त्रिपालबाटै मुद्दा सुनुवाइ, देशभर २३ वटा अदालतमा क्षति

Getting your Trinity Audio player ready...
|
काठमाडौं । सर्वोच्च अदालतमा त्रिपालबाटै भए पनि मुद्दा सुनुवाइ भएको छ ।
बिहीबार सर्वोच्च अदालतको भवन बस्न लायक नभएपछि बाहिर त्रिपालबाटै भए पनि दुई वटा बन्दीहरूको मुद्दाको सुनुवाइ गरिएको हो ।
गत भाद्र २३ र २४ गते भएको जेनजीहरुको आन्दोलनमा प्रदर्शनकारीहरूले सर्वोच्च अदालतमा पनि तोडफोड सहित आगजनी गरेका थिए ।
सुनुवाइपछि सर्वोच्च अदालतका सह प्रवक्ता एवं उपरजिस्ट्रार नीराजन पाण्डेले भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटका कारण सर्वोच्च अदालतको भौतिक संरचना, आइटीका उपकरणहरू र सवारी साधनहरूमा निकै क्षति भएको भन्दै क्षतिको तथ्याङ्क निकाल्ने कार्य अझै भइरहेको बताए ।
यस्तै, उनले भौतिक संरचना नभएको कारण न्यायिक कामलाई रोक्न नमिल्ने भनेर फुल कोर्टबाट बन्दी प्रत्यक्षीकरणको रिट निवेदनबाट न्याय सम्पादनका कामहरूलाई अगाडि बढाउने निर्णय भएको भन्दै सोही अनुसार पालबाट भए पनि काम अगाडि बढाएको बताए ।

उनले भने, ‘क्षति त भइहाल्यो तर न्यायिक कामलाई रोक्न मिल्दैन । फुल कोर्टबाट एउटा के निर्णय भयो भने बन्दी प्रत्यक्षीकरणको रिट निवेदनबाट न्याय सम्पादनका कामहरूलाई अगाडि बढाउनपर्छ भन्ने छ । त्यो निर्णय अनुसार निवेदन दर्ता गरेर सुनुवाइ प्रक्रिया अगाडि बढाएका हौँ । पालबाटै भए पनि हामीले काम गरिरहेका छौ ।’
साथै, हालसम्म देशभर सर्वोच्च अदालत लगायत, विशेष अदालत, उच्च अदालत र जिल्ला अदालतहरू गरेर समग्रमा २३ वटा अदालतहरूमा क्षति भएको पनि उनले जानकारी दिएका छन् ।
उनले भने, ‘अहिले देशभर सर्वोच्च अदालतलगायत विशेष अदालत, उच्च अदालत, जिल्ला अदालतहरू गरेर समग्रमा २३ वटा अदालतहरूमा क्षति भएको छ । क्षति भएको मध्य केही पूर्ण रुपमा क्षतिग्रस्त छ भने केहीमा सामान्य रुपमा क्षति भएको छ । पूर्ण रुपमा क्षति भएका अदालतको मुद्दालाई सबै जलेका छन् भने सामान्य क्षति भएका अदालतहरूका केही फाइलहरू बाँकी नै छन् । यसको तथ्याङ्क सङ्कलन गर्ने क्रममा छौ ।’