बुद्धवादका तीन आयाम एक चर्चा
गण्डकीपुत्र
हामी मानिसको जीवन अचम्मको लाग्छ । मानिस जहाँ जान्छ त्यहीँ उसले आफ्नो समाज निर्माण गर्छ । समाजमा विभिन्न मतहरू हुन्छन् द्वन्द्व चल्छ तर पनि उ समाजबाट अलग हुँदैन । मानिस नै त्यो प्राणी हो जसले सुखको खोजमा अनेक विकल्प खोज्छ । कोही देश छोड्छन् । कोही आफन्त परिवारबाट टाढा पुग्छन् । जहाँ गए पनि उ सङ्ग सम्झनामा रहने केही मानिस हुन्छन् । उसङ्ग हिँडेको , खाएको , खेलेको पछि सम्म स्मृतिमा रहिरहन्छ । त्यस्तै मित्रहरू मध्येका एक थिए पशुपति घिमिरे।
पशुपति घिमिरे सङ्ग सङ्गत भएको २५ वर्ष भएछ । विराटनगर , धरान , इटहरी , दमकतिरका साहित्यिक गोष्ठीहरूमा भेट हुन्थ्यो । त्यसताका उनी पत्रकारिता गर्थे । अलि सानो सानो कदका यी सबैका प्रिय थिए । मिजासिलो स्वभाव भएका पशुपति घिमिरे सँग करिब २२ बर्षपछी अमेरिकाको भर्जिनिया स्थित मनासस शहरमा भेट भयो ।
उस बेला देखेको सानो कदका यी त खाइलाग्दो भएछन् । झन्डै नचिनेको । उनैले बोलाएपछि पो छक्क परेँ । उस बेलाको मेरो सानो मित्र अहिले ज्यानले ठूलो भएछ । सामान्य कुरा भए । हामी प्रायः नेपालीको चलन छ , घर परिवारका बारेमा सोधपुछ गर्ने । के गर्छौ कसो गर्छौ भनेर कुराको मेलो बढाउने । हामीले पनि त्यसै गर्यौँ । त्यस बेला पूर्वी नेपालमा संघर्ष गर्दै गरेका र अहिले आफ्नो परिचय स्थापित गरिसकेका लेखक र कविका बारेमा विमर्श गर्यौ ।
धरान विराटनगरका कुरा भए । गजल कविताका कुरा भए । सोधेँ के छ लेखन । उनले २ वटा पुस्तक अङ्ग्रेजीमा प्रकाशित गरेका रहेछन् । डाइमेन्सन अफ बुद्धिजम र वाङ्डरिङ वर्ड्स नामका यी पुस्तक एमाजोनमा पाइने रहेछन् ।
नेपालीमा भने बुद्धवादका तीन आयाम लेखेका रहेछन् । छुटिने बेलामा बुद्धवादका तीन आयाम पुस्तक हातमा थमाई दिए । पुस्तक अध्ययन गरेपछि सोचेँ यी मेरा मित्र ज्यान मात्र गतिलो बनाएन छन् । अध्ययन पनि गतिलो बनाएछन । मैले सामान्य पत्रकारका रुपमा भेटेको पशुपति घिमिरे बुद्ध धर्म दर्शनको बारेमा गहिरो अध्येता भएछन् । बुद्धवादका तीन आयामले भगवान गौतम बुद्धका धर्म र दर्शनका बारेमा गहिरो विश्लेषण गरेको पाइन्छ । बौद्ध धर्मको उत्पत्ति त्यसको प्रचार र त्यस धर्मले विश्लेषण गरेको त्यस बेलाको समाजको चित्रण मिहिन ढङ्गले व्याख्या गरिएको छ ।
पुस्तकमा बौद्ध धर्म दर्शनको चर्चा गर्दा त्यो समयका अनेकन धार्मिक मतहरूका बारेमा पनि चर्चा गरेको पाइन्छ । यसरी हेर्दा यो पुस्तक तयारीका क्रममा पशुपति घिमिरेले विहङ्गम खोज र अनुसन्धानपछि पुस्तक लेखेको अनुमान गर्न सकिन्छ । पुस्तकमा आधारभूत बौद्ध शिक्षाको चर्चा गर्दै दुखका कारण तिनको स्वरूप र तिनको निवारणकारबारेमा अनेक अनुच्छेदमा व्याख्या गरिएको छ । दुखका कारणहरूलाई तीन भागमा विभाजन गरिएको छ ।
१. काम तृष्णा :- विभिन्न किसिमका विषयवस्तुको कामना गर्नु काम तृष्णा ।
२. भवतृष्णा :- सधैँ बाचिरहने तृष्णा भवतृष्णा
३.विभव तृष्णा :- सुख भोग्ने तृष्णा विभव तृष्णा ।
