एक धर्को सिन्दूर के हो र !

गण्डकीपुत्र
ह्यारिसबर्ग,पेन्सिलभेनिया / गीत र सङ्गीतमा रमाउन पनि काव्यात्मक चेतना चाहिन्छ होला र त कविहरू गीतको शब्दमा सौन्दर्य खोज्छन् । गीतमै डुब्छन् र गीतमै हराउँछन् । त्यसो त कविता नलेख्ने , साहित्यको जटिलता नबुझ्नेसँग पनि काव्यात्मक मन हुन्छ र उनीहरूको काव्यकला बोलीमा , घरायसी कामधन्दा र व्यवहारमा देख्न सकिन्छ ।
ऊनीहरूसँग प्रेमको उत्कर्ष र गहिराई मापन गर्ने आफ्नै खालको परिभाषा हुन्छ । म टिकटकको दुनियाँमा जब प्रवेश गरेँ । अनेकन मानिसको भिडमा आफ्नो नृत्य अभिनय गरिरहेकी बिरहिनी सङ्ग भेट भयो । उनी स्वयम् काव्य थिइन , कविता र गजल थिइन । उनको नृत्यकला स्वयममा एउटा उत्कृष्ट महाकाव्य लाग्यो मलाई । अनुपम कुनै चलचित्रकी नायिका अथवा भनौँ धर्म शास्त्रमा वर्णन गरिएकी देव परि जस्तो सौन्दर्यशाली रूपवती थिइन उनी ।
कसैलाई मानिसको केही कुरा , चालचलन वा बोली व्यवहार त्यसै मन पर्छ कारण चाहिन्न । अकारण त्यसरी मन पर्नुमा अघिल्लो जन्मको कुनै अतृप्त चाहना पूरा नभएको कारण पनि हुन सक्छ कि ? थाह भएन। म त्यसैपनि पुनर्जन्ममा विश्वास गर्दिन तर जब बिरहिनीसँग भेट भयो अथवा कुरा भयो उसैले एक दिन भनी गण्डकी तिमी र म पूर्वजन्ममा बिछोड भएका प्रेमी प्रेमिका थियौँ जस्तो लाग्छ । सुरुमा त हाँसेर उडाइदिएको थिएँ तर निरन्तर कुरा हुन थाल्यो र अनेक जटिल प्रश्न लिएर उ म सङ्ग आउन थाली अनि यो पुनर्जन्मको कुरा सोच्न थालेँ ।
एउटा गीतमा मैले टिकटक बनाएँ । उसले त्यो गीतको भावलाई दुरुस्त आफ्नो अभिनयमा उतारी र दुवै टिकटक मिलाएर एउटै फ्रेममा पोष्ट गरी । त्यो अभिनयमा उ पुरै बौलाएकी परित्यक्त प्रेमिकाको भावमा आई । मैले धेरै पटक त्यो टिकटक हेरेँ या त्यसमा उसको पागलपन हेरे । तर धेरै पटक हेरेँ । सुरेश अधिकारीको सङ्गीत र स्वरमा रहेको – एक धर्को सिन्दूर के हो र , त्यो त पखालिन सक्छ , चुरा पोते काँचको न हो , त्यो पनि फुट्न सक्छ , दिन्छु तिमीलाई म चोखो माया जो सधैँ सधैँ बाँची दिन्छ – जम्मा यत्ति नै शब्द थिए टिकटक बनाउँदा र यसैमा अभिनय थियो बिरहिणीको । जब यो गीतको टिकटक उसले पोष्ट गरी त्यसपछि म उस्का अन्य टिकटक पनि नियाल्न थालेँ । यो क्रम बढ्दै गएपछि उसले मेरो फोन नं मागी । त्यसपछि अमेरिकाको जीवन उ आफ्नै दुनियाँमा व्यस्त भई म आफ्नै दैनन्दिनमा हराएँ ।
एक दिन मध्यान्न पछिको समय ओछ्यानमा पल्टिएर कुनै पुस्तक पढ्दै थिए । मोबाइलको रिङ टोन बज्यो । बिरहिणीले फोन गरेकी रहिछ । फोन उठाएर हेलो भने । उसले पहिले नमस्ते भनी , अनि फेरि भनी के गर्दै हुनुहुन्छ ? बोली अलि लरबरिए जस्तो लाग्यो , यसै बसेको भनेर जवाफ दिए । उ आज अलि भावुक भएकी थिई जस्तो लाग्यो । अलि निराश कुरा गरी र थोरै प्रेमको कुरा गरी । अलि हाँसेर फेरि भनी , हाम्रो प्रेम त राधाकृष्णको जस्तो हुनुपर्छ । अप्रत्याशित उसले यसो भनी या भन्ने मुढमा थिई बुझिन र फेरि भनी राधा कृष्णले बिहे गरेनन् । प्रेमी प्रेमिका मात्र थिए ।
