६ दिनपछि बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचकमा ७.३९ अंकले बढेर २६१४.०७ अङ्कमा उक्लिएको छ । अघिल्ला ६ दिन निरन्तर रुपमा घटेको नेप्से परिसूचक आज भने बढेर बन्द भएको हो ।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.३० अंक, फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१० अंकले बढेको छ । आजको बजारमा नेप्से बढे पनि कारोबार रकम भने घटेको छ ।
सोमबार ४ अर्ब ६६ करोड ९५ लाख रुपैयाँको १ करोड १ लाख ४६ हजार ४०० कित्ता शेयर कारोबार भएको बजारमा यस दिन कुल ३३१ स्टकको ३ अर्ब ७५ करोड ५० लाख २७ हजार रुपैयाँको ८७ लाख ४२ हजार ८४ कित्ता शेयर किनबेच भएको छ । यो किनबेच ६२ हजार ६६५ पटकको कारोबारमा भएको हो ।
यस दिन १४८ स्टकको मूल्य बढ्दा १०१ स्टकको मूल्य घटेको छ भने ९ स्टकको शेयर मूल्य स्थिर रहेको छ । यस दिन तीन कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
स्वस्तिक लघुवित्त, श्रीनगर पग्रिटेक र माथिल्लो सैलुङ खोलाको शेयर मूल्य १० प्रतिशतले बढेको हो । यस्तै, स्वेतगंगा हाइड्रोको शेयर मूल्य पनि प्रतिकित्ता ८.७६ प्रतिशतले बढेर ४१९.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, यस दिन हिमस्टार ऊर्जा कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ३.८८ प्रतिशतले घटेर ९९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
कारोबार रकमका आधारमा यस दिन नाग्दी ग्रुप पावर लिमिटेड, लक्ष्मी सनराइज बैंक, राँधी जलविद्युत कम्पनी र युनिभर्सल पावर कम्पनीको शेयर सबैभन्दा बढी कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो ।















