हिमालयन तेक्वान्दो लुइसभिल केन्टकीमा ‘पहिलो ब्याच डिपुटी ब्ल्याक बेल्ट परीक्षा’
लुइसभिल, केन्टकी / नेपाली भाषीले केन्टकीमा सञ्चालन गरेको हिमालयन तेक्वान्दो लुइसभिलमा पहिलो ब्याच डिपुटी ब्ल्याक बेल्ट परीक्षा आइतबार सम्पन्न भएको छ।
तेक्वान्दो प्रशिक्षक कल्पना तिवारीले सन् २०२२ मा हिमालयन तेक्वान्दो लुइसभिल सञ्चालन गरेकी हुन्।
तिवारीका अनुसार अहिले ९० जनाले नियमित तेक्वान्दो प्रशिक्षण लिँदै आएका छन्।
‘समग्रमा ४० जनाको बेल्ट ग्रेडिङ गरेका हौ त्यसमा १५ जना डिपुटी ब्ल्याक बेल्टका थिए।’ समाज टाइम्स सँगको कुराकानीमा तिवारीले भनिन्, ‘अब नतिजा आए पछि आगामी मार्चमा हामी दीक्षान्त समारोह आयोजना गर्छौ।’
पेन्सिल्भेनियाको हिमालयन तेक्वान्दो ह्यारिसबर्गका संचालक तथा प्रमुख प्रशिक्षक नकुल शर्मा सहित अन्य प्रशिक्षकहरू कि स्टोन तेक्वान्दोका राम अधिकारी, हिमालयन तेक्वान्दो मेकानिसबर्गका ओम प्रकाश विष्ट र कल्पनाले खेलाडीहरूको परीक्षा लिएका थिए।
‘हाम्रो लागि यो एउटा केसेढुङ्गा नै हो।‘ समाज टाइम्स सँग कल्पनाले भनिन्, मैले नकुल गुरुबाट तेक्वान्दो सिकेकी हु, आज उहाँकै उपस्थितिमा मेरा चेलाहरूको परीक्षा भयो, तीन पुस्ता एक ठाउँमा भयौ।‘
परीक्षाका क्रममा खेलाडीको शारीरिक क्षमताको परीक्षण, आउट डोर दौड, स्पाइरिङ्ग र ब्रेकिङ्ग गराइएको थियो।
‘हाम्रा खेलाडीको कडा मेहनतले यो सम्भव भएको हो।‘ कल्पनाले भनिन् , ‘बेल्ट परीक्षण परीक्षामा खेलाडीहरूले स्प्यारिङ र आत्म-रक्षा प्रविधिहरूमा आफ्नो सीप प्रदर्शन गरे। यस्तै विद्यार्थीहरूका अनुशासन, सन्तुलन र आत्मविश्वासलाई पनि आधार बनाइएको थियो।‘
कार्यक्रममा फ्रीडम एडल्ट डे केयरका निर्देशक टीका अधिकारी, भुट्नीज कम्युनिटी अफ केन्टकीका उपाध्यक्ष जमुना खरेल, टिएस्का सितोरियो करातेका टेक राई, नृत्य प्रशिक्षक चन्द्र कला भुजेल, पत्रकार किशोर सापकोटा लगायत उपस्थित भएका थिए।















