अमेरिकामा बडादशैंको शुभसाईत बुधवार कि बिहीवार ? कुन दिन मनाउदा राम्रो ?
ज्योतिष पण्डित राजेन्द्र खनाल
भर्जिनिया/ बडादशैंको टीकाको शुभसाईत अमेरिका तथा क्यानडाको लागि बुधवार अक्टोबर १ तारिख कि बिहीवार अक्टोबर २ तारिख गर्ने भन्ने विषयमा धेरै जनालाई दोधार भएको छ र यो प्रश्न प्राय धेरैको मनमा उब्जिरहने प्रश्न हो ।
शुभसाईत ( Auspicious Time) भन्नाले कुनै पनि धार्मिक, सामाजिक वा व्यक्तिगत कार्य सुरु गर्न उपयुक्त समय भन्ने बुझिन्छ । अर्को अर्थमा यसलाई दुई तरिकाले बुझ्न सकिन्छ –
शुभ (शुभ समय) → राम्रो, मंगलमय, सफल र अशुभता रहित समय ।
साईत → ग्रह–नक्षत्र, तिथि, वार, योग, करण आदिको आधारमा पण्डित वा ज्योतिषीले गणना गरेर निकालिएको कार्य आरम्भ गर्न उचित क्षण । त्यसैले शुभसाईत भन्नाले विवाह, बसाई–सराई, व्यापारको सुरुआत, पूजा, व्रत, घर–जग्गा किनबेच, नवनिर्माण, नामकरण जस्ता महत्वपूर्ण काम सुरु गर्न सफल र मंगलमय हुने समय हो। यसलाई मुहूर्त पनि भनिन्छ ।
बडादशैंको शुभसाईत कसरी निकालिन्छ ?
बडादशैं (दशैँ) को शुभसाईत भनेको मुख्यतः टीका र जमरा लगाउने उपयुक्त समय हो । यसलाई प्रायः “टीका लगाउने शुभसाईत” भनेर भनिन्छ।
बडादशैंको शुभसाईत निकाल्ने प्रक्रिया
१) तिथि निर्धारण
टीका लगाईदिने दिन सधैं विजया दशमी (दशमी तिथि) मा पर्छ।
दशमी तिथि अष्टमीको मध्यरातपछि सुरु भएर नवमी पार गर्दै दशमी दिनसम्म रहन्छ।
पञ्चाङ्ग अनुसार दशमी कुन समयदेखि कुन समयसम्म रहन्छ भनेर निर्धारण गरिन्छ।
२) सूर्योदयको आधार
साईत सूर्योदयपछि दशमी तिथि अवशिष्ट भएको समयबाट मात्र लागू हुन्छ।
यदि दशमी तिथि सूर्योदयअघि सकिएर एकादशी परेको छ भने, दशैँको टीका अघिल्लो दिन (नवमी) मा गर्नुपर्छ भन्ने परम्परा छ ।
३) ग्रह–नक्षत्र विचार
दशमी दिनको नक्षत्र, योग र करण पनि ज्योतिषीय पण्डितहरूले हेर्छन् । प्रायः बिहानको मध्यान्हतिर शुभ मानिन्छ ।
तर असहज अवस्थामा (जस्तै विदेशमा, वा दशमी सूर्योदयअघि सकिने अवस्था) → वैकल्पिक साईत घोषणा गर्न सकिन्छ ।
४) परम्परागत समय
नेपालमा पण्ञ्चाङ्ग निर्णायक समितिले प्रत्येक वर्ष आधिकारिक टीकाको शुभसाईत तय गर्छ।
उदाहरण: बिहान १०:०२, १०:३६ वा ११:३५ जस्ता सटीक मिनेट–सेकेन्डसहित घोषणा हुन्छ, यो समयलाई सबैले सर्वश्रेष्ठ साईत मान्छन ।
५) व्यावहारिक मान्यता
यद्यपि “साईतमात्रै उत्तम हो, बाँकी अशुभ हुन्छ” भन्ने चांहि होइन तर कुनै पनि कार्य शुभसाईतमा गर्दा अवस्य फलदायी हुन्छ ।
दशमी तिथि रहुञ्जेल जुनसुकै बेला पनि टीका लगाउन मिल्छ ।
डिसी / भर्जिनिया (Washington, D.C. क्षेत्र) को लागि दशैं टिका लगाउने शुभ समय यस वर्ष ०१ अक्टोबर २०२५ बिहान ११:३५ AM भनिएको छ ।
तर साईतको समयलाई “अधिक शुभ र मंगलमय” मानिन्छ ।
तर
विदेशमा परिवारका सबै सदस्यहरुको विदा मिलाउन सकिएन तोकिएको शुभसाईतमा भने के गर्ने ?