यी तृष्णाका कारण मानिस दुखित छ । पुस्तकमा बौद्ध साहित्यका अनेक रूपको चर्चा गरिएको छ । ती सबै साहित्यले भगवान बुद्धले स्थापित गरेका बौद्ध दर्शन र ज्ञानको चर्चा गरेका छन् ।
हामीले सामान्यतया भगवान बुद्धलाई शान्तिका दुत भनेर पड्यौँ । बुद्धका बहुआयामिक व्यक्तित्वका बारेमा यदि कसैलाई जान्ने इच्छा छ भने बुद्धवादका तीन आयाम अत्यन्त उपयोगी र सरल तरिकाले बुद्धलाई चिन्न र बुझ्न सकिने पुस्तक भएको छ । भगवान गौतम बुद्धको विहङ्गम महिमाले पाठक आफै उत्साहका साथ पुस्तकमा हराई रहन्छ । बौद्ध साहित्य विभिन्न भाषामा लेखिएको वर्णन पुस्तकमा समेटिएको छ । पहिलो हो पाली बौद्ध साहित्य । पाली भाषा बुद्ध कालिन जन भाषा थियो । त्यो समय यो भाषा कोसल र मगध प्रदेशमा व्यापक बोलीचालीको भाषा थियो र यसलाई मागधी भाषा पनि भनिन्थ्यो । यो पुस्तकका अनुसार पाली त्रिपिटकनै बौद्ध धर्मको पहिलो ग्रन्थ हो ।
त्रिपिटक बौद्ध धर्मको मूल ग्रन्थ हो । हिन्दुले वेद र उपनिषद्लाई मूल धर्मग्रन्थ मान्छन् । मुस्लिमले कुरानलाई र इसाइले बाइबल । पाली भाषामा बौद्ध साहित्य को विकास कसरी भयो । बुद्धका चेलाहरूले बुद्ध वाणी संस्कृत भाषामा मात्र प्रचार गर्न भनेपनी स्वयम् बुद्धले भने जसले जुन भाषा जान्दछ त्यसैमा प्रचार गर्न चेलाहरूलाई भनेको कुरा पुस्तकमा उल्लेख छ । यही पाली भाषामा लेखिएको त्रिपिटक लाई पाली त्रिपिटक भनिएको छ । यस भित्र अनेक उप शीर्षकहरू छन् ।
बौद्ध संस्कृत साहित्यमा भने विभिन्न विद्धानहरूको विविध मत रहेको कुरा यस पुस्तकमा उल्लेख गरेको पाइन्छ । भनिएको के छ भने बुद्ध साहित्यमा परम्परागत संस्कृत भाषाको शुद्धता छैन तसर्थ कसैले यो मिश्र संस्कृत , कसैले बौद्ध संकृत र कसैले गाथा संस्कृत भनेका छन् भने प्रो. एजर्टनले बौद्ध सङ्कर संस्कृत भनेका छन् । समय क्रम सङ्गै बौद्ध धर्मको प्रचार प्रसार विभिन्न साहित्यबाट भएको पाइन्छ । जस्तो महासाङ्गिक साहित्य ,सर्वास्तिवाद साहित्य , महायान साहित्य , बज्र यान साहित्य यी सबैले आआफ्नो मत अनुसारका बौद्ध धर्मको व्याख्या गरेको कुरा घिमिरेले पुस्तकमा उल्लेख गरेका छन् । यसरी बौद्ध धर्मका अनुयायीहरू अनेक मतमा विभाजित भएको बुझ्न सकिन्छ ।
लेखक पशुपति घिमिरेको यो पुस्तक बौद्ध मार्गीका लागि त उपयोगी छ नै बुद्ध धर्म र भगवान बुद्धलाई चिन्न र बुझ्न अत्यन्त उपयुक्त पठन सामग्री पनि भएको छ । पत्रकारिता स्वयम् एक खोज हो । नेपालमा हुँदा पत्रकारिता गरेको भएर पनि होला । यो पुस्तक तयार गर्न यिनले धेरै गुम्बाको अवलोकन गरेका छन् । राहुल सांकृत्ययन देखि नेपालका थुप्रै विद्धानहरूका लेख रचनाको अध्ययन , त्रिपिटकको अध्ययन र थुप्रै पुस्तकालयको चक्कर लगाएका छन् । खोज अनुसन्धानजस्तो गाह्रो विषयमा कलम चलाएर लेखक पशुपति घिमिरेले पाठकलाई यति ज्ञानोपयोगी पुस्तक दिन सफल भएकोमा हार्दिक बधाई । आगामी दिनमा पनि मित्र पशुपतिको कलम गतिशील बनिरहोस् शुभकामना ।
र यो पनि …
पेन्सिल्भेनिया देखि भर्जिनिया सम्मको एक साहित्यिक यात्रा : गण्डकीपुत्र












