शहीद श्रीयमका बुबा गणेश भन्छन् : ‘शहीद परिवार एक ठाउँमा जुटौँ, सिंहदरबार जाऔँ’

Getting your Trinity Audio player ready...
|
काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएका १९ वर्षीय श्रीयम चौलागाईंका पिता गणेश प्रसाद चौलागाईंले शहीद परिवारलाई संगठित हुन आह्वान गरेका छन् । उनले नेपाल न्यूज बैंकसँग कुरा गर्दै शहीद परिवारका सबै सदस्यहरूलाई एकजुट भई साझा आवाज उठाउन आग्रह गरेका हुन् ।
‘अब हामी शहीद परिवारका सबै सदस्यहरू एक ठाउँमा जम्मा हुनुपर्छ,’ चौलागाईंले भने, ‘हामीले सबैको पीडा सुनौँ, छलफल गरौँ र एउटा समिति गठन गरौँ । कोही सक्षम व्यक्ति छन् भने नेतृत्व गरौँ, तर न त जेनजीको पछि लागौँ, न सरकारको ।’
उनका अनुसार अबको आन्दोलन वा मागहरूको नेतृत्व शहीद परिवार आफैले सम्हाल्नुपर्छ । ‘हामी आफैँले तय गरौँ कि हाम्रो माग के हो, त्यसपछि सिंहदरबार जाऔँ, मन्त्रीहरूलाई भेटौँ, अनि हाम्रो आवाज राखौँ । सरकारले नसुने सिंहदरबार अगाडि धर्ना बस्न तयार हौँ,’ उनले भने ।
चौलागाईंले अहिलेको सरकारलाई अघिल्ला सरकारहरूसँग तुलना गर्दै भने, ‘सरकारले शहीदको आवाज सुन्दैन अन्तरिम सरकार पनि पहिलेको जस्तै हो ।’
उनले जेनजी आन्दोलनको नेतृत्वसम्बन्धी अन्योल हटाउन पनि आग्रह गरे । ‘पहिलो नम्बरमा स्पष्ट हुनुपर्छ, जेनजीको आधिकारिक नेतृत्व को हो ? त्यो जेनजीले नै स्पष्ट पार्नुपर्छ,’ चौलागाईंले भने ।
उनले थपे, ‘अब देश बनाउने काम सबै मिलेर गरौँ । युवाहरूले रोजगार पाउनुपर्छ । तर सरकारको पहिलो प्राथमिकता शहीद परिवार हुनुपर्छ । जसको रगत बग्यो, पहिला उनीहरूलाई खुसी बनाउनु सरकारको कर्तव्य हो ।’
चौलागाईंले भोलि असोज १८ गते, शनिबार बिहान १० बजे शहीद परिवारका तर्फबाट सिंहदरबार जाने कार्यक्रम रहेको जानकारी पनि दिए । साथै सबै शहीद परिवारका प्रतिनिधिहरूलाई पनि सिंहदरबार अगाडि भेला हुन आग्रह गरेका छन् ।