‘एकता महाधिवेशनको म्यान्डेटको आधारमा मात्रै एनआरएनएमा एकता’

Getting your Trinity Audio player ready...
|
काठमाडौँ – सर्वोच्च अदालतको परमादेश अनुसार आयोजित एकता महाधिवेशनबाट निर्वाचित महेश श्रेष्ठ नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए) ले कानुनी तथा साङ्गठनिक आधारमा संघको विधान, परम्परा र लाखौँ गैर आवासीय नेपालीहरूको भावना बमोजिम एकता प्रक्रिया अगाडी बढाइने स्पष्ट पारेको छ।
संघको स्थापना दिवस (११ अक्टोबर) को अवसरमा एक विज्ञप्ति जारी गर्दै संघले सर्वोच्च अदालतको परमादेश अनुरूप गत मे महिनामा काठमाडौँमा आयोजित एकता महाधिवेशनको म्यान्डेटलाई नै कमजोर पार्ने काम मान्य नहुने पनि जनाएको छ।
संघका प्रवक्ता गंगाधर गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा संसारभरि फैलिएका नेपालीहरूलाई एकताको सूत्रमा बाँधेर मातृभूमिको सेवामा जुट्ने पवित्र उद्देश्य लिएर गैर आवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको २२ वर्ष पुरा भएको उल्लेख छ।
“एक पटकको नेपाली सधैँको नेपाली” भन्ने मूल मन्त्रको मर्म अनुसार यस अवधिमा प्रवासमा रहेका नेपाली समुदायको सेवाका साथै नेपालको विकास र उन्नतिका लागि विभिन्न क्षेत्रमा लगानी तथा सामाजिक सेवामूलक दर्जनौँ परियोजनाहरू सम्पन्न भएका छन्। सन् २०१५ को महाभूकम्प होस् वा कोभिड १९ महामारी, संसारभरि रहेका नेपालीहरूले मातृभूमिको घाउमा मल्हम लगाउन सक्दो योगदान गरेका छन्, विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा नेपालमा हालै भएका हिंसात्मक गतिविधिप्रति दुख व्यक्त गर्दै भविष्यमा यस्ता घटना हुन नदिन सजग र संयमित हुन सबै पक्षलाई संघले अपिल गरेको छ ।
“यस विषम परिस्थितिमा गैर आवासीय नेपाली संघमा एकताको विकल्प छैन। सम्मानित सर्वोच्च अदालतको परमादेश अनुरूप गत मे महिनामा सम्पन्न संघको एकता महाधिवेशनबाट विधिवत् निर्वाचित कार्यसमितिले महाधिवेशनमा छुटेका साथीहरूलाई समेत समेटेर लैजान आह्वान गरिसकेको छ। उच्चस्तरीय वार्ता समितिले त्यसको लागि पहल पनि गरिरहेको छ,” प्रवक्ता गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
“त्यसका लागि संघको सचिवालय तत्काल हस्तान्तरण गर्नुका साथै सम्पूर्ण मुद्दा मामिला फिर्ता लिई एकताको वातावरण बनाउन हामी बद्री केसी पक्षलाई आह्वान गर्दछौँ। कानुनी तथा साङ्गठनिक आधारमा संघको विधान, परम्परा र लाखौँ गैर आवासीय नेपालीहरूको भावना बमोजिम एकता प्रक्रिया अगाडी बढाउनु पर्छ भन्नेमा हामी दृढ छौ। एकताको नाममा एकता महाधिवेशनको म्यान्डेटलाई नै कमजोर पार्ने काम कहीँ कतैबाट हुनु हुँदैन भन्ने पनि हामी स्पष्ट पार्न चाहन्छौँ। संघको स्थापना दिवसको अवसरमा संघका संस्थापक तथा अग्रजहरूप्रति सादर नमन गर्दै संघका सम्पूर्ण सदस्य तथा प्रवासी नेपाली समुदायमा शुभकामना व्यक्त गर्न चाहन्छौँ,” विज्ञप्तिमा भनिएको छ।