नेपाली भाषा र संस्कृतिको संरक्षण: आगामी दशकका लागि प्रस्तावित दिशा
प्रस्तावना
साहित्य परिषद् भूटानले बिगत लामो समयदेखि नेपाली भाषा र साहित्यको संरक्षणका लागि गरेको योगदानप्रति हार्दिक धन्यवाद र सम्मान प्रकट गर्दै म कृष अधिकारी, भुटानी क्यानेडियन एसोसिएसन (बीसीए)को तर्फबाट यो सम्मेलनको सफलताको कामना गर्दछु ।
हामी विश्वका विभिन्न देशमा फैलिएका नेपाली मूलका भूटानी हौँ । हाम्रो नयाँ पुस्ता पश्चिमी देशको परिवेशमा हुर्किंदै गर्दा, हाम्रो प्यारो भाषा र संस्कृतिसँगको सम्बन्ध क्रमशः कमजोर हुँदै गएको महसुस भएको छ । यसै सन्दर्भमा, परिषद्ले आगामी १० वर्षका लागि तय गर्नुपर्ने कार्यदिशाका निम्ति व्यावहारिक सुझावहरु प्रस्तुत गर्न चाहन्छु ।
वर्तमान अवस्था र चुनौतीहरु
आज पश्चिमी मुलुकहरुमा रहेका भूटानी समुदायबीच नेपाली भाषा र संस्कृतिको प्रयोग घट्दै गएको देखिन्छ । घरपरिवारमा नेपाली बोल्ने चलन कम हुँदै गएको छ र यसैको प्रभावले नयाँ पुस्ताले नेपाली पढ्न र लेख्न कठिनाइ महसुस गरिरहेका छन् ।
हाम्रो कथा भूटानबाट शरणार्थी शिविर हुँदै तेस्रो देशसम्मको यात्रा हो । मातृभूमिमा हाम्रो मातृभाषा बोल्न, पढ्न, पोशाक लगाउन प्रतिबन्ध लाग्यो, नेपाली किताबहरु जलाइए, हाम्रो लिपि सिकाउने विद्यालयहरु बन्द गरिए । ती प्रतिकूल परिस्थितिहरूमा पनि, हाम्रा बुवा–आमाले आफ्ना बालबालिकालाई नेपाली अक्षर सिकाए अनि संस्कृतका श्लोकहरू कानमा फुक्दै धर्मका बिउ रोपे । त्यो समय हाम्रो भाषा अक्षरमा होइन, हाम्रा सासको धड्कनमा धड्किरहेको थियो ।
शरणार्थी शिविरमा आएपछि पनि नेपाली भाषा र संस्कृतिको सङ्घर्ष रोकिएन । बाँसको छाप्रो, धुवाँ–धुलो र भोकमरीको जीवनबीच पनि हाम्रा बुवा–आमाले साँझपख टुकी बालेर भए पनि अक्षर सिकाए । यही सिकाइ र भोगाई बीच जन्मियो साहित्य परिषद् भूटान । यही यथार्थबीच आज हामी नयाँ चुनौतीको सामना गर्दैछौं : विस्थापित परिवेशमा भाषा, शिक्षा र संस्कृतिको प्रतिरक्षा गर्नु
भविष्यका लागि सुझावहरु
क. भाषा संरक्षणमा केन्द्रित
साहित्य त तबसम्म बाँचिरहन्छ, जबसम्म हाम्रो भाषा र संस्कृति बाँचिरहेका हुन्छन्। त्यसैले परिषद्को उद्देश्य केवल लेखन र प्रकाशनमा सीमित नहोस; यसले नेपाली भाषाको मर्म जोगाउने, त्यसलाई फैलाउने, र नयाँ पुस्ताको हृदयमा मातृभाषाप्रतिको गर्व जगाउने अभियानका रूपमा अघि बढ्नुपर्छ।
यस उद्देश्यलाई साकार पार्न परिषद्को नाम र दायरा दुवैलाई समयअनुकूल पुनःपरिभाषित गर्नु आवश्यक देखिन्छ। उदाहरणका लागि, “साहित्य परिषद् भूटान” भन्दा “नेपाली भाषा तथा संस्कृति परिषद् – भूटान” वा “भाषा संरक्षण परिषद् भूटान” जस्ता नामहरूले परिषद्को कार्यक्षेत्रलाई अझ व्यापक, समावेशी र समयसापेक्ष बनाउँछन्। यसले केवल साहित्यकर्मीहरूलाई मात्र होइन, नेपाली भाषा बोल्ने, पढ्ने, वा माया गर्ने सम्पूर्ण समुदायलाई प्रतिनिधित्व गर्नेछ र परिषद्को पहुँच भाषा, शिक्षा, र संस्कृतिका हरेक तहसम्म विस्तार गर्न सहयोग पुर्याउनेछ।
