फुर्वा तामाङ, पश्चिम किल्ला चम्बा पो र मेरो तिहार
गण्डकीपुत्र
फुर्बा तामाङ बाँसुरी बाधक हो । भेट टिकटकमा भयो । दोस्ती भेट पछि । उसको बारेमा मैले जानेको के हो भने उ दिल सफा भएको तामाङ हो । म उसको बाँसुरीको फ्यान हुँ । भुटानमा जन्मिएको फुर्बा झन्डै बीस वर्ष नेपालमा शरणार्थी जीवन बिताएर पुनर्वासको क्रममा अमेरिका आएको हो । तिहारको लक्ष्मी पूजाको दिन फोन गर्यो । के गर्दैछौ बुढा । उ मलाई बुढा भन्छ म पनि उसलाई बुढा नै भन्छु । भने यसै बसेको छु । डा . सुमन ढकालले सम्पादन गरेको पश्चिम किल्ला चम्बा पो ! पढ्दै थिएँ । राहुल सांकृत्यायनले जनकलाल शर्मालाई लेखेका चिठीको नेपाली अनुवाद र राहुलका केही संस्मरणहरू समेटिएको यो पुस्तक काठमाण्डौबाट छोरा भेट्न ह्यारिसबर्ग आउनु भएका एक साहित्य अनुरागी रमेशानन्द वैद्यले उपहार दिनु भएको हो ।
फुर्बाले फोनमा भन्यो भोलि मेरोमा आऊ तिहारको रमाइलो गर्नु पर्छ । मैले हुन्छ भनेर फोन राखिदिएँ । पुस्तक हेर्दै थिएँ । राहुलाकी रसियन प्रेमिका इलिना नौवर्टोबना कोजिरेवस्कायाको बारेमा लेखिएको एक संस्मरण रहेछ । उनलाई सांकृत्यायन लोलो भनेर बोलाउँदा रहेछन् । यिनै लोलोको संस्कृत भाषा प्रतिको प्रेम र समर्पण लोभलाग्दो गरी यो लेखमा चित्रण गरिएको छ । अक्टोबर क्रान्तिभन्दा पहिले देखी रसियन विद्वानहरू संस्कृत भाषा प्रति आकर्षित भएका रहेछन् । यसै समूहकी लोलोले पनि राहुल सङ्ग संस्कृत सिकेकी रहिछन् । संस्कृतको अध्ययनका क्रममा यी शिक्षक र विद्यार्थी बिचमा प्रेम बस्यो र इगोर नामको एक छोरा पनि जन्मियो । इगोर सांकृत्यायनलाई हुर्काउन लोलोले धेरै कष्टकर जीवन व्यतीत गर्नु पर्यो । त्यस बेला रुसको नागरिकताको प्रमाण पत्रमा धर्मको ठाउँमा हिन्दु भनेर लेखिएको नागरिकता इगोरको मात्र थियो रे । रुसको अध्यापन पेशा छोडेर राहुल भारत फर्किए तर उनकी रसियन प्रेमिका भने प्रयत्न गर्दागर्दै पनि भारत आउन सकिनन् । भारतीय दैनिक पत्रीका हिन्दुस्तानमा प्रकाशित डा . नरसिंह दयालको संस्मरणको यो नेपाली अनुवाद पढ्दा संस्कृत भाषाको महत्त्व संसारमा कति रहेछ बुझ्न सकिन्छ ।
भारत उत्तर प्रदेश स्थित एउटा सानो पन्नाह भन्ने गाउँमा बि . स. १९५० मा जन्मिएका सांकृत्यायनको नाम राहुल पछि रहन गएको हो । उनको न्वारानको नाम केदारनाथ शर्मा थियो । बीस वर्षको उमेर तिर श्रीबैष्णब सम्प्रदायमा लागेपछि उनी केही समय दामोदरदास बाबा बने । उनका नेपाली मित्र थिए विद्वान इतिहासविद् , पुरातत्वविद , साहित्यकार जनकलाल शर्मा । जनकलाल शर्माको जन्म