“एनआरएनएको एकता, जिम्मेवारी र सुधारको आह्वान” : कृष्ण पोखरेल
|
Getting your Trinity Audio player ready...
|
गैर आवासीय नेपाली समुदायको प्रतिनिधि हैसियतमा लेखिएको यस लेखमा एनआरएनए नागरिकताको अधिकार, सुशासन, भ्रष्टाचार नियन्त्रण, सुधार र एकताको आवश्यकता जस्ता महत्त्वपूर्ण विषयहरूलाई समेटिएको छ।
हाल नेपाल संवेदनशील सामाजिक–राजनीतिक चरणमा रहेको अवस्थामा, यस लेखले सकारात्मक बहस र रचनात्मक संवादलाई प्रोत्साहित गर्ने विश्वास लिएको छु।
म, अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को सह -कोषाध्यक्ष हैसियतमा सम्पूर्ण गैर आवासीय नेपाली (एनआरएन) समुदायको साझा आवाज बोकेर यो लेख प्रस्तुत गर्दछु। आजको संवेदनशील घडीमा हाम्रो लागि एउटै बाटो छ-एकता, जिम्मेवारी, र राष्ट्र निर्माणको दृढ सङ्कल्प।
हाम्रो पहिचान र एनआरएनए नागरिकताको हक
विगतका दशकमा एनआरएनए समुदायले पुर्याएको योगदान केवल रकम पठाउने काम मात्र होइन। हामीले नेपालको संस्कृति, सीप र अन्तर्राष्ट्रिय सञ्जाललाई मजबुत बनाएका छौँ। तर अझैसम्म पनि राष्ट्रले हामीलाई पूर्ण रूपमा स्वीकार गरेको छैन।
यसको समाधान भनेको एनआरएनए नागरिकता हो । ऐनद्वारा सुनिश्चित, व्यवहारमा प्रयोग हुने, र मातृभूमिमा लगानी गर्न, सम्पत्ति राख्न, र अधिकारपूर्वक सहभागिता जनाउन सक्ने कानुनी आधार।
राजनीतिक उदासीनता र प्राथमिकताको अभाव
दुई तिहाइ बहुमत पाएको ठुला राजनीतिक दलहरूले पनि हाम्रो प्रमुख माग सम्बोधन गर्न सकेनन्। नागरिकताको प्रश्न सजिलै समाधान गर्न सक्थे, तर गम्भीर भएनन्। यसैबिच, सरकारले वार्षिक बजेटमा राखिएका असङ्ख्य परियोजनाहरू खर्च नगरी फजुल पारिरहेको छ। अर्कोतर्फ सांसदहरूको पारिश्रमिक र विशेष सुविधा भने निरन्तर बढिरहेको छ। जब विद्यालय, भवन र आधारभूत पूर्वाधार खण्डहरमा परिणत भएका छन्, यो स्थितिलाई नैतिक रूपमा अस्वीकार्य भन्नै पर्छ।
जेन जी क्रान्तिको प्रभाव
हालैको जेन जी क्रान्तिले नेपाललाई नयाँ यथार्थमा पुर्याएको छ। युवाहरूको साहस, बलिदान र जागरणले राष्ट्रलाई गहिरो रूपमा हल्लाइदिएको छ। यो आन्दोलन गम्भीर र संवेदनशील चरणमा छ।
यसले एउटा सत्य देखाएको छ । नेपालमा स्रोतको कमी छैन, तर निष्ठाको कमी छ। वर्तमान सांसदहरूको पारिश्रमिक, सुविधाहरू र भ्रष्ट प्रशासक तथा नेताहरूले गैर कानुनी तरिकाले सङ्कलन गरेको सम्पत्ति प्रयोग गर्न सकेमा, सबै सरकारी भवन तथा संरचना पुनर्निर्माण गर्न पर्याप्त हुन्छ।
आज, म ती साहसी युवाहरूको आत्माको चीर शान्तिको प्रार्थना गर्दछु, जसले आफ्नो जीवन अर्पण गरेर राष्ट्रलाई नयाँ दिशा देखाए। उनीहरूको बलिदान कहिल्यै बिर्सनु हुँदैन। त्यो बलिदान न्यायपूर्ण, जबाफदेही र समृद्ध नेपाल निर्माणको आधार बन्नै पर्छ।
भ्रष्टाचार अन्त्य र सुशासनको आवश्यकता
आज नेपाली जनताको पहिलो माग छ-न्याय।
भ्रष्ट नेताहरू र कर्मचारीहरूले गैर कानुनी तरिकाले सङ्कलन गरेको सम्पत्ति पर्याप्त मात्रामा छ, जसले नेपाललाई पुनर्निर्माण गर्न सक्छ। त्यसैले:
