राष्ट्रपतिको अपिल : लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कायम गर्न प्रयास गर्दै छु
|
Getting your Trinity Audio player ready...
|
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशमा देखिएको वर्तमान विषम परिस्थितिबाट मुलुकलाई संवैधानिक दायराभित्र रही निकास दिन प्रयासरत रहेको बताएका छन्।
उनले आन्दोलनरत नागरिकहरूको माग सम्बोधनका लागि छिटोभन्दा छिटो समस्याको दीर्घ समाधान खोजी भइरहेको जानकारी दिँदै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् ।
राष्ट्रपतिले जारी गरेको वक्तव्यमा लोकतन्त्रको संरक्षण र मुलुकमा शान्ति सुव्यवस्था कायम राख्न सबै पक्षको सहकार्य अत्यावश्यक रहेको उल्लेख गरिएको छ ।
उनले भने,‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दै छु ।’
उनले आन्दोलनकारी नागरिकहरूका माग सम्बोधनका लागि छिटो समाधान निकाल्ने प्रतिबद्धता जनाउँदै शान्ति र स्थिरता कायम गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन् । यसअघि राष्ट्रपति पौडेल सार्वजनिक गर्न माग गर्दै युवाहरूले सामाजिक सञ्जालमा अभियान चलाएका थिए ।
आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गदै छु । आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन् संयततापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु ।