नेपालमा त आधिकारिक शुभसाईत पञ्चाङ्ग निर्णायक समितिले घोषणा गर्छ, तर विदेशमा बस्दा सबै परिवारको समय र विदा मिलाउन गाह्रो हुन्छ।
यस्तो अवस्थामा परम्परा अनुसार के गर्ने भन्ने प्रमुख कुरा हुन आउॅछ –
१) दशमी तिथि रहुञ्जेल
दशमी तिथि रहुञ्जेल जुनसुकै बेला टीका लगाउन मिल्छ तर “शुभसाईत” भनेको विशेष उत्तम समय मात्र हो, बाँकी समय “अशुभ” हुन्छ भन्ने चॅाहि होइन ।
२) पारिवारिक सुविधा
विदेशमा हुनेहरूले प्रायः साँझपख वा छिटो–ढिलो सबै जम्मा हुन सक्ने समयमै टीका लगाउॅदा उपयुक्त हुन्छ । तर मुख्य कुरा भनेको दशमीको तिथि भित्रै हुनुपर्छ भन्ने हो।
३) परम्परा र भावना
दशैंको टीकाको मूल महत्व भनेको आशीर्वाद र परिवार एकता हो। त्यसैले सबै मिल्ने समयमै टीका गर्दा पनि पुण्य, आशीर्वाद र संस्कार कायम रहन्छ।
४) वैकल्पिक दिन
यदि दशमीमै सम्भव भएन भने, अझै पनि एकादशी, द्वादशी त्रयोदशी, चतुर्दशी र पूर्णिमासम्म पनि टीका लगाउने चलन छ । विशेषगरी विदेशमा वा लामो दूरीका कारण यो चलन चलाईएको हो ।
निष्कर्षः
बडादशैंको टीकाको शुभसाईत अमेरिका तथा क्यानडाको लागि बुधवार अक्टोबर १ तारिखको लागि छ भने पूर्वीय मुलुकहरु नेपाल, भारत, बेलायत, अष्ट्रेलिया आदि मुलुकमा अक्टोबर २ तारिखको शुभ साईत निस्किएको छ । जहॅाको समय ९/१० घन्टा पछाडि छ त्यहॅा झन छिटै मनाउॅदा परम्पराविपरीत हुन गयो पूर्वीय मूलुकमा मनाएपछि मात्र मनाउनु राम्रो हो भन्ने धेरै जनाको तर्क छ ।
यस विषयमा तर्क राख्नु स्वाभाविक हो तर त्यसै कुरालाई लिएर यस विषयमा अनावश्यक विवाद र नकारात्मक प्रतिक्रिया दिने तथा यी सत्य र तथ्यगत कुराहरु नबुझी लेखहरु समेत प्रकाशित गर्ने गरेको पाईएकोले यो सोधखोजमूलक लेख लेख्नको लागि प्रेरित भईयो । सामान्य प्रश्न के हो भने यदि नेपालको अनुसार टीका लगाउने हो भने यहां रात्रीको समय हुन्छ, भोलि पल्ट उज्यालो यहां उज्यालो हॅुदा त्यहां राती हुन्छ तिथि पनि एकादशी सुरु भएको हुन्छ ।
संसारभरि पृथ्वीमा एउटै समयमा तिथि सुरुआत हुने र एउटै समयमा सकिने हुन्छ – उदाहरणको लागि – २०२५ अक्टोबर १ तारिख अर्थात् असौज १५ गते नेपालको लागि बनाईएको सूर्य पन्चांगमा नेपालको समय बुधवार दिउसो २ बजेर ३३ मिनेटमा दशमी सुरु हुन्छ भने बिहीवार दिउसो नेपाली समय २ बजेर ५३ मिनेटमा सकिन्छ भने अब हजुर आफै भन्नु होस् बिहीवार दिउसो २ः५३ मा अमेरिकामा कति बजेको हुन्छ ? यति हिसाब गर्न त ज्योतिषी नै हुनु पर्छ भन्ने त छैन ?
अब जाऊॅ नेपालकै पन्चांग निर्णायक समितिमा आबद्ध गुरुहरुकै परामर्शमा निर्मित दिब्यदृष्टि पन्चांग अनुसार (टेक्सास डालसको समयमा आधारित) बुधवार बिहान ४ बजेर ८ मिनेटमा तिथिको सुरुआत भई बिहीवार बिहान ३ बजेर ५८ मिनेटमा दशमी सकिएर एकादशी सुरु हुन्छ अब कुन दिन गर्दा ठीक आफै निर्णय गर्नु होस् । त्यसै गरी डिसी भर्जिनिया ( केन्टुकी टाईमजोन) कै समयमा आधारित मारुतीन्नदन पात्रोका अक्टोबर १ तारिख बुधवार बिहान ५ बजेर ८ मिनेटमा दशमी तिथि सुरु हुन्छ भने बिहीवार बिहान ४ बजेर ५७ मिनेटमा दशमी सकिएर एकादशी लाग्छ । अब यत्ति कुरा बुझेपछि जुनसुकै दिनमा मान्नुस् फरक पर्दैन । ९५% प्रतिशत सनातनी हिन्दुत्व भएको मुलुक कसरी ६०% प्रतिशतमा झर्यो भन्ने चिन्ता कसैलाई छैन तर सत्य र तथ्यमा आधारित कुरा गर्दा समाज बिभाजन हुने भयो भन्ने चिन्ता चांहि समाजका बरिष्ठ व्यक्तित्वहरुलाई लाग्दो रहेछ ।!