मैले जवाफ दिइरहनु उपयुक्त ठानिन । किन भने म प्रेमको बारेमा केही सोचिरहेको थिइन । न उ सङ्ग वा कसै सङ्ग प्रेमको चर्चा गर्नु थियो । यो प्रेम आफै नभनी , नगरी एक अर्कालाई बुझ्ने वा पहिचान गर्ने कुरा हो भन्ने लाग्छ मलाई । म नबोलेकोले हो वा किन हो रिसाए जस्तो गरी र भनी किन नबोलेको ? यसमा बोल्नुपर्ने के छ र मैले भने । त्यसपछि उ एकोहोरो जस्तै बोली । मलाई तिमी औधी मन पर्छ । तिम्रो बोल्ने तरिका सुनेर म आफैलाई हराउँछु । तिमी वास्तवमै मायालु छौ । एउटी सुन्दर आइमाई म जस्तो बेपर्बाह र आफैलाई माया गर्न नजान्ने मान्छेलाई भन्छे , तँ मायालु छस् । त्यसपछि उसले भनी गण्डकी मलाई वाइन खाँदै तिमी सङ्ग घण्टौँ कुरा गर्न मन लागेको छ । म आफैलाई लाग्दैन , यो दुनियाँमा कुनै सुन्दर महिलाले मजस्तो छन्द न बन्दको उमेरले साठी लाग्दै गरेको मानिस सङ्ग प्रेमको कुरा गर्ला तर यहाँ बिरहिणी छ म सङ्ग फोनमा र भनिरहेकी छ , लरबरिएको अङ्ग्रेजीमा आइ लभ यु ।
मलाई लाग्यो आज उसलाई वाइनले बोल्न लगाइरहेको छ । घरी तँ भन्छे । घरी तपाईँ भन्छे । घरी तिमी भन्छे । तँ घरी मेरो मान्छे होस भन्छे । घरी भावुक हुन खोज्छे । अब पक्का भयो उ पुरै नशामा छे । यस्तो बेला बोल्नु उचित हुन्न । मलाई लाग्यो बिरहिणी निदाई दिए हुन्थ्यो । तिमी सुत भनेर अनुरोध पनि गरेँ तर उ अझ नजिककी जस्तो भएर उल्टै मलाई गाली गरेझैँ या सम्झाएझैँ गर्न थाली । यता सुन ! तिमी सोझो छौ । मानिसलाई चाडै विश्वास गर्छौ । कसैको मन दुखाउन चाहँदैनौ । मनमा लागेको कुरा प्वाक्क भनिदिन्छौ , तर बुझ सबै आइमाई राम्रा हुदैनन । बिचार गरेर सङ्गत गर्नु । सबै सङ्ग खुलेर नबोल्नु । मन पेट नदिनु हेप्छन् । बिचार गर्नु । यस्तै अनेक के के भनी रही । मैले बहाना गरेर फोन राख्न खोजेको मानिन । अब उसलाई जसरी पनि सुत्न लगाउनु थियो ।
एक छिन निदाए उसको नशा उत्रने थियो र सहज हुने थिई भन्नेमा म लागेको थिए । अन्तमा जे होस भनेर फोन काटिदिएँ । मनमा एक किसिमको बेचैनी आयो । तर पनि फोन थन्क्याएर बाहिर खुलामा निस्किए । चिसो हावा चल्दै रहेछ । अलि सहजता महसुस भयो तर किन हो उसको यो अवस्था देखेर माया लाग्यो । कता कता के के बिराएँ कि झैं लागिरह्यो । उस्का छोरा , छोरी , श्रीमान् छन् तर उसले मनमा लागेका कुरा भन्ने ठाउँ पाइन , या के त्यस्तो कुरा थियो होला जुन कुरा भन्न मलाई विश्वासमा लिएको कुरामा मलाई विश्वस्त हुन प्रेम गर्छु भनी । के साँच्चै उ मलाई प्रेम गर्छे ? कति मानिस मनमा जमेका असल या खराब कुण्ठा र छटपटी पोख्ने ठाउँ नपाएर पीडा लिएर बाँचेका होलान् । मलाई बिरहिणी त्यस्तै एउटी दुखी प्राणी लाग्यो । म अझ द्रवित भएँ ।