ख. भूटानी सामुदायिक संगठनहरूसँग सहकार्य र साझा पाठ्यक्रम विकास
तेस्रो देश पुनर्स्थापनापछि भूटानी परिवारहरू रहेका प्रायः सबै शहरहरूमा स्थानीय भूटानी संगठनहरू स्थापित भएका छन्। परिषद्ले यस्ता संगठनहरूसँग सहकार्य र हातेमालो गर्दै एकीकृत नेपाली भाषा सिक्ने/सिकाउने पाठ्यक्रम विकास गर्ने नेतृत्व लिनु आवश्यक देखिन्छ। उक्त पाठ्यक्रममा नेपाली भाषाको आधारभूत व्याकरण, रमाइला बालकथाहरू, सरल कविता, हाम्रो मौलिक संस्कृति तथा खेलकुदमा आधारित सिकाइ सामग्री समावेश गरिनु पर्छ। साथै, यसलाई पश्चिमी देशहरूको पढाउने/सिकाउने शैलीअनुसार रूपान्तरण गरिनु पर्छ, ताकि यहाँ जन्मिएका वा सानै उमेरमा शिविर छोडेका बालबालिकाले सहज, आकर्षक र प्रयोगमुखी रूपमा सिक्न सकून्।
यसरी पाठ्यक्रम तयार पार्न सकिएमा, पश्चिमी देशहरूमा छरिएका भूटानी समुदायबीच भाषिक एकरूपता कायम गर्न मद्दत पुग्नेछ, साथै नयाँ पुस्तामा मातृभाषा सिक्ने उत्साह र अभिरुचि पनि बढ्नेछ।
ग. नेपाली भाषा शिक्षक उत्पादन र तालिम कार्यक्रमको सुरुवात
पछिल्ला वर्षहरूमा नेपाली भाषा सिकाउने योग्य शिक्षकहरूको कमी हुन थालेको भनाइहरू सुनिन थालेका छन्। हाल अध्यापन गरिरहेका धेरैजसो शिक्षकहरू पारम्परिक शिक्षण पद्धतिमा अभ्यस्त छन् र पश्चिमी देशहरूको आधुनिक पढाउने/सिकाउने शैलीसँग पर्याप्त परिचित छैनन्। त्यसैले परिषद्ले इच्छुक व्यक्तिहरू वा सामुदायिक संगठनहरूले सिफारिस गरेका स्वयंसेवकहरूलाई लक्षित गरी छोटा तालिम, अनलाइन कक्षा तथा व्यावहारिक कार्यशालाहरू सञ्चालन गर्न आवश्यक देखिन्छ।
यसरी तालिम प्राप्त शिक्षकहरूले पश्चिमी शिक्षण पद्धति, बाल मनोविज्ञान, तथा सहभागितामूलक सिकाइ विधिबारे व्यावहारिक ज्ञान हासिल गर्नेछन्। साथै परिषद्ले एकीकृत पाठ्यक्रम, शिक्षण सामग्री र मूल्यांकन प्रणाली तयार गरी विश्वभरका भूटानी संगठनहरूसँग साझा गर्नुपर्छ। यसो गर्न सके नेपाली शिक्षकहरूको दक्षता अभिवृद्धि, शिक्षणको गुणस्तर सुधार, र भाषा सिकाउने हाम्रो दीर्घकालीन लक्ष्यलाई स्थायी र प्रभावकारी बनाउन सकिनेछ।
यसका अलवा, विश्वविद्यालय तहमा पनि नेपाली भाषाबारे शैक्षिक अध्ययन र अनुसन्धान प्रोत्साहन गर्न आवश्यक छ। परिषद्ले नेपाल वा भारतका विश्वविद्यालयहरूसँग सहकार्य गर्दै अनलाइन माध्यमबाट नेपाली विषयमा प्रमाणपत्र वा डिग्री कार्यक्रम सञ्चालन गर्ने पहल गर्नुपर्छ, ताकि बढी विद्यार्थीहरूले नेपाली भाषामा औपचारिक शैक्षिक योग्यता प्राप्त गर्न सकून्। विद्यालय, कलेज वा विश्वविद्यालयसँग प्रत्यक्ष रूपमा संलग्न अग्रज व्यक्तित्वहरूले यी संस्थाहरूसँग समन्वय गरी नेपाली विषयलाई वैकल्पिक क्रेडिट पाठ्यक्रमका रूपमा समावेश गराउनका लागि निरन्तर वकालत र पहल गर्नुपर्छ।
