जेनजी पुस्ताको आन्दोलन सफल भएको छ, अर्को विद्रोह निम्ताउने काम हुँदैन : गृह मन्त्री

Getting your Trinity Audio player ready...
|
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगमा भएको छलफलका क्रममा पछिल्लो समयमा देखिएको विद्रोहले सरकारी तथा निजी सम्पत्तिमा गम्भीर क्षति पु¥याएको बताएका छन् ।
उनले जेनजी युवा समूहद्वारा सञ्चालित आन्दोलन सफल भएको उल्लेख गर्दै त्यस विद्रोहको क्रममा निर्वाचन आयोगका केही कार्यालय समेत क्षतिग्रस्त भएको जानकारी दिए ।
गृहमन्त्री अर्यालले भने, ‘अहिले जुन खालको विद्रोह भयो, त्यसको क्रममा सरकारी कार्यालयहरूमा व्यापक रूपमा क्षति पुगेको छ । निजी क्षेत्रहरूमा पनि सम्पत्तिहरू नष्ट गरिएको छ । निर्वाचन आयोगका केही कार्यालयहरू पनि क्षतिग्रस्त भएका छन् । नेपाल सरकारले ती कार्यालयहरू पुनः सञ्चालनमा ल्याउने कार्य गरिरहेको छ ।’
साथै उनले विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक प्रणालीअन्तर्गत मतदान गर्न दिने विषयमा पनि विशेष जोड दिए ।
‘विदेशमा रहेका नेपालीले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भए पनि मतदान गर्न पाउनुपर्ने माग अहिले धेरै ठूलो अपेक्षा बनेको छ,’ उनले भने, ‘सर्वोच्च अदालतले समेत यस विषयमा आदेश दिइसकेको धेरै वर्ष भइसकेको छ । अब यसलाई सम्भव बनाउनै पर्छ । प्राविधिक कठिनाइ भए पनि जहाँबाट सकिन्छ, यो व्यवस्था लागू गर्नु आवश्यक छ ।’
गृहमन्त्री अर्यालले आगामी निर्वाचनलाई समावेशी र सहभागीमूलक बनाउन सबै पक्षलाई समेट्ने प्रयास आवश्यक रहेको भन्दै निर्वाचन आयोगसँग सहकार्यमा रहन सरकार तयार रहेको स्पष्ट पारे।
अर्यालले निर्वाचन मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम थप गर्न नपाइने व्यवस्थामा संशोधन गर्नुपर्ने बताएका छन् ।
बिहीबार भएको निर्वाचन आयोगसँगको छलफलमा उनले अध्यादेश ल्याएर मतदाता नामावलीमा नाम थप गर्न नपाइने व्यवस्थामा संशोधन गर्नुपर्ने धारणा राखे ।
उनले भने,‘अब निर्वाचन मिति घोषणा भइसकेको छ । मतदाता नामावलीमा नाम थप गर्न नपाइने भन्ने व्यवस्था छ । त्यसलाई अध्यादेश ल्याएर संशोधन गर्नुपर्ने हुन्छ । दल दर्तामा पनि कहीँ समस्या छ कि खोजी गरौँ भनेर भनेका थियौँ । समस्या छैन भन्ने कुरा आएको छ ।’
त्यस्तै उनले नयाँ दलहरूको दर्ताको हकमा कुन समयभित्र दल दर्ता गरिसक्नुपर्ने हो त्यसको सूचना बैलैमा दिनुपर्ने धारणा राखे । यस्ता कुराले अर्को विद्रोह जन्माउन सक्ने बताउँदै उनले निर्वाचन बिथोल्ने कुनै त्यस्तो किसिमको कारणहरू बन्न नसक्ने गरी काम गर्न निर्देशन दिए ।
‘नयाँ दलहरूको दर्ताको हकमा पनि अब निर्वाचनको कार्यक्रमहरूमा उहाँहरूलाई समावेश गर्नुपर्छ । त्यसैले बेलैमा समयभित्र दल दर्ता गरिसक्नुपर्छ भने सूचना दिनुपर्छ ।
ऐनमा उल्लेख गर्नुपर्ने अवस्था छ भने अध्यादेशबाट संशोधन गरौँ । किनकि यस्ता कुराले अर्को विद्रोह जन्माउन सक्छ । निर्वाचन बिथोल्ने कुनै त्यस्तो किसिमको कारणहरू बन्न नसकोस् ।’
गृहमन्त्री अर्यालले अहिलेको सरकारको मुख्य काम नै निर्वाचन गराउनु रहेको बताएका छन् ।
उनले निर्वाचन आगोगतलाई कुनै पनि सरकारले निर्देशन दिन नमिल्ने भन्दै सरकारको तर्फबाट पनि सबैलाई समेटेर निर्वाचन गर्न पर्ने देखिएको बताएका छन् ।
उनले अहिले निर्वाचन हुन्छ कि हुँदैन भन्ने शङ्का नराख्न र निर्वाचन गराउने कुरा दाबी गरेका छन् । उनले यो सरकारको काम नै निर्वाचन गराउने हो भन्दै निर्वाचन समयमै गरिएन भने असफल हुने समेत बताएका छन् ।
उनले असफलताको दाग नलागोस् भनेर तयारी गरिरहेको पनि बताए । त्यस्तै उनले निर्वाचनका लागी पूर्वाधारहरू तयार गर्न पर्ने भन्दै त्यसको लागि सामाजिक सुरक्षा पहिलो सर्त रहेको बताए ।
उनले अहिलेको स्थितिलाई सामान्यीकरण गर्दै सामाजिक सुरक्षा कायम गर्दै, त्यसको लागि जति पनि संरचना आवश्यक पर्छ चाहे त्यसको समन्वय गर्न आवश्यक रहेको बताएका छन् ।
‘यो सरकारको मुख्य काम नै फ्रि र फेयर इलेक्सनका गराउनु हो । त्यसको लागि केही पूर्वाधारहरू तयार गर्न पर्ने हुन्छ । त्यसका लागि सामाजिक सुरक्षा पहिलो सर्त हो । स्थितिलाई सामान्यीकरण गर्दै सामाजिक सुरक्षा कायम गर्दै, त्यसका लागि जति पनि लजेस्टीकहरु आवश्यक पर्छ, संरचना आवश्यक पर्छ चाहे त्यो कानुनी होस्, चाहे भौतिक संरचना होस् समन्वयहरू आवश्यक पर्छ । निर्वाचन आगोगतलाई कुनै सरकारले निर्देशन दिन मिल्दैन । सरकारको तर्फबाट पनि सबैलाई समेटेर निर्वाचन गर्नुपर्ने देखिएको छ । निर्वाचन हुन्छ कि हुँदैन भन्ने शङ्का कतैबाट भइरहेको भए पनि निर्वाचन हुन्छ नै । यो सरकारको काम नै निर्वाचन गराउने हो । हामीले निर्वाचन समयमै गरेनौँ भने असफल हुन्छौँ। असफलताको दाग नलागोस् भनेर तयारीमा छौँ’ उनले भने ।