‘किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । पद, पैसा र ‘पावर’को मोह त्यागेर आदर्श, निष्ठा र कर्मलाई अँगाल्ने दुर्लभ राजनीतिज्ञ थिए कृष्णप्रसाद भट्टराई ।
नेपालको राजनीतिक इतिहासमा प्रधानमन्त्री र सभामुख जस्ता उच्च पदमा पुगेका भट्टराईको जीवनशैली, त्याग, तपस्या र इमानदारिता आज पनि नेपाली राजनीतिमा प्रेरणाका स्रोत बनेका छन् ।
जहानियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गर्न नेतृत्वदायी भूमिका खेलेका भट्टराई नेपाली कांग्रेसका संस्थापक नेतामध्ये एक थिए । उनले देश र जनताको लागि थोरै दिन पुगे पनि जुन योगदान दिए, ती सबै ऐतिहासिक र अविस्मरणीय छन् ।
भट्टराईको जीवनशैली नै नेपाली राजनीतिमा उनले स्थापित गरेको एक उच्च कोटीको राजनीतिक संस्कार हो । २०४६ सालमा प्रजातन्त्र पुनः स्थापनापछि तत्कालीन राजा वीरेन्द्रसँग लौह पुरुष गणेशमान सिंहसँगै नारायणहिटी पुगेका भट्टराई सिंहकै सिफारिसमा अन्तरिम प्रधानमन्त्री बनेका थिए ।
राजा वीरेन्द्रले सिंहलाई प्रधानमन्त्री बन्न आग्रह गर्दा उनले भट्टराईजस्ता विद्वान्, निष्ठावान् र त्यागी व्यक्तिलाई उपयुक्त ठहर गर्दै प्रधानमन्त्रीमा सिफारिस गरेका थिए ।
त्यसपछि ०४६ सालको अन्तरिमकाल र २०५६ मा गरी दुई पटक प्रधानमन्त्री भएका अविवाहित उनले सन्त नेताको परिचय बनाएका थिए ।
आफ्नो नाममा जमिन र सम्पत्ति नजोडेका उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट ०४८ वैशाखमा आफूसँग भएको टिनको बाकस(ट्याक्क), सुराही र छाता बोकेर बाहिरिएका थिए ।
त्यसपछि उनकै लागि भनेर सरकारले बाँडेगाउँमा पाँच रोपनी जमिनमा भवनहरू निर्माण गरेको थियो । जसलाई किसुनजी आश्रमका रुपमा चिनिँदै आएको थियो । उपचारको क्रममा २०६७ फागुन २० मा अस्पतालमा निधन भएपछि उक्त आश्रम केही सहयोगीहरूको रेखदेखमा थियो ।
तर भदौ २३ र २४ गते जेनजी पुस्ताको नाममा भएको हिंसात्मक प्रदर्शनका क्रममा उक्त आश्रममा आगजनी गरियो । भ्रष्टाचारविरुद्धको भनिएको उक्त आन्दोलनको उद्देश्यविपरित गोदावरी नगरपालिका–१४ ललितपुरको बाँडेगाउँ रहेको उक्त आश्रमलाई खरानी बनाइएकोमा धेरैले आपत्ति समेत जनाएका छन् ।
सुशासन पक्षमा जीवनभर लडेका एक निष्ठावान् नेताको नाममा रहेको टिनको बाकस, सुराही र छाता समेत बाँकी नराखी आन्दोलनकारीहरूले जलाइदिएको गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारीले जानकारी दिइन् । ‘उनीहरू आन्दोलनको उद्देश्य अनुरूप नै आएका थिएनन् । स्थानीयवासीले पटक पटक आग्रह गर्दा पनि छाडेनन् र आश्रम खरानी बनाइदिए,’ उनले भनिन् ।
प्रत्यक्षदर्शीका अनुसार आश्रममा रहेका कतिपय महत्त्वपूर्ण सामग्रीहरू आन्दोलनकारीले लगेर गएका छन् । ५० को दशकमा उनले चढ्ने गरेको बा २ च १८४२ नम्बरको जिप पनि आगो लगाइयो । सँगै रहेको किसुनजीको माटोको अर्धकदको प्रतिमा फुटाएर मात्र फ्याँकिएन आन्दोलनकारीले नै लात्ताले हान्दै घिसार्दै केही पर लगेर आगो लगाइदिएका थिए ।
निवर्तमान मन्त्री एवम् कांग्रेस नेता प्रकाशमान सिंहले बाँडेगाउँमा कृष्णप्रसाद भट्टराईको घरमा आगजनी गरिनुको पछाडि जेनजीको आन्दोलनका नाममा दलहरूले गरेको योगदान मेटाउन खोजिएको बताए ।
आश्रम परिसरमा साना ठुला गरेर पाँच वटा भवन रहेको आश्रमको भित्री भाग तथा त्यहाँ रहेका सबै सामान, किताब, उपहार, विदेशीसँगको भेटघाट र छलफल गरेका फोटा तथा नेपाली कांग्रेसका ऐतिहासिक कागजातहरू सबै जलेका छन् ।












