‘राजनीतिक नेतृत्व देश विकाश प्रति गम्भीर छैन’ : पूर्व मुख्य सचिव कोइराला
नारायण भण्डारी/
अस्टिन, टेक्सस / नेपाल सरकारका पूर्व मुख्य सचिव, विमल कोइरालाले आँफु मुख्य सचिव रहेका बखत तत्कालीन सरकारसँग देशको विकास सम्बन्धी एजेन्डामा एक दिन पनि छलफल चलाउन नसकिएको बताएका छन्।
टेक्ससको राजधानी अस्टिनको सेडर पार्क स्थित याक एण्ड यति रेस्टुरेन्टमा नेपाली समुदायसँग आइतबार आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले नेपालको राजनीतिक नेतृत्व विकास प्रति गम्भीर र उत्तरदायी नभएले देश पछाडि परेको बताएर
उनी सन २००२ देखि २००५ सम्म नेपाल सरकारको मुख्य सचिव थिए ।
नेपालमा हुने भ्रष्टाचारमा राजनीतिक नेतृत्व र कर्मचारीको मिलेमतो हुने गरेको भए पनि नीतिगत भ्रष्टाचार नियन्त्रण गर्न नेतृत्वकै भूमिका मुख्य रहने कोइरालाको भनाई थियो ।
नेतृत्वमा चेतनाको कमीकै कारण देश विकाशको चिन्ता नभएको स्मरण गराउँदै उनले भने, ‘मेरो कार्यकालमा सरकारको नेतृत्व सँग विकासका एजेन्डामा एक दिन पनि छलफल भएन ।’
कोइरालाले निर्वाचित नेतृत्व शक्ति र सत्तामा रहन कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका अधिकार हत्याउन खोज्ने प्रवृत्तिले लोकतान्त्रिक मूल्यमा चोट पुर्याएको बताए।
कोइरालाका अनुसार, राजनीतिक नेतृत्व जनताप्रति जबाफदेही नभएको र राष्ट्रिय स्वार्थ पूरा गर्ने लक्ष्य अभावले देश विकास सम्भव नभएको हो ।
कार्यक्रममा सहभागीहरूले राखेका जिज्ञासाहरूको जवाफ दिँदै पूर्व मुख्य सचिव कोइरालाले नेपालको राजनीतिक नेतृत्वमा अहिले भएका व्यक्तिहरू रिटायर्ड हुनु पर्ने धारणा राखे।
‘राजनीतिक पार्टीहरूले सस्तो लोकप्रियताका लागि तथ्य भन्दा बाहिर गएर जनता सँग बाचा गर्ने, घोषणा पत्र तयार गर्ने, आश्वासन बाँड्ने तर काम केही नगर्ने गरेकै कारण जनतामा निरासा बढेको छ । कोइरालाले भने, ‘बाचाको खेती फल्दैन जति गर्न सकिन्छ त्यति मात्र कबुल गरेको राम्रो हो।’
कार्यक्रममा उपस्थित नेपाली समुदायका सदस्यहरूले देशको सुशासन र नीति सुधारका विषयमा कुनै ठोस योजना बन्न नसक्नुमा निराशा व्यक्त गरेका थिए ।
कार्यक्रममा दिपक हुमागाईँले स्वागत मन्तव्य र नारायण पुरीले कोइरालाको व्यक्तित्व परिचय दिएका थिए।















