पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा मनाइयो लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको ल्यानक्यास्टरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्म जयन्ती मनाइएको छ।
लक्ष्मी प्रसाद देवकोटाको जन्म तिहारको लक्ष्मी पूजाको दिन भएको हो। उनीको जन्म सन् १९०९ नोभेम्बर १२ तारिख (वि.सं. १९६६)मा कात्तिक २७ गते औशीका दिन काठमाडौँको डिल्लीबजारमा पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीको साइँलो छोराको रुपमा भएको हो।
देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवात गरेका थिए । उनको निधन सन् १९५९ सेप्टेम्बर १४ तारिखमा भएको थियो।
देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चार वटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी मानिन्छन्। उनले मुनामदन, सुलोचना, शाकुन्तलजस्ता अद्वितीय कृतिहरू लेखेका छन्। विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन्।
साहित्य कला सङ्गमको आयोजनामा आइतबार फ्रुड्फिलपाइकमा महाकवि देवकोटाको जन्म जयन्ती विविध कार्यक्रमका साथ मनाइएको हो।
सङ्गमका सदस्य ओम घिमिरेले समय व्यवस्थापनका कारण केही अगाडि लक्ष्मी जयन्ती मनाउन परेको बताए।
‘ठ्याक्कै त्यही दिनमा जन्म जयन्ती मनाउनका लागि विषेश गरी बालबालिकाहरूको स्कुलले हामीलाई अप्ठेरो पर्छ।’ घिमिरेले भने, ‘हाम्रो कार्यक्रममा बालबालिकाहरूको सहभागिता होस भन्ने हो, हामीहरू पनि नियमित काममा जानु पर्ने हुन्छ। त्यस कारण अमेरिकामा कुनै पनि जन्म जयन्ती तथा चाड पर्वका सामूहिक कार्यक्रम आसपासका शनिवार वा आइतबार पारेर मनाइने गरिन्छ । हामीले पनि त्यसै गरेका हौ।’
कार्यक्रममा बीस वर्ष मुनिका लगभग पचास जना बालबालिकाले आफ्नो प्रस्तुति दिएका थिए ।
बालबालिकाहरूले झन्डै चार घण्टा सम्म कविता वाचन, गीत गाउनका साथै नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए। तीन दर्जन बालबालिकाको सामूहिक नृत्यले कार्यक्रमलाई झन् रोचक बनाएको थियो।


कार्यक्रममा महाकवि देवकोटाको जीवनीका बारेमा पनि चर्चा गरिएको थियो । कार्यक्रममा स्थानिय महिलाहरूले भैली गीत गाएका थिए भने सहभागी सबै जना देउसीमा सहभागी भएका थिए ।

पुरुषहरूले पनि देउसी खेलेका थिए। ओम घिमिरे र दिपेश चापागाईँले देउसी भट्ट्याएका थिए। गायक तथा सङ्गीतकार दावा तामाङले गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा त्रिवेणी साहित्य मञ्चका उपाध्यक्ष प्रेम घिमिरेले कविता वाचन गरेका थिए। यस्तै कार्यक्रमका अर्का आकर्षक थिए युवा बाँसुरी वादक निश्चल कडरिया । यस्तै भगि फुयाँलले बाँसुरीको धुन सँग आमा कविता सुनाएका थिए।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार गण्डकीपुत्रले नेपाली भाषा र साहित्यका क्षेत्रमा बालबालिकाहरूको यस प्रकारको सहभागिताले आफू उत्साहित भएको बताए। उनले आगामी दिनमा हुने यस प्रकारको कार्यक्रममा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

साहित्य कला सङ्गमका संरक्षक हेम धितालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कवि त्रिविक्रम न्यौपानेले गरेका थिए ।
साहित्य कला सङ्गमले स्थापना पछि ल्यानक्यास्टरमा दोस्रो पटक कार्यक्रम आयोजना गरिएको हो।

संस्थाका संयोजक त्रिविक्रम न्यौपानेले आफूहरूले सोचै अनुसार नै कार्यक्रम सफल भएको बताए।
‘हाम्रो संस्थाको उद्देश्य नेपाली भाषा र साहित्यको संरक्षण र प्रवर्धन गर्ने हो, यहाँ जन्मी हुर्किएका बालबालिकाहरूलाई यस कार्यमा सहभागिता गराउनु हो।’ कार्यक्रम पछि न्यौपानेले समाज टाइम्स सँग भने,’ त्यस कारण हामीले बालबालिका लक्षित कार्यक्रम शुरु गरेका हौ। ‘


















