर्जिनियामा नारायण अधिकारी, पुष्पा खनाल, प्रकाश नेपालहरू, मेरिल्याण्डमा सुदिपभब्र खनाल, अग्रज साहित्यकार सीत पाण्डे, तारा पराजुली आदि ।
ओहायोमा वरिष्ठ साहित्यकार गंगा लामिटारे, गजलकार धर्मेन्द्र तिम्सिना क्षितिज, आर बि खड्का, समालोचक, कवि शिवलाल दाहाल, खेम रिजाल, लिला निशा आदि । पेन्सिलभेनियाको ह्यारिसबर्ग आफ्नो बसाई भएकोले यहाँका कवि साहित्यकार सङ्ग बढी सम्पर्क र हेलमेल भयो । त्यसो त यहाँका विभिन्न साहित्यिक संस्थाहरू साहित्यिक तथा जनचेतना जगाउने कार्यक्रम गरिरहन्छन् । ती प्राय कार्यक्रममा भरसक पुग्ने प्रयत्न गर्छु ।
साहित्यिक साइनोले उपस्थित भएर त्रिवेणी साहित्यिक मञ्च, मनदेखी मनसम्म, विश्व भुटानी साहित्यिक संगठन, क्रियामान, इन्ट्रा, साहित्य कला संगम ल्यानक्यास्टर जस्ता संस्थाका कार्यक्रममा सहभागी भइरहेको छु । यहाँ भाषा र साहित्यमा सक्रिय थुप्रै मित्रहरू छन् । यहाँका यी साहित्यिक गतिविधिमा सहभागी भएर धेरै कुरा सुन्ने र सिक्ने अवसर पाइएको छ । यसले आफूलाई पनि लेख्न र अध्ययन गर्न प्रेरित गरिरहेको छ । भक्त घिमिरे, बिष्णु लुइँटेलहरूको संगतले भुटान चिन्ने र बुझ्ने अवसर मिलेको छ । मदन दुलाल , केशब वैरागी माइलो, प्रेम घिमिरे, नवीन भट्टराई, नारद सुदामा आचार्य, पातलो अन्तरे, सुसन माझी, भरत तिम्सिना, देवका बराल, शेखर कोइरालाहरूको संगतले कविता र गजलको विस्तृति र गहिराई नाप्ने अवसर मिलेको छ ।
फुर्वा तामाङको प्रेम अपार छ मेरो निम्ति । म उनको साँझको पाहुना भएर घण्टौँ नेपाली गीत संगीतको विगत र वर्तमानमा डुबेको छु । यी बाँसुरी बाधक मित्र नेपाली गीत संगीतको राम्रो जानकारी राख्छन् । ल्यानक्यास्टरमा ओम घिमिरेको साहित्य प्रेम, त्रिविक्रम न्यौपानेका गम्भीर कविता र चोटिला लेख, कामना धिमालको आश लाग्दो साहित्यिक भविष्य दिपेश चापागाईँको सक्रियता यी सबैले मनमा अपनत्व महसुस हुन्छ ।
राजनीतिले मानिसलाई विभाजित गर्छ तर साहित्यले मनहरू जोड्ने काम गर्छ । साहित्यका रोचक र रमाइला अनेकन घटना परिघटनाको साक्षी बन्ने अवसर साहित्यले दियो । सायद साहित्यको विद्यार्थी नभएको भए । जीवनका यी रोचक र रमाइला विगत र वर्तमानबाट म टाढै हुन्थे होला । साहित्यमा सत्य जो छ त्यसको साथ दिन सकौँ । संसारका जहाँसुकैका मानिस हुन तिनका नैसर्गिक मानव अधिकार, स्वतन्त्रता र न्यायको पक्षमा उभिन सकौँ । जे लेख्छु मेरो कलमले त्यही सत्य लेख्न सकोस् । नारा र स्वर कल्पना भन्दा फरक जीवन र जगत लेख्न सकौँ । यही कामना छ ।















