नेपाली हामी रहौँला कहाँ नेपाल नरहे
गण्डकीपुत्र
यस पटकको दशैं केही पुस्तक पढेर बित्यो । दशैमा सार्वजनिक कार्यक्रम पनि त्यति भएनन् । दशैंमा सामान्यतया भेटघाट र खानपिनमा मानिसको समय बित्छ । तिहार यसैपनि उज्यालोको पर्व । नाचगान देउसी भैलो गरेर मनाइन्छ । यसको सांस्कृतिक महत्त्व त एकातिर छदै छ । अर्को तिर नेपाली साहित्यका महान् साहित्यकार महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती । सांस्कृतिक रुपमा तिहार मनाउनेहरू दाजु बहिनी , दिदी भाइको भेटघाट र देउसी भैलोको रौनकले वातावरण नै उल्लासमय हुन्छ ।
मानिस देश छोड्न सक्दो रहेछ तर आफ्नो संस्कृति छोड्न नसक्ने रहेछ । नेपालमा कुनै संघ संस्थाले देउसीको मेलो पारेर सार्वजनिक काम गर्न आर्थिक सङ्कलन गर्ने उद्देश्यले तिहार पछि २/४ दिन पनि देउसी खेल्ने चलन कतै कतै पाइन्छ । नभए देउसी एक रात र भैलो एक रात खेलिन्छ । लक्ष्मी पूजाको दिन महिलाहरू भैली खेल्न समूह समूह बनाएर गाउँ डुल्दै हिड्छन ।
अहिले भैलीको चलन नेपालमा पहिले जस्तो उत्साहका साथ खेल्न छोडिँदै गएको छ । देउसी पनि पहिले जस्तो धूमधाम सङ्ग खेलिँदैन । देश छोडेर परदेशमा बसेका नेपालीहरू आफ्नो ठाउँ र परिवेश अनुसार देउसी भैलो रमाइलो पाराले मनाउने गर्छन् । संस्कृतिप्रतिको मोह र एकनासको जीवनशैली भन्दा पृथक् भएर भेटघाट र रमाइलो गर्न एक ठाउँमा भेला भएर बिदा र समय अनुकूल पारेर देउसी भैलो खेल्ने गर्छन् । यस पटक म अमेरिकाको पाँच वटा देउसी भैलोमा सहभागी भएँ । दुई वटा कार्यक्रम साहित्यिक थिए भने तिन वटा कार्यक्रम तिहारकै सन्दर्भ जोडेर शुभकामना आदान प्रदान र देउसी भैलो सहितका थिए ।
ह्यारिसबर्गको नजिकै रहेको ल्यानक्यास्टरमा त्यहीको साहित्यिक संस्था साहित्य कला सङ्गमले अक्टोबर १२ तारिख साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । महाकवि देवकोटा जयन्तीको सन्दर्भ पारेर आयोजना गरिएको कार्यक्रममा साहित्यका साथ गीत, नृत्य र देउसी भैलो प्रस्तुत गरेको थियो ।
यहाँ गजबले देउसी भट्याएर देउसी खेल्नुका साथै महिलाहरूले भैलो खेलेर रमाइलो गरेका थिए । देउसी र भैलो खेल्न लक्ष्मी पूजा र देउसी खेल्न गोवर्धन पूजा पर्खिएनन् । त्यहाँको संस्थाले आफ्नो समय अनुकूल पारेर कार्यक्रम आयोजना गर्यो । लक्ष्मी जयन्ती मनाउन महाकवि जन्मिएकै दिन पर्खनु परेन । त्यही दिन साँझ नेपाली समाज पेन्सिल्भेनियाले भेटघाट तथा देउसी भैलो कार्यक्रम आयोजना गर्यो । त्यहाँ विविध साङ्गीतिक प्रस्तुत गरिएको थियो । नेपालीहरू बिच एकता र सद्भावको मिलन हुने यस्ता कार्यक्रमले भाषा र संस्कृत जगेर्ना गर्न महत्त्वपूर्ण योगदान गरेको छ ।
अक्टोबर १८ तारिख ह्यारिसबर्गमा इन्ट्रा फाउन्डेसनले तिहार विशेष कार्यक्रम आयोजना गर्यो । साना नानीहरूको समूहले नेपाली हामी रहौँला कहाँ नेपालै नरहे बोलको गीत गाएर दर्शकलाई मन्त्र मुग्ध बनाएका थिए । २५ जना साना बालबालिकाको सामूहिक स्वरले कार्यक्रम स्थल गुञ्जायमान भएको थियो ।
ह्यारिसवर्गमा आयोजित कार्यक्रममा सो राज्यका राज्य सभासद् डेभ म्याड्सनले नेपाली जातिको तिहार चाडको शुभकामना व्यक्त गर्दै राज्यमा बसोबास गर्ने नेपाली जातिका मानिसहरूले गरेको व्यापार व्यवसाय एवं सामाजिक कार्यहरूले राज्यको विकासमा उल्लेखनीय योगदान दिएको बताए ।
