एक पटकको नेपाली सधैको नेपाली भन्ने नारा अब कांग्रेसको पनि : गगन थापा
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एक पटकको नेपाली सधैको नेपाली भन्ने भन्ने नारा अब कांग्रेसको पनि हुने बताएका छन्।
विश्व संजाल परिवारले भर्चुअल मार्फत शुक्रवार राति आयोजना गरेको नेपालको वर्तमान राजनैतिक अवस्था र नेपाली कांग्रेसको महाधिवेशन तथा भावी कार्यदिशा विषयक कार्यक्रममा कार्यक्रममा महामन्त्री थापाले सो प्रतिबद्धता व्यक्त गरेका हुन्।
‘संविधानको संशोधनको बहस चल्दै गर्दा नागरिकताको निरन्तरता एक पटकको नेपाली सधैको नेपाली भन्ने जुन कुरा तपाईँले उठाउनु भएको छ। अब नहिचकिचाईकन नेपाली कांग्रेस पार्टीले यसलाई आफ्नो नारा बनाउँछ।‘ महामन्त्री थापाले भने।
उनले एनआरएनहरूको नागरिकताको निरन्तरताको मुद्दालाई नेपालको स्ट्रेन्थ बनाउने बताए।
‘यो विषयलाई पनि अब नेपालको स्ट्रेन्थ त्यसलाई बनाउने गरिकन त्यो नागरिकताको सन्दर्भमा छुट्टै नागरिकता होइन कि एक नेपालको नागरिकता लिइसके पछाडि एक पटकको नेपाली सधैको नेपाली हुन पाउने गरिकन संवैधानिक अधिकारलाई नै सुनिश्चित गर्ने गरिकन अब त्यहाँसम्म जाने कुराको पनि पार्टीले नेतृत्व गरेर जानुपर्छ यसमा पनि काम गरौँ।‘ थापाले भने।
उनले प्रयास गर्दा गर्दै पनि आफूहरू सरकारमा भएको बेला गैर आवासीय नेपाली नागरिकता सम्बन्धी काम टुङ्गाउन नसकिएको बताए।
‘नेपाली कांग्रेसले नै हो संविधानमा गैर आवश्यक नेपाली नागरिकताको सन्दर्भमा त्यति खेर फरक मत राखेर यसलाई जोगाएर ल्याएको तर एउटा गल्ती स्विकार्नु पर्छ गैर आवश्यक नेपाली नागरिकताको विषय संविधानमा बन्यो तर त्यो संविधानलाई कार्यान्वयन गर्ने कानुन जुन गतिमा हामीले बनाउन पर्यो त्यो गतिमा बनाउन सकेनौँ।‘ महामन्त्री थापाले भने,’ अहिले अनफर्चुनेटली हामी काम गरिरहेका थियौँ परराष्ट्र मन्त्रालयले पनि काम गरिरहेको थियो म पनि यसभित्र एउटा टिमै बसेर काम गरिरहेको थिए। केही कुराहरू टुङ्गिन्थ्यो। थोरै यसमा समय लाग्यो।‘
महामन्त्री थापाले विदेशबाट मतदानको दिने विषयमा पनि आफूहरूले पहल गर्दै आएको बताए।
‘भोटिङ राइटको बारेमा नेपाली कांग्रेस पार्टीले त निर्णय नै गरेर यो १४ औँ महाधिवेशन पछाडि पार्टीको तर्फबाट दुइटा महामन्त्री निर्वाचन आयोगमा गएर लिखित निर्णय नै गरेर हामीले लगातार यसको एडभोकेसी गरेको हो।‘ महामन्त्री थापाले भने ‘बाहिरबाट मतदान गर्न पाउने कुराको सन्दर्भमा अस्ति पनि हामीले प्रधानमन्त्री जीलाई भेटेर पनि भन्यौँ।‘
कार्यक्रममा पूर्व मन्त्री तथा कांग्रेस केन्द्रिय सदस्य प्रदीप पौडेल, नेपाली कांग्रेसका पूर्व संसद डा. सुनिल शर्मा, नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री डा. यादव पण्डित लगायतले आ आफ्नो धारणा राखेका थिए।
कार्यक्रम विश्व सञ्जालका अध्यक्ष बिष्णु सुवेदीको सभापतित्वमा भएको थियो।