पन्ध्र बीस मिनट पछि फोन गरेँ । फोन उठेन । निदाइ भन्ने लाग्यो र ढुक्क भए । करिब दुई घण्टा पछि बिरहिणीले फोन गरी । के गर्दैछौ भने । खाना खान लागेको भनी । अब फेरि वाइन नखानु नि अलि रिसाएझैँ गरेर भने । पहिले हाँसी अनि खान्न भोक लाग्यो खाना खाएर सुत्छु भनी । ल ल भनेर फोन राखिदिएँ । बेलुका आठ बज्दै थियो । म पनि खाना खान लागेँ । मैले श्रीमतीलाई यो कुरा सुनाउने बिचारले भने । तिमी सङ्ग एउटा कुरा गर्नु छ । हे ! तपाईँका कविता , साहित्य र साथीका कुरा त होलान् भो सुन्दिन । श्रीमती तर्किएपछि फेरि भन्न मन लागेन । कविता र साहित्यको अभियानमा हिँडेको लगभग चार दशक भयो । कति कति साथीहरू छन् । उनी प्राय सबैलाई चिन्छिन् । उनले यस्तै सोचिन होला । मैले फेरि कर पनि गरिन । कसैले यस्तो कुरा आज सम्म म सङ्ग गरेनन् न आफूले गर्नु पर्यो । कहिले नदेखेको कहिले नभेटेको मात्र टिकटकका माध्यमले भेटिएकी बिरहिणीले मलाई मनमा अनेक तरङ्गका कम्पन उत्पन्न गरिरहेकी छ ।
भोलिपल्ट आइतबार थियो । उ काममा गएकी रहिनछ । बिहान त्यस्तै ११ बजे तिर फोन गरी । सामान्य कुरा भएपछि भने , बिरहिणी हिजो के गरेकी ? मैले के गरेर उल्टै प्रश्न गरी । त्यसरी वाइन खाएर फोन गर्नु हुन्छ त ? मैले भने । मलाई तपाईँ सङ्ग एउटा कुरा गर्नु थियो , भन्ने हिम्मत भएन , वाइन खाएको बेला सम्झिए अनि भनेको नि उसले भनी । के भन्न खोजेकी थियौ र ? मैले भने । आइ लभ यु क्या । यत्ति भनेर हल्का हाँसी । र फेरि थपी , हिजो नशामा भनेको थिए अहिले होसमै छु मलाई हजुर मन पर्छ , सो आइ लभ यु । भोलिको सोचेकी छौ ? मैले भने । के सोच्नु हाम्रो प्रेम राधा र कृष्णको जस्तो क्या । प्रेमी प्रेमिका भएर बस्ने , हजुर हजुरकै दुनियाँमा म मेरै दुनियाँमा । गफ गर्ने , माया गर्ने के हुन्छ र ? उ सामान्य पढेकी महिला हो । यस्तो कसरी कल्पना गर्न सकी म चकित भएँ र उ प्रति एक प्रकारको श्रद्धा र स्नेह जागेर आयो । मैले राधाकृष्णको प्रेमको गहिराई बुझ्न सकेको रहिनछु । कति अर्काका श्रीमान् श्रीमती अर्कै सङ्ग राधाकृष्णको रुपमा यो धर्तीमा घुम्दै होलान् ।