स्थानीयसँगै देउसी भैलोमा सरिक भएका उनले सयौँको संख्यामा आआफ्ना छोरा छोरीसहित भेला भएर नेपाली जातिले यसरी चाड मनाउँदा आफू निकै प्रभावित भएको पनि बताएका थिए । इन्ट्रा फाउन्डेसनका सांस्कृतिक विभाग प्रमुख ओम गुरुङले आफू जहाँ भएपनी नेपाली भाषा र संस्कृतिको प्रवर्द्धनमा क्रियाशील रहने कुरा व्यक्त गरेका थिए ।
कार्यक्रममा मैले पनि मतब्य सहित कविता वाचन गरेका थिए । कार्यक्रममा विभिन्न जातीका सांस्कृतिक नृत्य प्रस्तुत गर्नुका साथै दार्जिलिङबाट भ्रमणका क्रममा अमेरिका आएका गायक महेश शिवाले गीत गाएका थिए । कार्यक्रममा इन्ट्रा फाउण्डेसनका तर्फबाट सी एम भट्टराइले सबैलाई धन्यवाद ज्ञापन गरेको थिए । सव्क्वेहाना शहर र स्वेतारा शहरका कमिस्नरहरूको उपस्थिति थियो ।
अक्टोबर १९ तारिख ह्यारिसबर्गमा त्रिवेणी साहित्य मञ्चले देवकोटा जयन्तीको अवसरमा एक काव्य गोष्ठीको आयोजना गर्यो । मञ्चका अध्यक्ष केशब वैरागी माइलोको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य ओम घिमिरेले गरेका थिए । नकुल शर्माले हिमालयन तेक्वान्दोको तर्फबाट शुभकामना मन्तव्य राखेका थिए भने समाजसेवी एवम् व्यावसायिक व्यक्तित्व टि बि गुरुङले साहित्य मञ्चले भाषा र साहित्यको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
इन्दिरा प्याकुरेल , मिना आचार्य ,गण्डकीपुत्र (म आफै) ,आयुष चापागाईँ , अनुषा चापागाईँ , दिव्या घिमिरे , दिपा घिमिरे , आयुषा चापागाईँ लगायतले देवकोटा सम्बन्धी कविता सुनाएका थिए । मञ्चका उपाध्यक्षले देवकोटाको समग्र परिचय गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव नाराद सुदामा आचार्यले गरेका थिए ।
अक्टोबर १९ तारिख नै साँझ ४.०० बजे देखी ह्यारिसबर्ग , मेकानिसबर्ग, योर्क, ल्यानक्यास्टर क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले देउसी भैलो र साङ्गीतिक कार्यक्रमको आयोजना गरेका थिए । इन्ट्रा फाउन्डेसन सङ्ग सम्बन्धित कलाकारहरूले र साहित्य कला सङ्गमका कलाकारको नृत्य प्रस्तुत गरेको कार्यक्रममा कलाकार विकास घले , मुस्कान बलम्पाकी साङ्गीतिक प्रस्तुति दिएका थिए ।
कविहरू गण्डकीपुत्र , त्रिविक्रम न्यौपाने , भगी फुयाँल , विकास थापा लगायतले कविता प्रस्तुत गरेको कार्यक्रममा रवि सापकोटा , मिना ज्ञवाली , अभिषेक थापा , अनु दाहाल , माया भट्टराई , इन्दिरा अधिकारी लगायत सहभागीले देउसी भैलो खेलेका थिए ।
कार्यक्रममा निशा गुरुङ, ज्ञानु गुरुङको समूहले दोहोरी गीत गाएर रमाइलो गरेका थिर । रमेश लामिछाने , यदु बन्जरा , रूपक घिमिरे , अभिषेक थापा , मुकुन्द ओझाले सहजीकरण गरेका थिए । दिपक सापकोटाले धन्यवाद मन्तव्य दिएको कार्यक्रमको सञ्चालन कवि नवीन भट्टराइले गरेका थिए ।
ह्यारिसबर्ग डाउन टाउनमा सञ्चालित माउन्ट एभरेष्ट रेस्टुरेन्टले कार्यक्रम स्थलको व्यवस्थापन गरेको सो कार्यक्रममा रेस्टुरेन्ट संचालक श्री पुन, अर्का व्यवसायी दिपकजङ्ग विश्वकर्माको सक्रिय सहभागिता थियो ।
तिहारको अवसर पारेर अमेरिका विभिन्न राज्यमा देउसी भैलो , महाकवि देवकोटा जयन्ती अत्यन्त उत्साहका साथ मनाएर अमेरिका नेपाली आवाज गुञ्जायमान बनाएका थिए ।
र यो पनि…