• भ्रष्टाचार अन्त्य गरियोस्।
• सुशासन र पारदर्शिता स्थापित होस्।
• प्रत्येक योजना र परियोजना जबाफदेही बनाइयोस्।
• भ्रष्टाचार छानबिन आयोग गठन गरियोस्, अवैध सम्पत्ति राष्ट्रियकरण गरियोस्।
नयाँ राजनीतिक संरचनाको परिकल्पना
नेपालको शासन प्रणालीलाई अब सरल, जबाफदेही र दक्ष बनाउन आवश्यक छ। त्यसका लागि हाम्रो प्रस्ताव:
• प्रत्यक्ष जनताबाट निर्वाचित प्रधानमन्त्री – जनताको प्रत्यक्ष जबाफदेही। यसले स्थिर सरकार दिनेछ, विदेशी चलखेल अन्त्य गर्नेछ र विकासले फड्को मार्नेछ।
• प्रदेशमा पाँच सदस्यीय निर्वाचित मुख्यमन्त्री – राज्य सञ्चालनका लागि पर्याप्त।
• स्थानीय निकाय – यथावत् संरचना, तर जबाफदेही, पारदर्शी र तलब–भत्ता विहीन।
• १०० सदस्यीय संघीय सभा (प्रतिनिधि सभा) बढीमा सय सदस्य मात्रै। समानुपातिक व्यवस्था हटाइ, सानो तर प्रभावकारी विधायन।
• २५ सदस्यीय राष्ट्रिय सभा (उच्च सदन) विज्ञ र अनुभवी व्यक्तिहरूको प्रतिनिधित्व हुने।
विकासका प्राथमिकता
एनआरएनए समुदायसँग अनुभव, पुँजी र अन्तर्राष्ट्रिय पहुँच छ। यी स्रोतलाई राष्ट्र विकासमा प्रयोग गर्न सकिन्छ, यदि सरकारले सहयोगी वातावरण निर्माण गरिदियो भने।
मुख्य प्राथमिकताहरू:
• कृषिको आधुनिकीकरण – आत्मनिर्भरता र ग्रामीण समृद्धिका लागि।
• पर्यटन र स्वास्थ्य पर्यटन – नेपाललाई विश्वकै गन्तव्य बनाउने।
• स्वच्छ ऊर्जा र विद्युत प्रयोग – विद्युत गाडीको प्रोत्साहन, ग्यास आयात अन्त्य, विद्युतीय चुलोको व्यापक प्रयोग।
• औद्योगिक आत्मनिर्भरता – विदेशी निर्भरता घटाउने, स्वदेशी उत्पादन बढाउने।
• सजग उपभोग – फजुल विलासी सामान आयात बन्द गर्ने।
एनआरएनएको भूमिका
एनआरएनए केवल लगानीकर्ता होइन, हामी राष्ट्रका भविष्यका संरक्षक हौँ। विदेशी लगानीकर्ताले नपाउने भावनात्मक नाता र मातृभूमिप्रतिको आस्था हाम्रो प्रमुख पुँजी हो।
हामीले सरकारसँग माग गर्ने कुरा केवल एक हो- विश्वासिलो र सुनिश्चित वातावरण, जसले हामीलाई भयमुक्त भएर योगदान दिन सक्षम बनाओस्।
अन्तिम आह्वान
हामीले फेरि त्यही असफल दलहरूमा भर पर्नु पर्दैन, जसले बारम्बार हाम्रो माग बेवास्ता गरेका छन्। अब हामी आफैँ एकजुट भई, स्पष्ट एजेन्डा तय गरी, सम्पूर्ण एनआरएनए परिवारलाई एउटै स्वरमा प्रस्तुत गरौँ।
हाम्रो आवाज विशेषाधिकारका लागि होइन, जिम्मेवारीका लागि हो। हाम्रो दृष्टि विभाजनका लागि होइन, एकताको लागि हो। हाम्रो एजेन्डा केही व्यक्तिका लागि होइन, पूरा राष्ट्रका लागि हो।
नेपाल उठ्न सक्छ, र उठ्नै पर्छ।
र, यस पुनर्जागरणको अग्रपंक्तिमा एनआरएनए तयार छ।
कृष्ण प्रसाद पोख्रेल
सह -कोषाध्यक्ष
एनआरएनए आइसीसी एवं एनआरएनए अमेरिकाको पूर्व वरिष्ठ उपाध्यक्ष
( यो लेखकको निजी विचार हो, उनी एनआरएनए आइसीसीमा महेश श्रेष्ठ समूहको सह – कोषाध्यक्ष हुन्। अमेरिकन नेपाली समाजका समाज सेवामा पनि सक्रिय छन्।)