घ. परिषद्को संरचना पुनर्गठन
परिषद्को कार्य केवल दुई–दुई वर्षमा हुने सम्मेलनमा सीमित नराखी, वर्षभरि जीवित, सक्रिय र विश्वव्यापी बनाउनु अत्यावश्यक छ। हालको संरचना र कार्यविधिले विश्वभर फैलिएका भूटानी समुदायलाई पर्याप्तरूपमा समेट्न सकेको देखिँदैन। त्यसैले परिषद्लाई पूर्ण रूपमा पुनर्संरचना गरी नयाँ दृष्टि र स्वरूपमा अघि बढाउन आवश्यक देखिन्छ।
पहिलो चरणमा हालको कार्यसमिति र विधानलाई खारेज (dissolve and restructure) गरी नयाँ संगठनात्मक ढाँचा निर्माण गर्नुपर्छ। प्रत्येक देश वा प्रमुख शहरमा रहेका भूटानी सामुदायिक संस्था (Community Cultural Association) बाट एक–एक जना प्रतिनिधि चयन गरी केन्द्रीय समिति (Central Committee) गठन गर्नुपर्छ। केन्द्रीय समिति परिषद्को नीति निर्माण, निर्णय निर्देशन र दीर्घकालीन रणनीतिक मार्गदर्शन गर्ने मूल निकाय हुनेछ। परिषद्को कार्यकारिणी बोर्ड (Board) सोही समितिबाट निर्वाचित हुने व्यवस्था हुनुपर्छ र केन्द्रीय समिति प्रति उत्तरदायी रहनु पर्छ। यसरी शक्ति र जिम्मेवारी स्पष्ट रूपमा विभाजन हुँदा परिषद् थप पारदर्शी, उत्तरदायी र समुदाय–केन्द्रित बन्नेछ।
बोर्डले आफ्नो कार्यक्षेत्रलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न उप–समितिहरू गठन गर्न सक्छ, जस्तै:
• साहित्यिक समिति — रचनात्मक लेखन, कविता, कथा, निबन्ध तथा प्रकाशनसम्बन्धी कार्यका लागि।
• भाषा–शिक्षा समिति — शैक्षिक पाठ्यक्रम विकास, शिक्षक तालिम, र समग्र रूपमा नेपाली शिक्षाको गुणस्तर अभिवृद्धिका लागि।
• संस्कृति समिति — सांस्कृतिक कार्यक्रम, परम्परा संरक्षण, र समुदाय–केन्द्रित सांस्कृतिक सहभागिताका लागि।
यस्ता उप–समितिहरूको सशक्त संयोजनले परिषद्लाई केवल साहित्यिक संस्था मात्र नभई, “नेपाली भाषा र संस्कृति संरक्षण परिषद्” को रूपमा विकसित गर्न मद्दत पुर्याउनेछ। थप रूपमा, परिषद्ले आफ्ना केन्द्रीय सदस्यहरू मार्फत नियमित रूपमा अनलाइन कविता, निबन्ध तथा अन्य रचनात्मक लेखन प्रतियोगिता सञ्चालन गर्न सक्नेछ। सोही आधारमा प्रत्येक वर्ष “भूटानी हामी” नामक वार्षिक साहित्यिक पत्रिका प्रकाशन गरी विश्वभरका नेपालीभाषी भूटानीहरूलाई एउटै साझा साहित्यिक मञ्चमा जोड्न सकिनेछ।
ङ. सम्मेलनको निरन्तरता र नयाँ संरचना
परिषद्ले अघिल्ला वर्षहरूमा आयोजना गर्दै आएका सम्मेलनहरू हाम्रो सामुदायिक एकता, पहिचान र निरन्तरता प्रतीक हुन्। तर अब यी सम्मेलनहरूलाई अझ उद्देश्यपूर्ण, समावेशी र प्रभावकारी बनाउने समय आएको छ। परिषद्ले हरेक दुई वर्षमा फरक–फरक शहरमा सम्मेलन आयोजना गर्ने परम्परालाई निरन्तरता दिनुपर्छ, ताकि विश्वका विभिन्न भागमा रहेका भूटानी समुदायहरू सक्रिय सहभागिताका माध्यमबाट आपसी सम्बन्ध सुदृढ गर्न सकून्।