जसले जे भने पनि हजुरहरु जो सनातन हिन्दु धर्म सॅस्कृतिमा विश्वास गर्नु हुन्छ हजुरहरु नझुक्किनु होला, जसले नेपालको पन्चांग निर्णायक समितिमा रहेर यी सेवाहरु प्रदान गरिरहनु भएको छ उहॅाहरुले नै तपाईहरुको लागि ठाऊॅअनुसार यो शुभसाईत हुनेछ भन्दा त्यसमा आपत्ति जनाउनु पर्ने/ विवाद गर्नु पर्ने कुरा केही पनि छैन । व्यक्तिगत तथा पारिवारिक हिसाबमा जुनसुकै दिन (दशमीदेखि पूर्णिमा सम्म ) लगाए पनि फरक पर्दैन । घरका अन्य व्यक्तिहरुलाई समय मिलेन भने आफैले पूजा गरिरहेको देवीलाई र ढोकामा टीका र जमरा लगाएर देवी विसर्जन गरी शुभसाईत गर्न सकिन्छ ।
मन्दिर तथा समाजिक सॅस्थाहरुले यस्ता कुराहरुमा विशेष ध्यान पुर्याउनु पर्छ अन्यथा धर्म सॅस्कृति सबै मासिएर जानेछ भविष्यमा । सॅस्कृतिले नै हामीलाई पहिचान गराउॅछ। शुभसाईत शास्त्रका आधारमा तय गरिन्छ, नियमको परिधि पनि शास्त्रसॅग गॅासिएको हुन्छ । धर्म गर्नलाई पनि शास्त्रलाई आधार मान्नु पर्ने हुन्छ । धर्मसॅग सॅस्कृति,रितिरिवाज,परम्परा र फल सबैचिज जोडिएको हुन्छ ।
केही समयअघि डालसको मन्दिरजस्तो सॅस्थाले यस्ता खालका निर्णयहरु गर्दा जनमतलाई आधार मान्ने कि ज्योतिष शास्त्रको मर्यादा र शास्त्रज्ञलाई आधार मान्ने ? भनी चुनाब गरेछन् ! बहुमतले निर्णय गर्ने कि बिज्ञले भन्ने
यति सानो कुरा पनि निर्णय गर्न नसक्ने यो मन्दिरको व्यवस्थापन टीम शास्त्रविपरीत गयो कि ?! यो कलियुगमा जोसुकै पनि पण्डित र शास्त्रज्ञ बन्ने छन् भन्ने पौराणिक कुरा यस्ता खालका निर्णयले प्रमाणित गर्न खोज्दैछ ।यस्तो खालको अल्पज्ञ(अल्पविद्या भयंकरी) निर्णयले भविष्यमा हिन्दुधर्म र आस्थामाथि नै ठूलो बिखन्डन ल्याउनेछ । सचेतना जागृत गरी यस्तो कुराहरुको निर्णय गर्दा होस् पुर्याईयोस् भन्न चाहन्छु ।
यो निर्णयले केही हदसम्म नेपाली सॅस्कृति र परम्पराको बचावट त गर्ला तर धर्मबिनाको सॅस्कृति बचाउन खोज्नु औंलाबिनाको नंगलाई सिंगारे जस्तो हो । नंग र औंलाको जति गहिरो सम्बन्ध हुन्छ त्यतिकै रुपमा धर्म, सॅस्कृति र परम्परा जोडिएको हुन्छ । सबैले सत्यताको खोजी गर्न सिक्नुहोस्, आनन्दको खोजी गर्नुहोस्, यस्ता खालका बिवाद बन्द। गर्नु होस् ।
हामीले यो पृथ्विमा एउटै सूर्य र एउटै चन्द्रमाको दुरीको आधारमा तिथि मान्ने हो भन्ने कुरा नबिर्सी समय फरक भएकोले अगाडि र पछाडि भएको मात्र हो भन्ने कुरा बुझ्नुहोस् । अहिले त तपाईले प्रविधिको प्रयोग गर्नासाथ तिथिमिति र साईतको बारेमा बुझ्न सकिन्छ । हुनत यो वर्ष देशमा ७५ जनाको बलिदानको रगत र हजारौं घाईतेहरुको दुःखद खबरले धेरैको मन खुसी छैन तर पनि वर्षमा एक पटक आउने यो बडादशैंको सबैलाई हार्दिक शुभकामना । दुर्गा भवानीले सबैको रक्षा गरून् । नेपाल आमालाई समृद्ध र खुसी बनाउने शक्ति प्राप्त होस्, छिटै सनातन हिन्दु राष्ट्र नेपाल बनोस् , सबै देश बिदेशमा रहने नेपालीहरुको चाहना पूरा होस् । धन्यवाद ।
(लेखक ज्योतिष पण्डित राजेन्द्र खनाल बिगत १८ वर्षदेखि डिसी भर्जिनिया क्षेत्रमा नेपाली प्रिस्ट तथा ज्योतिषीय परामर्शदाताको रुपमा चिनिनु हुन्छ । सम्पर्क: ०१-७०३८७०६४८०)
















