जेनजी परिवारका सदस्य भन्छन् : मृतकहरूलाई सहिद घोषणा गरिनुपर्छ
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । जेनजी समूहले आव्हान गरेको शान्तिपूर्ण आन्दोलनका क्रममा मृत्यु भएको जेनजीहरुको परिवारहरूले न्यायको माग गरिरहेका छन् ।
शुक्रबार काठमाडौँमा हामीलाई न्याय चाहियो भन्ने नाराका साथ उनीहरुले न्यायको माग गरेका हुन् ।
भदौ २३ गते राज्य पक्षद्वारा क्रूरतापूर्वक अन्दाधुन्द गोली चलाउँदा एकै दिन १९ जनाको मृत्यु भएको थियो ।
सोही क्रममा एक जना मृतकको परिवारको सदस्य रत्नमाया महर्जनले मृत्यु भएका युवाहरूलाई सहिद घोषणा गरेर क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग राखेका छन् । उनीहरुले माग पूरा भए मात्र शव बुझ्ने बताए ।
उनले भनिन्, ‘बच्चा त गइसक्यो, शव भए पनि उठाउनु पर्यो । त्यस कारण उसलाई सहिद घोषणा गरेर क्षतिपूर्तिको व्यवस्था हुनुपर्छ ।’
साथै, अर्का पीडित कमल सुवेदीले भने जेनजीहरुप्रति आक्रोश पोखेका छन् । उनले अहिले देशको नेतृत्व कसलाई दिने भन्ने कुराको छलफलमा रगत बगाउनेहरूको खोजी समेत पनि नभएको बताए ।
उनले भने, ‘शव राख्ने राम्रो व्यवस्थापन छैन । मृत्यु भएको पाँच दिन भइसक्यो शव कुहिने अवस्था भइसक्यो । घाइते भएका जेनजीका अस्पताल जानु पर्दैन, घाइते हेर्नु पर्दैन ? अहिले देशको नेतृत्व कसलाई दिने भन्ने कुराको जुन छलफल भइरहेको छ त्यसमा मृतकको परिवारहरूको पनि सहभागिता हुनुपर्छ । जसले रगत बगायो उनीहरूको खोजी गर्नु पर्दैन ?’
यसको साथै, मृतक उमेश महतको दिदी सुमित्रा महतले आफ्ना भाइको मृत्यु भएकामा दुःख पोख्दै यस्तो पीडा अरू कसैले भोग्न नपरोस् भन्ने कामना गरेकी छन् । आफ्नो भाइको बलिदानलाई खेर जान नदिन पनि उनले आग्रह गरेकी छन् ।