तथापि, सम्मेलनको संरचना र उद्देश्यलाई समयसापेक्ष रूपमा पुनःपरिभाषित गर्न आवश्यक छ। आगामी सम्मेलनहरूलाई दुई प्रमुख भागमा विभाजित गर्न सकिन्छ:
१) नीतिगत छलफल र समूह–मन्थन सत्र: यस सत्रमा केन्द्रीय समितिका प्रतिनिधिहरू (जसले विभिन्न भूटानी सामुदायिक संस्थाहरूको प्रतिनिधित्व गर्छन्) सहभागी हुनेछन्। यहाँ भाषासंरक्षणमा भइरहेका हालका प्रयासहरू, देखिएका चुनौतीहरू, र आगामी वर्षहरूको कार्ययोजना सम्बन्धी विषयमा खुला प्यानल छलफल र समूहगत मन्थन हुनेछ। यस सत्रको मुख्य उद्देश्य भाषा, शिक्षा र संस्कृति सम्बन्धी दीर्घकालीन रणनीति र साझा प्रतिबद्धता निर्माण गर्नु हुनेछ।
२) सांस्कृतिक तथा प्रतिवेदन प्रस्तुति सत्र: यस सत्रमा परिषद्को वार्षिक प्रतिवेदन प्रस्तुत गरिनेछ, समुदायका लेखकद्वारा लेखिएका नयाँ कृतिहरूको औपचारिक लोकार्पण गरिनेछ, साथै कवितापाठ, गीत–संगीत र विविध साहित्यिक प्रस्तुति हुनेछ। नेपाली भाषा र साहित्यको क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान र कृतज्ञता प्रकट गरिनेछ। यसरी हरेक सम्मेलन केवल भेटघाट वा औपचारिकता सीमित नबनी, साझा सिकाइ, संवाद, प्रेरणा र सम्मानको सशक्त मंच बन्नेछ। परिषद्को नेतृत्वले यस परम्परालाई आगामी दशकका लागि स्थायी र संस्थागत रूप दिँदै “घुम्ती सम्मेलन (Rotational Convention)” को रूपमा स्थापित गर्नुपर्छ।
निष्कर्ष
नेपाली भाषा हाम्रो अस्तित्वको मेरुदण्ड हो, हाम्रो प्यारो संस्कृतिको आत्मा हो र हाम्रो मौलिक पहिचानको आधार हो । भाषा कमजोर भयो भने हाम्रो संस्कृतिको जग नै कमजोर हुनेछ । त्यसैले अब परिषद्को दृष्टि केवल साहित्य सिर्जना र प्रकाशन/विमोचनमा मात्र सीमित नभएर भाषा संरक्षण र पुस्तान्तरणको अभियानमा केन्द्रित हुन अत्यावश्यक छ । यस लक्ष्यलाई साकार बनाउन परिषद्ले आगामी दशकलाई “नेपाली भाषा संरक्षण दशक” (Decade for Nepali Language Preservation in Bhutanese Communities) घोषणा गरी स्पष्ट दिशा र रणनीति निर्धारण गर्नु पर्छ।
यदि हामी सबै मिलेर आजैबाट भाषालाई जोगाउने अभियानमा लाग्छौं भने अर्को पुस्ताले गर्बका साथ् यसो भन्नेछ :
“हामी नेपाली बोल्छौं, नेपाली पढ्न जान्दछौं र नेपाली भएरै बाँच्नेछौँ।”
जय भाषा, जय भूटान।
कृष अधिकारी
अध्यक्ष
भुटानी क्यानेडियन एसोसिएसन (बीसीए)
(पेन्सिल्भेनियाको ह्यारिसबर्गमा नोभेम्बर ८ तारिख सम्पन्न भूटानी साहित्य परिषद्को ११ औ सम्मेलनमा प्रस्तुत)
र यो पनि…
साहित्य परिषद् भुटानको ह्यारिसबर्ग सम्मेलन, दुई सज्जनको नोक-झोक,दाँतमा ढुङ्गो















