सम्पादकीय : हामी पाँचौं वर्षमा लाग्यौ
सन् २०२१ डिसेम्बर १ बाट शुरु भएको समाज टाइम्स अनलाइन पत्रिका आजबाट पाँचौं वर्षमा प्रवेश गरेको छ। चार वर्षको यो निरन्तर यात्रा—समयसँग हिँड्दै, समाजसँग बोल्दै, प्रश्न गर्दै र उत्तर खोज्दै बितेको समय हो। छोटो लाग्न सक्छ, तर यो चार वर्ष अनेक अनुभव, संघर्ष र उपलब्धिहरूले बाँधिएको लामो र बहुमूल्य इतिहास हो।
समाज टाइम्स अमेरिकाबाट प्रकाशित हुने नेपाली भाषाको अनलाइन पत्रिका हो। हामीले हाम्रो सुरुवाती प्रतिबद्धता—”समय र समाजसँग सँगसँगै”—लाई केवल नारा मात्र बनाइएन, यो हाम्रो दैनिक पत्रकारिताको दिशा र पहिचान नै बन्यो।
भाग्य र परिस्थितिले बस्नेमान्छे जहाँ भए पनि, नेपाली भाषी समुदायको सूचना, आवाज र यथार्थलाई पहरेदार बनेर बोकेर हिँड्नु नै हाम्रो पत्रकारिताको मर्म हो।
अमेरिका सहित विश्वभरि प्रसारित भए पनि हाम्रा क्यामेरा र प्रश्नहरू विशेषगरी सेन्टर पेन्सिल्भेनिया र मेरिल्याण्डको बाल्टिमोरका सडक, समुदाय, कार्यक्रम र घरभित्रसम्म पनि पुगेका छन्। कहिले काँही हामी ओहायो र न्यु योर्क सम्म पुगेका छौ ।
हामी केवल टाढाबाट हेर्ने माध्यम होइनौँ—हामी प्रत्यक्ष समुदायमा पुगेर समाचार संकलन गर्ने प्रयासमा विश्वास राख्छौँ। यथार्थ देख्नु, सुन्नु र त्यसलाई पाठकसँग प्रमाण र संवेदनासहित प्रस्तुत गर्नु नै हाम्रो शैली रह्यो।
हामी समाज सँग सँगसँगै हिड्दै आएका छौ। पत्रकारिताभन्दा पर, हामीले समुदायलाई संवाद र बहसको मञ्च दिन पनि सुरु गर्यौँ—”समाज टाइम्स संवाद”।
यसमा हामी अमेरिकामा रहेका नेपाली र नेपाली भाषी भुटानी समुदायका दैनिकी, समस्या, अवसर, उपलब्धि र भावनालाई विषयवस्तु बनाउँदै आएका छौँ। समुदाय बोलेका छन्, हामीले रेकर्ड गरेका छौँ। उनीहरूको अनुभवले प्रवासी जीवनका अध्यायहरू उजागर गर्छ ।
र हामीले ती आवाजलाई डिजिटल कागजमा उतार्दै इतिहास थमाइरहेका छौँ।
आज, जब हामी पाँचौँ वर्षतर्फ अघि बढ्दैछौँ—हामी गर्वित छौँ, तर त्यत्तिकै सजग। किनकि समाचार केवल प्रकाशन होइन—जिम्मेवारी हो।
सत्य, तथ्य र समुदायसँगको निष्ठा नै हाम्रो हरेक लेख, रिपोर्ट र संवादको मेरुदण्ड हो। आलोचना आए स्वागत छ, सुझाव आए प्रेरणा। हामी सिक्दै, राम्रो बन्न खोज्दै, र अझ प्रामाणिक पत्रकारितामा उभिदै अघि बढ्नेछौँ।
पाँचौं वर्षको सुरुवातसँगै, समाज टाइम्स फेरि एउटै प्रतिज्ञा दोहोर्याउँछ—
हामी सधैं सत्य र तथ्यका पक्षमा रहनेछौँ। अमेरिकी भूमिमा रहेका नेपाली तथा नेपाली भाषी भुटानी समुदायको आवाज अझ बुलन्द बनाउनेछौँ। ‘समय र समाजसँग सँगसँगै’ हिँड्ने वाचा निरन्तर कायम राख्नेछौँ।
आजसम्म साथ दिनुहुने सम्पूर्ण पाठक, दर्शक, विज्ञापनदाता, समर्थक र सुभेच्छुक सबैलाई हृदयदेखि धन्यवाद। तपाईहरुको प्रेरणा नै हाम्रो शक्ति हो।
हामीलाई लाइक, फलो र सेयर गरि यसरी नै सहयोग कायम नै गरिदिनु होला । हाम्रो यात्रा जारी रहने छ।
सहयोगको लागि धन्यवाद


















