युएससीआइएसमा आवेदन शुल्क इलेक्ट्रोनिक माध्यममा अनिवार्य
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ युएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (युएससीआइएस) ले अब देखि सबै प्रकारको आवेदन शुल्क अनिवार्य रुपमा इलेक्ट्रोनिक माध्यमबाट तिर्नु पर्ने व्यवस्था गरेको छ।
युएससीआइएसले नयाँ नियम अनुसार, आवेदन शुल्क क्रेडिट कार्ड वा डेबिट कार्ड प्रयोग गरेर फर्म जी-१४५० मार्फत, वा अमेरिकी बैंक खाताबाट डेबिट ट्रान्जेक्सन प्रयोग गरी फर्म जी-१६५० मार्फत तिर्न सकिने भनेको छ।
युएससिआइएसका अनुसार, यो कदमले सेवाग्राहीहरूलाई नगद, चेक वा मनी अर्डर लिएर कार्यालयमा जानु नपर्ने सुविधा दिनेछ।
साथै, यसले अमेरिकी सरकारको कार्यकारी आदेश नम्बर “अमेरिकाको बैंक खातामा आउने र जाने भुक्तानीलाई आधुनिकीकरण गर्दै” अनुसार संघीय सरकारका सबै भुक्तानी प्रणालीलाई डिजिटल माध्यममा रूपान्तरण गर्ने नीति सँग मिल्दोजुल्दो कदम भएको बताइएको छ।
युएससिआइएसका प्रवक्ता म्याथ्यु ट्रेगेसरले नयाँ नियमले सेवाग्राहीका काम छिटो हुने र ठगी तथा हराउने जोखिम हराउने बताए।
“संघीय सरकारका वित्तीय कारोबारलाई आधुनिक बनाउनु ट्रम्प प्रशासनको प्राथमिकता हो। अहिले पनि ९० प्रतिशतभन्दा बढी भुक्तानी चेक र मनी अर्डरमार्फत हुने भएकाले प्रक्रिया ढिलो हुन्छ र ठगी तथा हराउने जोखिम बढ्छ। यस कारण यो कदम एकदमै आवश्यक र समयानुकूल छ।” ट्रेगेसरले भने।
युइससीआइएसले अनलाइन फाराम दर्ता गर्ने सेवाग्राहीहरूलाई पहिलेझैँ आफ्नो युएससीआइएस खाता प्रयोग गरेर फाराम भर्न र शुल्क तिर्न सुझाव दिएको छ।
अनलाइन फारामहरू pay.gov प्रणालीमार्फत सुरक्षित रूपमा भुक्तानी गर्न सकिने बताइएको छ।
तर, केही विशेष अवस्थाहरूमा सेवाग्राही वा तेस्रो पक्षले कागजी रूपमा शुल्क बुझाउने छुट पनि पाउन सक्नेछन्। त्यसका लागि फर्म जी-१६५१ (कागजी शुल्क भुक्तानीमा छुट) हेर्न सकिनेछ।












