विदेशमा नेपाली समाजमा नेतृत्वको लिसो, संस्कृति संरक्षणको भ्रम

Getting your Trinity Audio player ready...
|
प्रसन्न सङ्ग्रौला
भर्जिनिया, अमेरिका/ नेपाल बाहिरका नेपाली समाजमा प्रवेश गर्दा झट्ट हेर्दा गर्व लाग्छ-सामुदायिक भवन, मन्दिरहरू, सामुदायिक विकास केन्द्रजस्ता संरचनाहरू। लाग्छ, विदेशमा आएर नेपालीहरूले आफ्नो पहिचान, संस्कृति, र एकता जोगाउन कति मेहनत गरिरहेका छन्। तर भित्र पस्दा देखिन्छ, यी संरचनाहरू केवल आवरण हुन्। भित्री कथा भने उही पुरानै-को कार्यक्रम प्रमुख बन्ने, को व्यवस्थापन समितिमा बस्ने, कसले भवनको चाबी समाउने।
नेपालमै नेताहरू कुर्सी छोड्दैनन् भनेर गुनासो गर्छौँ। तर विदेश आइपुगेपछि पनि उही प्रवृत्ति दोहोरिन्छ। पदमा लिसो झैँ टाँसिने कला, आफ्नै आसेपासे हाल्ने रणनीति, र नेतृत्व पुस्तान्तरणको पूर्ण अभाव-यी सबैले यस्ता समाजलाई गलाउँदै लगेको छ।
सामुदायिक भवनको कथा: उत्साहदेखि उदासीनतासम्म
हाम्रै वरिपरि जब हामी केही नहुँदा जब हामीले सामुदायिक भवन बनाउने अभियानमा सुरु गर्यौँ कस्तो उत्साह थियो । सबै मिलेर चन्दा उठाउने, योजना बनाउने, श्रम दिने-लाग्थ्यो, अब त प्रवासी नेपाली समाजले साँच्चिकै फरक देखाउने भयो। तर केही वर्षमै त्यो उत्साह हरायो। भवन त बन्यो, तर भावना हराउन थालेका छन्। कार्यक्रमहरू नजिकैको आँगनमै हुन थाले, टोल–टोलमा छुट्टै रमाइलो गर्ने चलन बढ्यो। मन्दिरहरूमा धर्म–संस्कृतिको नाममा एकता होइन, विभाजन बढ्न थाल्यो।
संस्कृति होइन, पद–प्रतिष्ठाको गन्ध
हामी भन्छौँ, “संस्कृति जोगाइरहेका छौँ।” तर युवापुस्तालाई हेर्दा प्रष्ट देखिन्छ-उनीहरू आफ्नै समाजभन्दा अरू भाषीको कार्यक्रममा सहज महसुस गर्न थालेका छन्। किनभने हाम्रो सामुदायिक भवन वा मन्दिरमा प्रवेशद्वारमै पद–प्रतिष्ठाको गन्ध आउँछ। संस्कृति भन्दा पहिला “तपाईँ को?” भन्ने प्रश्न आउँछ।
दोस्रो पुस्ताका युवाहरूलाई व्यवस्थापन समितिमा राख्ने होइन, उनीहरूलाई नेतृत्वदायी परियोजनाहरूको जिम्मा दिनुपर्छ। जस्तै, डिजिटल आर्काइभ बनाउने, नेपाली भाषा कक्षा सञ्चालन गर्ने, वा अन्तर संवाद कार्यक्रम आयोजना गर्ने। “संस्कृति जोगाऔँ” भन्ने नाराले मात्र हुँदैन। युवालाई त्यो संस्कृति ‘अनुभव’ गराउने माध्यम चाहिन्छ। नेपाली खाना बनाउने कार्यशाला, लोकगीतको कार्यक्रम वा पुराना कथाहरूको कथा सुनाउने रात।
बिरालोको घाँटीमा घण्टी कसले बाँध्ने?
सबैले भन्छन्, “मिल्नुपर्छ, सहकार्य गर्नुपर्छ।” तर कुरा फेरि उहीँ अड्किन्छ: यो बिरालोको घाँटीमा घण्टी बाँध्ने साहस गर्ने को? सबैलाई थाहा छ, समस्या कहाँ छ। तर समाधान गर्ने साहस कसैलाई छैन। नेतृत्व पुस्तान्तरणको कुरा उठ्यो भने, “अहिलेलाई त तपाईँ नै ठिक हुनुहुन्छ” भन्ने चाकरी सुरु हुन्छ। अनि फेरि अर्को कार्यकाल, अर्को अधिवेशन, अर्को कार्यक्रम-उही अनुहार, उही शैली।
संस्थाको आत्मा हराउँदै छ
सामुदायिक भवन वा मन्दिर यदि पाँच वर्षपछि केवल दुई–तीन जना पुराना अनुहारको जमघट मात्र बन्यो भने, त्यो संरचना होइन-त्यो एउटा स्मृति हो। स्मृति पनि यस्तो, जसमा नयाँ पुस्ताले कुनै आत्मीयता महसुस गर्न सक्दैन।
हामीले बनाएका भवनहरू, मन्दिरहरू यदि केवल फोटो खिच्ने, भाषण दिने, र पद बाँड्ने थलो मात्र बने भने, ती संरचनाहरूको आत्मा हराउँछ। आत्मा भनेको सहभागिता हो, पुस्तान्तरण हो, र भावी पुस्तालाई अपनत्व दिलाउने वातावरण हो।
अन्तिम चेतावनी: म्युजियम बन्न बेर छैन
यदि हामीले आज नेतृत्व हस्तान्तरणको साहस गरेनौँ भने, भोलि हाम्रो सामुदायिक भवन वा मन्दिर केवल एउटा बन्द ढोका हुनेछ-जहाँ छोराछोरीले बाहिरबाट हेरेर सोध्नेछन्: “यो ठाउँमा कहिल्यै कोही जान्थे?” अनि हामीले लाजले उत्तर दिनुपर्नेछ: “एक समय यहाँ संस्कृति हुन्थ्यो।”
हामी आफूलाई धर्म–संस्कृतिको रक्षक ठान्दै आत्मरति त गर्न सक्छौँ। तर पुस्तान्तरण भएन भने, धर्म–संस्कृति जोगाउने कुरा भोलि प्रत्येक नेपालीका घरको किचनमा भेला भएर गरिने “एकादेशको कथा” मात्र हुने छ।
नेपाली समाजका लिडर हौँ भन्ने मनुवाहरूको हितमा जारी गरिएको यो सन्देश ।