अब एउटा रुटिन बन्यो उसको । पाँच बजे कामबाट फर्कने , घरको काम सकेर आठ बजेसम्म टिकटक लाइभमा रमाइलो गर्ने , आठ बजे खाना खाने र आठ तीस बजे देखि नौ तीस बजेसम्म म सङ्ग कुरा गर्ने । एक दुई दिन त झर्को लागेजस्तो भयो । यत्रो एक घण्टा फोनमा के बोल्ने होला । विषय या कुराको मेलो उनै सुरु गर्थी । कहिले आफ्नो परिवार श्रीमान् , सासू , ससुरा यस्तो उस्तो भन्थी । उस्कि छोरी उ बोलेको बेला अक्कल झुक्कल आउँथी । म उसको पढाइको बारेमा सोध्थेँ । छोटो जवाफ दिएर फोन उसलाई फर्काइ दिन्थी । छोरीलाई मेरो बारेमा के भन्थी बिरहिणी थाह पाइन । तर एक दिन छोरीले उसलाई भनी अरे , ममी तपाईँलाई अचेल गण्डकी अङ्कल जस्तै देख्छु । बिरहिणीले यसो भन्दा म पनि हाँसेको थिए ।
श्रीमतीलाई यो कुरा थाह थियो । म एक त फोनमा सानो आवाजमा बोल्न जान्दिन अर्को मैले फोनमा कुनै आशक्ति या नराम्रो बोल्नु थिएन । यत्ति हो श्रीमती भन्थिन कति लामो कुरा हो ? त्यति हो । एक दिन बिरहिणीको कुरा श्रीमतीलाई सुनाए । मैले भने बिरहिणीलाई म बोलेको राम्रो लाग्छ अरे । श्रीमतीले भनिन कवि तपाईँ राम्रै बोल्नु हुन्छ मन पर्यो होला नि के भयो र । कुरा यत्ति भए श्रीमतीसँग फेरि बिरहिणीको बारेमा हामी बिच कुरा भएन । बिरहिणी अब अलि उसको स्वभाव बदल्दै थिई । अलि जिद्दी गर्ने अलि छाडा हुन खोज्ने रिसाएझैँ गर्ने यस्तै । यति बेला सम्म उसले उस्का धेरै आफन्त सङ्ग मेरो परिचय गराई । उस्का आफन्त पनि बोलिचाली शिष्ट भएका राम्रो परिवारका रहेछन् । मान सम्मान र इज्जतको ख्याल गर्ने । कतिपय उस्का आफन्त अहिले पनि म सङ्ग बोल्छन् ।
सधैँ जसो फोन गर्ने बिरहिणी एक्कासि हराई । फोन फेसबुक टिकटक सब बन्द छ । के भयो मेसो नै पाइन । एक दिन उसको एक जना आफन्तले मलाई फोन गरे । मैले बिरहिणीको बारेमा सोधेँ । उनले त्यस्तो केही भनेनन् । सायद परिवार भेला भएका छन् फोन गर्ने अनुकूल नमिलेर होला भने । म चुप लागेँ । उनले मेरो दिनचर्या कस्तो छ भनेर सोधे । मैले सामान्य भएको कुरा सुनाएर फोन राखी दिएँ । म एक प्रकारले निरास भएँ । बिरहिणीले किन यसो गरी भनेर । फेरि सम्झिए राधालाई छोडेर गएका कृष्ण राधालाई भेट्न या खबर बुझ्न कहिले पनि गोकुल फर्किएनन् भन्ने कथा छ महाभारतमा । यही नियति बुझेकी बिरहिणी अलप भएकी हो कि म सङ्ग ? उसले भनेकी थिई , हाम्रो प्रेम राधा र कृष्णको जस्तो हुनुपर्छ । तर यो द्वापर युग होइन त्यसैले राधा पो अलप भइन कृष्णलाई छोडेर । बिरहिणी जहाँ हुन सुखी हुन , खुसी हुन , म उनलाई प्रेम भन्दा बढी सम्मान गर्छु , उनको इज्जत गर्छु । जसले गरुन्जेल एकोहोरो प्रेम गर्छु भनी रही । जाँदा बेपत्तासँग अलप भई । कुनै गल्ती गरेको रहेछु अन्जानमा र त्यो बुझेर टाढिएकी भए माफ गर मलाई । म तिम्रो श्राप बोकेर हिँड्न सक्तिन किनकि तिमी वास्तवमा आदर्श नारी हौ । जसले यौन र काम वासनाको छायाँ पर्न दिएन सम्बन्धमा र एकोहोरो भनिरही हामी प्रेमी प्रेमिका हौँ ।
र यो पनि…
नोट कभर फोटोमा जोडीको फोटो हामीले एआइको सहयोगमा तयार पारेका हौ।