इलामको क्याबुङ भन्ने ठाउँमा बि . सं. १९८३ मा भएको थियो । करिब १३ वर्षको उमेरमा यिनले सांकृत्यायनलाई सिक्किममा पहिलो पटक भेटेका थिए । सांकृत्यायन भन्दा ३३ वर्ष कान्छा जनकलाल शर्मालाई उनी बारम्बार पत्र लेखी रहन्थे । यही कारणले सांकृत्यायनले २/३ पटक या त्यो भन्दा बढी पटक नेपालको भ्रमण गरेका थिए । एउटा कार्यक्रममा देवकोटालाई भेटेपछि उनले त्यस समयका भारतका चर्चित ३ कवि जयशंकर प्रसाद ,सुमित्रा नन्दन पन्त , र सूर्यकान्त त्रिपाठी निरालाको क्षमता देवकोटा एक्लैमा भएको भनेर लेख नै लेखे । यसले भारतीय विद्वानहरू छक्क परे भने नेपालीहरू खुसी भए ।
प्रसिद्ध विदुषी कमला सांकृत्यानसङ्ग उनको भेटको कथा पनि रमाइलो नै छ । राहुल लेखिरहन्थे र उनलाई एक जना टाइपिष्टको आवश्यकता थियो । राहुलले जनकलाललाई तिम्रा कोही चिनेका आफन्त भए कालिङ्पोङ तिर एउटा टाइपिष्ट खोजिदेउन् नि भने । जनकलालले आफ्ना कुनै परिचित मित्रलाई फोन गर्दा उनले कमला परियार नाम गरेकी एउटी केटी दस कक्षा पास गरेर बसेकी छन् उनी तयार छिन भनेर खबर पठाए । उनै कमला परियार पछि कमला सांकृत्यायन भइन । दस कक्षा पढेर बसेकी यिनी पछि पी एच डी गर्न सफल भइन । बाहुन कुलमा जन्मिएका सांकृत्यायन बौद्ध धर्मको अनुयायी भएपछि राहुल नामले चिनिएका थिए । उनले नेपाली मलुकी कमला सङ्ग विवाह गरे । त्यस बेला पानी नचल्ने जातकी भनिएकी कमलाको नेपाली लेखकहरू सङ्ग राम्रो सम्पर्क थियो ।
राहुलको राजनैतिक चेतना भने मार्क्सवादी थियो कि भनेर जनकलालले उद्धृत गरेका छन् । सिक्किममा हुँदा नै एक साँझ सांकृत्यायनका मित्र पण्डित शिवनाथ मिश्रले खाना के बनाऊ भात कि रोटी भनेर सोधेका थिए रे जवाफमा सांकृत्यायनले भनेका थिए रे , मैले त बर्मेक काजी कहाँ सुँगुरको मासु र भात खाएर आएँ त्यसैले भोजन गर्दिन । यिनलाई महापण्डित भनेर संसारले चिन्दछ । कैयौँ भाषाका ज्ञाता यिनी वास्तवमै महापण्डित थिए । आज यो पुस्तक पढ्दै जाँदा । मलाई सम्झना छ यिनका केही पुस्तिकाहरू प्रकाशित थिए । धर्म , राजनीति , समाज आदिका बारेमा लेखिएका । मैले २५ वर्ष अघि नै अध्ययन गरेको रहेछु । ती २०/२५ पेजका ३/४ वटा पुस्तिका बाटामा पुराना पुस्तक बेच्ने मानिसबाट २/३ रुपैयाँ नेपालीमा किनेको थिए । राहुल सांकृत्ययन अमेरिका बाहेक अन्य धेरै मुलुक घुमी हिँड्ने यायावर थिए । यिनले बौद्ध धर्म प्रचारमा उल्लेखनीय काम गरेका थिए । कमला नेपालीमुलकी भएकीले नेपाली भाषाका बारेमा राम्रो जानकारी राख्थिन । नेपाली लोक गीत र लोक जीवनमा उनको गहिरो अध्ययन थियो । यो पुस्तकले राहुल सांकृत्यायनलाई नजिकबाट चिन्ने अवसर प्राप्त भयो । रमेशानन्द वैद्य दाइ लाई धन्यवाद यो पुस्तक उपहार दिनु भएकोमा ।
भोलिपल्ट बिहान फुर्वाको निम्तोमा उसको घर गएँ । ढोकाबाट भित्र छिर्ने बित्तिकै दाहिने पट्टिको कोठामा भगवान बुद्धको प्रतिमा , ओममणि हुँ लेखिएका ध्वजा पताकाले सिँगारिएको कोठा , पानसमा प्रज्वलित दीप शिखा देख्दा मन शान्त हुने वातावरण । म उस्कोमा पुग्दा उ टि भिमा फुटबल हेरेर सोफामा ढल्किरहेको थियो । भाउजूले ढोका खोल्नु भएको थियो । म अगाडि उभिएँ उ केटाकेटीजस्तो रमायो । हामीले हात मिलायौँ र आत्मीयता साटासाट गर्यौँ । उमेरले हामी एकै छौँ । उ तामाङको छोरो अझै जवान देखिन्छ । म उसको अगाडि अलि बुढो देखिन्छु ।
कहिछिन सामान्य औपचारिक कुरा भए । मेरो एउटा गीत भर्खरै सार्वजनिक भएको थियो । उसले त्यो गीतका शब्द राम्रो लाग्यो भनेर मलाई अझ हौसला दियो । उसलाई सङ्गीतको ज्ञान छ । त्यसमा हुने आरोह अवरोह र कुन तालमा सङ्गीत गरिएको हो गीत सुनेर भन्न सक्छ । उसले खाजा खाऊँ भन्यो । उसको एक जना छिमेकी मेरो साथी थिइन ।
हामीले छ सात वर्ष अघि केही समय सङ्गै काम गरेका थियौँ । म त्यहाँ आएको थाह पाएर उनी पनि आइन । एक छिन नेपाल तिरको एक छिन अमेरिकी जीवनका बारेमा कुरा भए । उनी पनि गीत सङ्गीतका बारेमा चासो राख्छिन् । हाम्रो समाजका महिलाहरू गीत गाउन आनाकानी गरे पनि भजन भने गाउने प्रयास गर्छन् ।
यिनी पनि भजन गाउन अघि सर्छिन् । भजन कीर्तन गर्ने महिलाहरूको समूह नेपालमा जस्तै अमेरिकाका टेक्सस , सिकागो , पेन्सिलभेनिया , मेरिल्याण्ड , भर्जिनिया , न्यु हेम्सायर , ओहायो जस्ता बाक्लो नेपाली बसोबास भएका राज्यका विभिन्न शहरमा छन् । उनीहरू एकादशी या अन्य अवसरमा भजन कीर्तन गर्छन् । मैले निस्कन्छु भनेको फुर्वाले पर्ख छोराले पुर्याई दिन्छ म पनि जान्छु भन्यो।
म गाडी चलाउँदिन कार्यक्रममा जाँदा कहिले कुनै साथीले नभए उवर प्रयोग गर्छु । योर्क अलि पर छ । आउजाउ गर्न अलि समय लाग्छ तथापि ह्यारिसबर्गका कार्यक्रम विशेष साहित्यका छोड्न मन लाग्दैन । कुनै हिसाबले पुग्ने कोशिश गर्छु । फुर्वाको छोरो तयार भएपछि हामी निस्कियौँ । भोलि भाइटिका छ । टीका लाइदिने दिदी बहिनीहरू छैनन् । भोलि दिनभरि सांकृत्यायनका जनकलाललाई लेखेका बाँकी चिठी हेरेर दिन बिताउने कुरा गर्दै बेलुका ८ बजेतिर घर आइपुगियो । अमेरिकाको जीवन यसरी नै बिताइँदै छ ।
नोट :- राहुल सांकृत्यायनको प्रसङ्ग पश्चिम किल्ला चम्पा पो पुस्तकमा आधारित छ ।
र यो पनि…












